गएको डिसेम्बर २२ तारिकमा नेपाली दूतावास वासिङ्गटन डिसीबाट एउटा इमेल आयो । इमेलमा पासपोर्ट नविकरणका लागि तिरेको मनी अर्डरको विवरण वृस्तृत रुपमा पठाउन भनेर उल्लेख थियो । त्यस अघि धेरै पटक डिसीको दूतावासमा फोन गर्दा सम्पर्क समेत नहुने स्थानबाट इमेल आएको देखेर पत्यार पनि लागेन । त्यसमाथि मनी अर्डरको विवरण मागेपछि यो इमेल कतै स्क्याम त होइन भन्ने शंका पनि लाग्यो । किनकी अमेरिकामा इमेल, फोन, मेलबक्समा यस्ता स्क्याम आउनु नौला र अनौठा विषय होइनन् ।
त्यसको एक हप्ता अघिमात्र म आफु बसेको सिटीबाट तीन घण्टा ड्राइभ गरेर ड्यालस पुगेर नेपाली पासपोर्ट नविकरणका लागि आवेदन दिएकी थिएँ । त्यसक्रममा पासपोर्ट नविकरणका लागि एकसय ५० डलरको मनी अर्डर पनि सँगै बुझाएकी थिएँ ।
इमेललाई वास्ता गरिन मैले । भोलीपल्ट दूतावासबाट एकजनाले फोन गरे । फोन गर्ने व्यक्तिको नाम चाहि मैले सम्झिन सकिन । उनले भने ‘तपाईको पासपोर्टको लागि तिरिएको रकमको मनी अर्डर हरायो । त्यसको विवरण सबै भरेर इमेलमा पठाइदिनुस् ।’
उनका कुराले म अचम्ममा परे । अमेरिका जस्तो मुलुकमा काम गर्ने कर्मचारीहरुको हातबाट म लगायत नौसय भन्दा धेरैले बुझाएको नेपाल सरकारको राजश्व हराएको कुरा सुन्दा सुरुमा त पत्यार पनि लागेन । ती कर्मचारीले मनी अर्डरको विवरण पठाउन मात्र भनेनन् । उनले मनी अर्डर जारी भएको ठाउँमा गएर त्यसलाई क्यान्सिल गर्न समेत निर्देशन दिए ।
मेरो नेपाली पासपोर्टको म्याद सकिएको तीन महिना अघिनै हो । नविकरणका लागि टेक्ससबाट वासिङ्गटन डिसीमै पुग्नुपर्छ । पासपोर्ट नविकरण गर्न के गर्नुपर्छ भनेर सोध्नका लागि डिसीमा धेरै पटक फोन गरेँ । तर प्रायः त फोन नउठ्ने, फोन उठिहाले पनि लामो समय होल्डमा राखिदिने र सही जवाफ नपाउने समस्या त छँदैथियो । बल्ल एकपटक सम्पर्क भयो । त्यसक्रममा ड्यालसमा पासपोर्ट बनाउने शिवीर आउन लागेको र त्यसैमा आउन कर्मचारीले भने ।
म फर्म भरेर ड्यालसमा नेपाली समाज टेक्सस, एनआरएनका पदाधिकारीहरुसँग सम्पर्कमा रहन थालेँ । डिसेम्बर १५ तारिकका लागि अप्वाइन्टमेन्ट मिल्यो । एक दिन अघिनै ड्यालस गएँ र आफन्तकोमा पाहुना बनेँ । किनकी धेरैले अप्वाइन्टमेन्ट लिएको र समयमा आउन नसके समस्या हुने भनेर एनआरएनका पदाधिकारीले भनेका कारण अघिल्लै दिन तीन घण्टा ड्राइभ गरेर ड्यालस पुगेको थिएँ म । लाग्ने शुल्क एकसय ५० डलरका लागि म बसेको सिटीको हुलाक कार्यालयमा गएर मनी अर्डर पनि तयार पारेँ।
फर्महरु सबै भने अनुसार भरेकोले शिवीरमा कुनै समस्या भएन । तीन जना कर्मचारीहरु आएका रहेछन् डिसीबाट । उनीहरुलाई सघाउन ड्यालसका स्थानीय नेपाली संघसंस्था, साना विद्यार्थी भाई बहिनीहरुको निकै खटेका देखिन्थे ।
आउने समर याममा सकेसम्म नेपाल जाने योजना बनाएर बसेकी म दूतावासका कर्मचारीले मनी अर्डर हरायो । अर्को बनाएर पठाउनुस् भनेपछि म अचम्ममा परेँ । हुनतः कतिखेर के हुन्छ र नेपाल पुगिहाल्नुपर्छ भन्ने ठेगान हुँदैन । त्यही भएर नै पासपोर्ट दुरुस्त राखेर बस्नुपर्ने अवस्था मलाई मात्र होइन जो कोहीलाई पनि हुन्छ ।
म अन्यौलमा परेँ । अर्को मनी अर्डर बनाएर पठाउने कि नपठाउने भन्ने द्विविधमा म पुगेँ। आ …..जे त होला भनेर म चुप लागेरै बसे ।
झण्डै डेढ हप्तापछि दूतावासबाट फेरि फोन आयो । ‘तपाईले अर्को मनी अर्डर बनाएर पठाउने भने पठाउनुस् नभएर तपाईको पासपोर्ट नविकरणमा ढिलाई हुनसक्छ’ उताबाट बोल्नेले अलि कडा शव्दमा भने । मैले सोधेँ ‘मेरो गल्तीले मनी अर्डर हराएको हो ?’
