मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

गठबन्धनको सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री

गठबन्धनको सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा कास्कीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।”

भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ सरकार अगाडि बढेको जिकिर गर्दै उनले थप तीव्रताका साथ अघि बढ्ने बताए ।

“बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो । विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ”, प्रधानमन्त्री दाहालले भने– “यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ । जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस रहेको छ । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।”

अर्थतन्त्र धरासायी बढी नै हुन्छ कि भन्ने रहेका अवस्थामा यो बिस्तारै लयमा फर्किएको उनको भनाइ थियो । यसपटकको भारत भ्रमण ऐतिहासिक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रको हितमा भारतसँग धेरै महत्वपूर्ण समझदारी भएको बताए । “भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्नु ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्”, उनले भने ।

पारवाहन सन्धि पुनरावलोकन महत्वपूर्ण निर्णय भएको र विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य नभएको बताए । यसबाट विद्युत् व्यापार पनि बढ्ने र लगानीको ढोका पनि खुल्ने जिकिर गर्दै उहाँले यो आउने पिँढीले पनि सम्झिरहने काम भएको उल्लेख गरे ।

राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले छिट्टै चीनको भ्रमणको तयारी भएको जानकारी गराए । चीनमा पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुने उनको भनाइ थियो । हवाईमार्गका लागि भारतसँग कुरा गरिएको र छिट्टै त्यो निष्कर्षमा पुग्ने जिकिर गर्दै उहाँले चीन जाँदा पनि यस विषयमा छलफल हुने बताए ।

भ्रष्टाचारका सम्बन्धमा प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान गरिरहेको र प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको जिकिर गर्दै उनले यो प्रक्रिया अगाडि बढिरहेको छ र निरन्तर अगाडि जाने बताए ।

पोखरामा शुक्रबार सम्पन्न प्रदेशका मुख्यमन्त्रीको गम्भीर छलफलपछि सङ्घीय सरकारका लागि ध्यानाकर्षण गर्न साझा धारणा आएको र त्यो दूरगामी महत्वको रहेको उनले बताए । त्यस्तै आज सम्पन्न राष्ट्रिय समन्वय परिषद्को बैठकले सर्वसम्मत केही महत्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै उनले त्यसले संविधान कार्यान्वयनमा देखापरेका कतिपय समस्यालाई सम्बोधन गर्ने काम गरेको बताए ।

तीनवटै सरकारको बीचमा समन्वय गर्न र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन बैठकका निर्णय दूरगामी महत्वका रहेका प्रधानमन्त्री दाहालले बताए ।