सिन्धुपाल्चोक । यही असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ ।
बाढीले विशेष गरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा नोक्सान पु¥यायो । व्यक्तिगत घर, संघसंस्था, विभिन्न कार्यालय, खेतीयोग्य जमिन, विद्यालयलगायत भौतिक संरचनामा अपूरणीय क्षति भयो । साँझमा भागेर ज्यान बचाउन सफल भएका मानिस बिचल्लीमा परेका छन् । विद्यालयका पक्की संरचनासमेत भत्किँदा बालबालिका विद्यालय जानबाट वञ्चित हुनुपरेको छ छ भने सञ्चारमाध्यममा क्षति पुग्दा आमनागरिक सूचनाको पहुँचबाट टाढा हुन परेको छ ।
कोरोेनाको कहरका बीचमै पनि तेर्से मावि तालामाराङले विभिन्न माध्यमबाट शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको थियो । विद्यार्थी भर्ना, पुस्तक वितरणजस्ता कार्यले गर्दा विद्यालयले आफ्नो गतिविधि सक्रियरुपमा अगाडि बढाएको थियो । मेलम्ची भेगको अग्रणी विद्यालय, गुणस्तरीय शिक्षा प्रदान गर्दै मेलम्ची नगरपालिकाको नमुना विद्यालयका रुपमा परिचित छ । असार १ गतेको बाढीले सामान्य क्षति पु¥याएको विद्यालयमा शनिबारको बाढीले विद्यालयको भौतिकरुपमा क्षति ग¥यो ।
विद्यालयमात्र नभएर प्रहरी चौकी र स्थानीयवासीको घरमा समेत जोखिम बढाएको छ । विद्यालयको भौतिक क्षति त भयो । यसले गर्दा हजारौँ विद्यार्थीको भविष्य अन्धकारमा धकेलिएको छ । गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्दै अहोरात्र खटिने विद्यालयका प्रधानाध्यापक कृष्ण ढुंगाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलबहादुर शाहीलगायत सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र अन्य शिक्षापे्रमी महानुभावले चासो र चिन्ता लिइरहेको बेला प्रकृतिले किन चिन्ता लिन सकेन ? स्याउलाले बारेर खरले छाएर यस भेगमा शिक्षा दिनुपर्छ भन्दै २०४७ सालमा स्थापना भएको तेर्से माविले ढुक्कको श्वास फेर्न कहिले पनि पाएन ।
विभिन्न संघसंस्था, दातृ निकाय र अभिभावकहरुको पहलमा विद्यालयको भवन निर्माण भएको थियो । २०७२ सालको भूकम्पले विद्यालयलाई माटोमा मिलाइदियो । त्यतिबेला विद्यालय सञ्चालनका लागि गरिएको पहल र संघर्ष अभिभावक, विद्यार्थी तथा शिक्षकहरुले भुल्न सक्ने अवस्था छैन । काठका खम्बा, टिनले बारेको विद्यालय, जस्ताले छाएको छानो भूकम्पपछिको अवस्था हो ।
एउटा कक्षामा पढाएकोदेखि हल्ला गरेकोसम्म सबै कुरा अर्को कक्षाका सबै विद्यार्थीले सुन्न सक्थे । त्यतिबेलाको फाइदाचाहिँ के थियो भने विद्यालयको भवन ढले पनि जमिनचाहिँ त्यहीँ थियो । अहिले न घर छ, न जमिन । यो दर्दनाक अवस्थाबाट तेर्से मावि फेरि पनि उठ्नका लागि प्रयासरत छ ।
विद्यालयका प्रधानाध्यापक ढुंगाना जस्तोसुकै चुनौती सामना गरेर भए पनि विद्यालय सञ्चालनका लागि निरन्तर लागिरहने प्रण गर्छन् । भूकम्पको बेलाजस्तै आमअभिभावक, शिक्षाप्रेमी महानुभाव, सरोकारवाला निकायलगायत सम्पूर्णको सहयोगले खोलामा तारजाली लगाएर विद्यालयको बाँकी भूभाग बचाउन सकिन्छ कि भन्ने अभियानमा लागेको उनले बताए ।
मेलम्ची बजारदेखि हेलम्बुको चनौटेसम्मका विद्यार्थीको भविष्य बोकेको विद्यालय क्षणभरमै खोलामा मिल्नुले विद्यार्थीको मात्र होइन, यो भेगको सम्भावना तुहिने हो कि भन्ने चिन्ता लाग्नु स्वाभाविक नै हो । यता विद्यालयका अध्यक्ष शाही पनि विद्यार्थीको भविष्यको चिन्ता लिँदै पुनः गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय अगाडि बढ्ने बताउँछन् ।
अहिलेको मेलम्ची पीडितहरु विभिन्न स्थानमा छरिएर रहेका छन् । ग्रामीण तथा विकट कतिपय स्थानमा अझै पनि राहत नपुग्दा सुविधासम्पन्न र बेँसी इलाकामा राहतको ओइरो लागेको छ । खाद्यान्नभन्दा पनि आवश्यकता हेरेर राहत ल्याउनका लागि स्थानीय सरकारले आग्रह गरिरहेका छन् ।
जोखिममा रहेका घर तथा बस्तीको अस्थायी रुपमा स्थानान्तरण गर्ने काम लगभग सकिएको छ भने स्थायीरुपमा पीडितहरुका लागि के गर्ने भन्ने विषयमा स्थानीय सरकार पनि रनभुल्लमा छन् । क्षतिको विवरण संकलन र राहत वितरणको कामलाई निरन्तरता दिइरहेको स्थानीय सरकार मैदानमा नै निरन्तर भए पनि स्थानीयवासीले भने आलोचना गर्न छाडेका छैनन् ।
अहिले मेलम्चीदेखि हेलम्बुको अवरुद्ध सडक खोल्नका लागि प्रयास भइरहे पनि पानीको बहावले निरन्तर काटिरहने हुनाले समस्या भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउँछन् । रासस







प्रतिक्रिया