‘होइन । तर हराएको मनी अर्डर वापतको राजश्व नेपाल सरकारले मिनाहा गर्ने निर्णय गर्नुपर्छ । त्यसका लागि मन्त्री परिषदको बैठकले मात्र निर्णय गर्नुपर्छ । त्यो प्रकृया पुरा हुन ६ महिना लाग्न पनि सक्छ, एक वर्ष लाग्न पनि सक्छ या ५ वर्ष पनि लाग्न सक्छ । तपाईलाई पासपोर्ट चाँडो चाहिएको छ भने अर्को मनी अर्डर बनाएर पठाइहाल्नुस् । हामी प्रकृयामा हाल्दिन्छौ’ ती कर्मचारीले भने ।
उनको भनाई ठाडो र आदेशात्मक थियो । बोली त्यस्तै रुखो थियो । अप्रत्यक्ष धम्की पनि मिसिएको थियो । लापरवाही गर्ने उनीहरु, सरकारी राजश्वको रकम भएको मनी भएको झोला पार्किंगलटको गाडीमा छाडेर होटलमा पस्ने उनीहरु अनि उनीहरुको गल्तीको भागीदार वा शिकार चाँही हामी बनिदिनुपर्ने । मनी अर्डर चोरी हुने वातावरण बनाइदिने कर्मचारीनै हुन् । उनीहरुको लापरवाही र हेलचक्राईले पासपोर्ट नवीकरणका लागि निवेदन दिएका म जस्ता सयौ मानिसहरु प्रताडीत हुन पुगेका छौँ । अर्कोतिर नेपाल सरकारको तीन करोड राजश्व गुमेको छ । यसमा कर्मचारी दोषी हुँदैनन् ? दोषको भागीदार म र म जस्ता ९ सय २८ जना किन हुने ?
ती कर्मचारीको धम्कीका शव्दले म बेचैन भएँ । भोलीपल्ट मनी अर्डर बनाएको हुलाक कार्यालय गएर क्यान्सिल गर्न अनुरोध गरेँ । तर मिल्ने रहेनछ । उनीहरुले ६० दिनभित्र मनी अर्डर क्यासिङ्ग भएन भने मात्र रद्ध हुने प्रकृया अघि बढाउँछौ भने । पहिले बनाएको मनी अर्डरको इन्क्वाएरी फर्म भरेको मात्र पनि १२ डलर तिर्नुपर्ने रहेछ ।
एक मनले त लाग्यो के भाउँतो आइलाग्यो यो ? बरु अमेरिकी नागरिकता लिएको भए त न पासपोर्ट बनाउन डिसी पुग्नुपर्ने तनाव, नत मनी अर्डर हराएर सास्ती भोग्नुपर्ने तनाव ? फर्म भरेर हुलाकमा गएपछि फोटो पनि त्यही खिच्ने र घरमै पासपोर्ट आउने सिस्टम छाडेर मलाई मात्र किन बढ्ता जान्ने भएर नेपाली राष्ट्रियता र पासपोर्ट प्रति मोह भनेर आफ्नै बुद्धिलाई मनमनै श्राप पनि गरेँ ।
एकातिर दूतावासका कर्मचारीका रुखो व्यवहार, तपाईको पासपोर्ट बन्न ५ वर्ष लाग्न पनि सक्छ भन्ने ठाडो बोली । अर्कातिर मनी अर्डर बनाएको ठाउँमा क्यान्सिल गर्न ६० दिन कुर्नुपर्छ भन्ने भनाईले म अन्यौलमा छु ।
शिवीरमा अमेरिकाको पश्चिमी शहर सियाटलबाट आएका समेत भेटिएका थिए । छिमेकी अर्कान्सस, ओक्लोहामा र लुजियानाबाट आउने पनि थिए । अर्कान्ससबाट आएकाले शिवीर रहेको मन्दिर नजिकैको क्रोगरमा गएर मनी अर्डर बनाएर आएका थिए । अब ती मानिस मनी अर्डर रद्ध गर्न ६ सय माइल टाढाको अर्कान्ससबाट आउन संभव होला ?
