मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

‘सदन सञ्चालन गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ’

‘सदन सञ्चालन गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ’

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरूले अवरुद्ध सङ्घीय संसद्को बैठक सञ्चालन गर्न सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा बोल्ने सांसदहरूले लामो समयदेखि अवरुद्ध राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक सञ्चालन गर्न कांग्रेसले नेतृत्वदायी पहलकदमी लिनुपर्ने बताएको नेता रामकृष्ण यादवले जानकारी दिए ।

पछिल्लो समय यही साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरण सम्बन्धमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ ।

लामो समय सदन अवरुद्ध हुँदा महत्त्वपूर्ण विधेयकको पारित प्रक्रिया अघि बढ्न नसकेको र जनजीविकाका सवाल उठाउन नपाएका सम्बन्धमा सांसदहरूले धारणा व्यक्त गरेका थिए । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले देशभरि फैलिएको डेङ्गी रोग र एडिनो भाइरस कन्जन्टिवाइटिस (आँखा पाक्ने) रोगको सङ्क्रमणको आवश्यक औषधि उपचार व्यवस्था गरी रोकथाम तथा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

बैठकमा सांसदहरूले देशव्यापीरूपमा पशुचौपायामा फैलिएको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढङ्गले तत्काल कार्य गर्नाका साथै पीडित किसानलाई उचित राहत एवं क्षतिपूर्ति दिनसमेत सरकारसँग माग गरेका थिए ।

सांसदहरूले बाढीपहिरो र डुबान प्रभावितको उद्धार, राहत र पुनःस्थापनाको अविलम्ब व्यवस्था गर्न, ध्वस्त भएका, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण गर्न, विभिन्न स्थानमा अवरुद्ध भएका सडक यातायात अविलम्ब सञ्चालन गर्नसमेत माग गरेका थिए । यसैगरी बैठकमा सांसदहरूले सो पार्टीका सांसद डा सुनिल शर्माको पक्राउ अप्रत्यासित एवं आपत्तिजनक भएको बताएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार सांसद् शर्मालाई शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको कसुरमा निवासबाटै पक्राउ गरेको थियो । सांसदहरूले पक्राउ पूर्जी नै नदिइकन उनलाई पक्राउ गर्नु गैरकानुनी भएको भनी टिप्पणी गर्नुभएको कांग्रेस सचेतक सुशीला थिङले जानकारी दिए ।

यस सन्दर्भमा थप जानकारी लिई कांग्रेस संसदीय दलले भोलिको बैठकबाट धारणा प्रष्ट पार्ने जनाएको छ । बैठकमा आज ३० सांसदहरूले आआफ्नो धारणा राखेका थिए । सोमबार बस्ने बैठकमा महामन्त्री, उपसभापति र सभापतिले आआफ्नो धारणा राख्ने र बैठक सम्पन्न हुनेछ । कांग्रेस संसदीय दलको बैठक साउन २९ गते बिहान ११ बजे सङ्घीय संसद् भवन, ल्होत्से हल बानेश्वरमा पुनः बस्ने छ ।