मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

खोया प्रहारपछि रविले भने- ‘एक/दुईवटा आक्रमण र मुद्दाबाट विचलित हुन्न’

खोया प्रहारपछि रविले भने- ‘एक/दुईवटा आक्रमण र मुद्दाबाट विचलित हुन्न’

हिमालय खबर

शेयर गर्नुहोस:

162
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । रास्वपा अध्यक्ष रवि लामिछानेले एक/दुईवटा आक्रमण र मुद्दाबाट आफू विचलित नहुने जनाएका छन् । शनिबार पोखराको अमरसिंह चोकमा भएको सभामा उनीमाथि मकैको खोया प्रहारपछि लामिछानेले यो अहिलेको नेतृत्वविरुद्ध जनताको वितृष्णाको उपज भएको टिप्पणी गरेका हुन् ।

खोया प्रहार गर्ने व्यक्ति र उनको परिवारलाई भेट्न आफू जाने सुनाउँदै उनले थपे, ‘न मुद्दा, न मामिला उहाँलाई बुझाइदिनु होला । माला लगाएर घर छाडिदिनु होला । देशको पूर्वउपप्रधान तथा गृहमन्त्री भएकाले यो सुरक्षाकर्मी साथीहरूलाई मेरो अनुरोध र निर्देशन पनि भयो । म उहाँको परिवारलाई भेट्न म छिट्टै जानेछु ।’

उनले प्रहारको बदलामा एउटा फूल रोपेर जाने सुनाए । उनी भन्छन्, ‘मनबाट गल्ती भयो भनेर महसुस हुने गरी काम गरी फेरि यही चोकमा आएर कुरा गर्ने छु ।’ यसलाई जनताले दिएको चेतावनी ठानेको उनले सुनाए ।

लामिछानेले आफूले नबिराएको दाबी गर्दै आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरे । ‘हामी आत्तिएका छैनौँ, अघिल्लो सात जन्मको हिसाब निकाले पनि अनियमितता पत्ता लगाउन सक्दैनन् । जति पटक लडिए पनि उडेर हिँड्छु । एक आक्रमण, मुद्दाबाट पछि हट्ने सुविधा मलाई छैन ।’

उनले सहकारी पीडितलाई सम्बोधन गर्न सरकारसँग माग गरे । मिटरब्याजजस्तै सहकारी र लघुवित्तपीडितको मुद्दा सबैभन्दा प्रभावकारीरूपमा उठाउने प्रतिबद्धता उनले जनाए । मित्रमिलन सहकारीको प्रतिवेदन आफूलाई प्राप्त भएको उनले सुनाए ।

आफू आक्रमण, धाक धम्कीबाट नडराई आफ्नो बाटोमा हिँडेको मान्छे भएको तर्क गर्दै उनले एउटै दुःख मान्छेलाई थचक्क बसाल्न पर्याप्त हुने भए पनि आफू त्यसको अपवाद भएको जिकिर गरे । ‘म धेरै दुःख सहँदै आएको मान्छे हो । अब त नयाँ प्रहार पनि सुरु भएको रहेछ । अन्तिम साससम्म पनि जनतासँग गरेको वाचा पूरा गर्न तयार छु,’ लामिछानेले भने ।

संसारको सबैभन्दा विकसित देशमा भनेको जस्तो जीवन छाडेर देशको अवस्था बदल्न आएको सुनाउँदै लामिछानेले राजनीति छाडिसकेपछि आफैँ परिश्रम गरेर खाने र राज्यको सुविधा नलिने वाचा गरे ।

‘आगो जति दन्किएको होस् त्यहाँ टेक्ने साहस नबोकीकन, काँडा जति तीखो होस् त्यहाँ हिँड्ने हिम्मत नभएर यहाँ हिँडेको होइन । हिम्मत छ, त्यो देखिँदै जाने छ,’ उनले भने, ‘जति प्रहार भए पनि कालो सिसाभित्र लुकेर हिँड्ने नेता म होइन । कसैले ढुङ्गा, हिलो फालेर यात्रा बदलिनेवाला छैन ।’