दुतावासका केही लापरवाह, गैर जिम्मेवार कर्मचारीका कारण नौसय जनाले सास्ती र पीडा खेप्नु परिरहेको छ । यसको भागीदार ती कर्मचारी चाँही हुनु पर्दैन ? सर्वसाधारण आवेदक, जस्ले प्रकृया पुरा गरेर, लाग्ने राजश्व दस्तुरको मनी अर्डर समेत राखेर आवेदन दिएका हुन् । ती कर्मचारीको हातबाट हराएको, लुटिएको मनी अर्डरको जिम्मेवारी हामी आवेदक भैदिनुपर्ने ?
यति ठूलो घटना हुँदा समेत राजदूत श्रीधर खत्री कहाँ छन् ? उनी नेपाली जनताको सेवाका लागि राजदूत भएर आएका हुन् कि बुढेशकालमा अमेरिकी सोख सयल लिनका लागि आएका हुन् स्पष्ट छैन । उनका कृयाकलापले गरेको संकेत चाँही उनी काम गर्न अमेरिका आएका होइनन् । नत्र भने घटना भएको तीन हप्ता पुरा बितिसक्दा पनि पब्लिकमा आएर किन यथार्थ कुरा राख्ने आँट गर्दैनन् खत्री ? जसरी एउटा कर्मचारीले राम्रो काम गर्दा त्यसको श्रेय भनौ या जश भनौ त्यो कार्यालयमा काम गर्ने हाकिमलाई जान्छ । त्यसैगरि कर्मचारीले गल्ती गर्दा त्यसको दोषको भागीदार पनि कार्यालयको हाकिम हुने गर्छन् । यो मामिलामा राजदूत खत्री पन्छिन मिल्दैन । यसको जिम्मेवारी लिनुपर्ने, पब्लिकको सामना गर्नुपर्ने खत्रीलेनै थियो । तर उनी कहाँ छन् ? नेपालमा छन् कि अमेरिकामा छन् ? अफिसमा छन् कि आवासमा छन् ? कसैलाई पत्तो छैन ।
राजदूतमा खत्रीको नियुक्तिलाई लिएर प्रशंसा गरेका अमेरिकाका एनआरएनका पदाधिकारीहरु समेत अहिले उनको शैली र व्यबहारले रुष्ट छन् । नेपाली समुदायका सदस्यहरुसँग सम्पर्कमै नआउने, कतै कार्यक्रममा अतिथीका रुपमा बोलाउँदा फ्रुटफुल नहुने ठाउँमा म आउँदिन भनेर ठाडो जवाफ लगाउने आदत रहेको भनेर गुनासो बढ्दो छ । कतिसम्म भने पासपोर्ट शिविर र नेपाली समुदायसँग अन्तरकृयाका लागि टेक्ससको राजधानी अस्टिनका नेपाली कम्युनिटीले बोलाएका रहेछन् । तर राजदूत खत्रीले एउटा शर्त तेस्याएछन् । उनले माग राखेछन्, ‘कोही कंग्रेसम्यानसँग मलाई परिचय गराइदिनुपर्छ । उनीहरुसँग भेटाइ दिनुपर्छ ।’
भरखरै बामे सर्दै गरेको नेपाली समुदायसँग कंग्रेसम्यानसम्म पहुँच नहुनसक्छ । अमेरिकी तल्लो सदनका सदस्य अर्थात कंग्रेसम्यानहरुको बढी समय आफ्नो राज्य भन्दा पनि वासिंगटन डिसीमै बढ्ता व्यतीत हुन्छ । डिसीबाटै राजदूतले पहुँच मिलाएर भेट्नुपर्नेमा नेपाली संस्थाका पदाधिकारीहरुलाई शर्त तेर्स्याएर ‘मलाई फलानो कंग्रेसम्यानसँग भेटाइदे’ भन्नु कतिसम्म उचित या अनुचित ?
