मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

न्यायालयलाई स्वतन्त्र र निष्पक्ष बनाइनुपर्छ : विज्ञहरु

न्यायालयलाई स्वतन्त्र र निष्पक्ष बनाइनुपर्छ : विज्ञहरु

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मुलुकको न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन कानुन व्यवसायीको सक्रिय भूमिका हुनुपर्नेमा राजनीतिज्ञ एवं विज्ञ सरोकारवालाले औँल्याएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट कानुन व्यवसायीको छाता सङ्गठन सङ्घीय कानुन व्यवसायी सङ्घको पहिलो राष्ट्रिय सम्मेलनका अवसरमा उनीहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ र प्रभावकारी बनाउन कानुन व्यवसायी सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिए ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले स्वतन्त्र र निष्पक्ष न्यायालयको सुनिश्चितताका लागि कानुन व्यवसायी एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष यादवले सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयन हुनका लागि पनि न्यायालय समावेशी हुनुपर्ने माग गरे । उनले भने, “सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि समावेशी लोकतन्त्रको रुपमा विकास गरिनुपर्छ, अझै पनि नेपाली राजनीतिक प्रणालीमा संस्थागत र संरचनागत विधेयक कायमै छ, पुरानो राज्य संरचना र प्रणाली कायमै छ, त्यसैले प्रजातन्त्र र लोकतन्त्रलाई सुदृढ तुल्याउन विविधतालाई समेटेर अघि बढ्नुपर्छ ।”
अध्यक्ष यादवले अहिलेको सङ्घीय प्रणाली संस्थागत विभेदपूर्ण रहेको र प्रादेशिक संरचनाभित्र पहिचान हराएको जिकिर गरे । उनले सङ्घीय प्रणाली अनुरुप मुलुकको न्यायालयलाई पनि विकेन्द्रिकरण गर्न जरुरी भएको उल्लेख गरे । मुलुकमा संविधान जारी भएको लामो समय वितिसक्दा पनि सङ्घीय कानुन र ऐन बनिनसकेको भन्दै तत्काल सङ्घीय निजामति ऐन, नेपाल प्रहरी ऐन ल्याएर प्रदेशमा कर्मचारी र प्रहरीको व्यवस्थापन गरिनुपर्ने धारणा राखे ।
कार्यक्रममा पूर्वमन्त्री एवं जसपाका कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठले कानुन व्यवसायीको दायित्व निर्वाह गर्दै स्वतन्त्र र निष्पक्ष न्यायालायको पक्षमा वकालत गर्नुपर्ने आवश्यकता औँल्याए । एक अर्को प्रसङ्गमा नेता श्रेष्ठले वर्तमान गठबन्धन सरकार पाँच वर्षसम्म चल्ने भन्दै सङ्घीयताको प्रभावकारी कार्यान्वयन, सुशासन प्रवर्द्धन र न्यायालयको स्वतन्त्रता र निष्पक्षतामा विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।
जसपाको सङ्गठन विभाग प्रमुख एवं कार्यकारिणी समिति सदस्य रणध्वोज कन्दङ्वाले राजनीतिलाई सही दिशा दिनका निम्ति कानुन व्यवसायीको सक्रिय भूमिका चाहिने बताए । मधेश प्रदेशका पूर्वमहान्यायधिवक्ता दीपेन्द्र झाले राजनीतिक पार्टीलाई कानुन सम्मत ढङ्गले अगाडि बढाउन र सङ्घीयता अनुरुप न्यायालयको प्रभावकारितामा कानुन व्यवसायीले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले समावेशी लोकतन्त्र र पूर्णसमावेशी न्यायालय आजको अपरिहार्यता भएको उल्लेख गरे ।
वरिष्ठ अधिवक्ता तथा उपराष्ट्रपति कार्यालयको कानुन विज्ञ मिथिलेसकुमार सिंहले स्वतन्त्र र निष्पक्ष एवं पूर्णसमावेशी न्यायालयको निम्ति कानुन व्यवसायी एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले न्यायालयभित्र देखिने गरेका विकृति र विसङ्गती रोक्न सबैको सक्रियता चाहिने बताए । वरिष्ठ अधिवक्ता तेजबहादुर राईले न्याय प्रणालीको प्रभावकारिता र पारदर्शिताका लागि कानुन व्यवसायिले निरन्तर खबरदारी गर्नुपर्ने बताए ।
सङ्घका अध्यक्ष दीपक राईले पूर्ण समावेशी न्यायालयको पक्षमा खबरदारी गर्न संस्थाले भूमिका खेल्ने प्रतिबद्धता जनाए । दुई दिनसम्म चलने सम्मेलनले नयाँ कार्यसमितिका लागि नेतृत्व चयन गर्नेछ । सो अवसरमा कानुनी सुशासन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गरेको भन्दै सङ्घकातर्फबाट वरिष्ठ अधिवक्ता मिथिलेसकुमार सिंहलाई जसपा अध्यक्ष यादवले कदरपत्रद्वारा सम्मान गरेका थिए । रासस