नेपाल

विज्ञहरू भन्छन्, देशहित सर्वोपरी नै विदेश नीति

विज्ञहरू भन्छन्, देशहित सर्वोपरी नै विदेश नीति


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । परराष्ट्र मामिला विज्ञहरूले नयाँ विश्व परिस्थिति बन्दै गरेका बेला नेपालले असंलग्न सिद्धान्त कायम राख्दै देशहितका आधारमा वैदेशिक सम्बन्धका कदम चाल्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास) को ५२औँ वार्षिकोत्सवका अवसरमा कीर्तिपुरमा आज आयोजित कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री तथा विज्ञहरूले असंलग्नताको अर्थ देशको हित हुने कुरामा मौन बस्नु भन्ने नभएको बताए ।

Advertisement

पूर्वमन्त्री सुजाता कोइरालाले राष्ट्रहितको पक्षमा विदेशीसँग प्रष्ट धारणा राख्न सक्नुपर्ने बताइन । पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असंलग्न परराष्ट्र नीतिबाट विचलित हुने छुट नेपालमा कुनै पनि दर्शन वा सिद्धान्त बोक्ने पार्टीलाई नभएको बताए । कुनै पनि विश्व मामिलामा मत जाहेर गर्दा देश हितअनुरूप मत जाहेर गर्ने तर कुनै पनि सैन्य गठबन्धनको सदस्य बन्न नहुने कुरा नै असंलग्न परराष्ट्र नीतिको सार भएको उनको धारणा थियो ।

यस्तै नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले परराष्ट्र नीतिमा सम्पूर्ण राजनीतिक शक्ति एकबद्ध हुनुपर्ने बताए । सिनासका कार्यकारी डा मृगेन्द्रबहादुर कार्कीले सिनासले नेपालमा परराष्ट्र नीतिको अध्ययन अनुसन्धानलाई नयाँ उचाइमा लैजाने गरी कार्य अघि बढाइरहेको जानकारी दिए ।

विगतमा मन्त्री तथा प्रधानमन्त्रीहरूले विदेश भ्रमणपूर्व सिनासको अध्ययन अनुसन्धानका निष्कर्षलाई आधारका रूपमा लिने गरेको उल्लेख गर्दै उनले त्यस्तो हैसियत पुनःप्राप्तिका लागि स्रोत व्यवस्थापनसहितका थुपै्र पहल गरिएको पनि उनले बताए ।

“यस्तो स्रोत कुनै बाहिरी सहयोगबाट होइन, आफैँले जुटाउने प्रण सिनासको छ”, उनको भनाइ छ । नेपाली भाषामा जर्नल प्रकाशन गर्ने, पूर्वराष्ट्रप्रमुखको सम्बोधन सङ्कलन गरी प्रकाशन गर्ने र विभिन्न कालखण्डमा नेपालको नक्साबारे जानकारीमूलक पुस्तक प्रकाशन गर्नेलगायतका कार्य गरिरहेको उनले जानकारी दिनुभयो । कार्यक्रममा सिनासद्वारा प्रकाशित तथा विदेशमामिला विज्ञ दिनेश भट्टराईद्वारा लिखित नेपालको परराष्ट्र मामिला विषयको पुस्तकसमेत सार्वजनिक गरिएको थियो ।