९ सय २८ जनाले शिवीरमा पासपोर्ट नवीकरण र एनआरएन कार्डका लागि आवेदन दिएका थिए । ती मध्य एकसय आठ जनाले तत्काल शिवीरमै एनआरएन कार्ड हात पारे । बाँकी ८ सय २० जनाको सेवा रोकिएको छ । यस्तो अवस्थामा राजदूतले घटना, त्यसपछिको अवस्था, नेपाल सरकारबाट के हुँदैछ भन्ने बारेमा सर्वसाधारणलाई जानकारी दिनु पर्ने थियो । ९ सय ८ जना मध्य २ सय ६५ ले मनी अर्डर रद्ध गरेर अर्को पठाएका पनि छन् । तर सबैले रद्ध गर्न सक्ने अवस्था छैन । किनकी कतिसँग अर्धकट्टी छैन, कतिले आउँदा आउँदै बाटोमा पर्ने ठाउँका स्टोरमा पसेर मनी अर्डर बनाएका छन् । फेरि त्यहाँ पुग्न अर्को महाभारत, कतिको रद्ध गर्न स्टोरले मानेका छैनन् । कतिको प्रोसेसमा पुग्नै ६० दिन लाग्ने अवस्था छ ।
कर्मचारीको लापरवाहीले यति ठूलो घटना भएर झण्डै तीन करोड रुपैयाँ नेपाल सरकारको राजश्व हिनामिना हुँदा समेत नत राजदूत बोल्छन् ? न नेपाल सरकार केही भन्छ ।
राजदूतको व्यबहार पटक्कै चित्त नबुझेपछि, पब्लिकमा आउनै नचाहने पाएपछि यसै साता टेक्ससका ५ संघसंस्थाहरुले संयुक्त विज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीमा गंभीर विषयहरु उठाइएका छन् । तर विज्ञप्ती जारी भएको चार दिन पुरा भैसक्दा पनि दूतावासले केही प्रतिकृया जनाएको छैन । यो भन्दा गैर जिम्मेवारी अरु केही हुनसक्ला र ?
नेपाली समाज टेक्सस, ग्रेटर अस्टिन नेपाली सोसाइटी, नेप्लिज एसोसिएसन अफ ह्युस्टन, सिर्जनशील नेपाली समाज ह्युस्टन र गैर आवासीय नेपाली संघ टेक्सस च्याप्टरका तर्फबाट अध्यक्षहरु क्रमशः राजेन्द्र वाग्ले, भोजराज भट्ट, रबिन श्रेष्ठ, कृष्ण न्यौपाने र सोफिन थापाले दूतावासको गैर जिम्मेवारीपनि प्रति आक्रोश व्यक्त गर्दै विज्ञप्ती जारी गरेका हुन् ।
ड्यालस, अस्टिन र ह्युस्टनका शिवीरहरुमा जाने आवेदकहरु सबैले प्रकृया पुरा गरेर, आवश्यक एकसय ५० देखि ५ सय २० डलर तिरेर आवेदन दिएका हुन् । आवेदकको हातबाट सरकारी कर्मचारीले मनी अर्डर र कागजपत्र आफ्नो हातमा लिएपछि त्यसको सुरक्षा गर्ने जिम्मेवारी पनि उनीहरुकै हो । आफ्नो हातमा परेको चिजलाई सुरक्षा नगरेर हराउने, अनि सर्वसाधारणलाई त्यसको पीडाको शिकार बनाउन कदापी मिल्दैन ।
अमेरिकाको एउटा तात्तातो दृष्टान्त यहाँ सान्दर्भिक हुनेछ । केही दिन अघि कामकै दौरानमा अमेरिकी संघीय उड्डयन प्राधिकरण (एफएए)का एक इन्जिनियरले असावधानीवशः एउटा फाइल कम्युटरमा सार्ने क्रममा अमेरिकी हवाई क्षेत्र पुरै अवरुद्ध बन्यो । भण्डै डेढ घण्टा अमेरिकाभरि ११ हजार तीनसय उँडानहरु रोकिए । उँड्न ठीक परेका विमानहरु जमिनमै रोकिए । उँडीरहेकाहरु ल्याण्ड गर्न सकेनन् । त्यसको जिम्मेवारी संघीय यातायात मन्त्रीले लिए । उनले माफी मागे ।
तर सर्वसाधारणबाट शुल्क लिएर लापरवाही गर्ने कर्मचारीलाई सामान्य दण्ड समेत नदिने राजदूत र नेपाल सरकारले जनतालाई चाँही फेरि शुल्क तिर भनेर दण्ड दिन कुन कानुनले दिन्छ ? अहिले म लगायत ९ सय २८ जनाले खोजेको जवाफ यसको हो ।
प्रतिक्रिया