काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा पूर्वसभामुख रामचन्द्र पौडेल निर्वाचित भएका छन् । आफ्ना प्रत्यासी पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । मतदानमा सङ्घको एक र प्रदेशको चार मत बदर भएको थियो । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् ।
निर्वाचन समितिका अनुसार पौडेलले सङ्घतर्फ दुई सय १४ र प्रदेशतर्फ तीन सय ५२ मत प्राप्त गरेका थिए । उनले कूल ३३ हजार आठ सय दुई मतभार प्राप्त गरे । यसैगरी उनका प्रत्यासी नेम्वाङले सङ्घतर्फ ९८ र प्रदेशतर्फ एक सय ६२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । नेम्वाङले कुल १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।
मतदानका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको थियो । पूर्वसभामुख पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार रहेका थिए भने अर्का पूर्वसभामुख नेम्वाङलाई एमालेको साथ थियो ।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२र६३ को आन्दोलनको उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।
सभापति देउवाको बधाई
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् ।
राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले भनेका छन् –’राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई ।’
आज भएको निर्वाचनमा पूर्व सभामुख एवं नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया