चितवन । पूर्वी चितवनको रत्ननगर–१२, घेघौली निवासी सामाजिक, राजनीतिक एवं आध्यात्मिक व्यक्तित्व बन्धुराज न्यौपानेको स्मृतिमा प्रकाशित ‘बन्धुराज न्यौपाने स्मृतिग्रन्थ’ शनिबार एक समारोहबीच भरतपुर गार्डेन रिसोर्ट, चितवनमा विमोचन गरिएको छ ।

न्यौपाने कल्याण समाज नेपाल चितवनका अध्यक्ष एवं बन्धुराजका कान्छा सुपुत्र रामहरि न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव वामनप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
समारोहमा पूर्वसचिव न्यौपानेले न्यौपानेहरुको वंशावलीबारे चर्चा गर्दै सबै न्यौपाने बन्धुहरुलाई एकत्रित गरी अघि बढ्न आग्रहसमेत गरे । उनले स्व. बन्धुराज न्यौपानेको स्मृतिग्रन्थ भावी पुस्ताको लागि एउटा महत्त्वपूर्ण दस्तावेज बन्ने विश्वास व्यक्त गरे ।
समारोहमा स्व. बन्धुराजका हितैसी मित्र कांग्रेस नेता एवं पूर्वसांसद् भीमबहादुर श्रेष्ठले बन्धुराज पञ्चायतकालीन अवस्थादेखि एउटा निडर, निर्भीक एवं सत्य र जनताको पक्षमा अडान लिने व्यक्तित्व रहेको स्मरण गरे । बन्धुराजले देखाएको मार्गलाई अनुशरण गर्दै विविध क्षेत्रमा रहेका न्यौपानेहरु राजनीतिमा पनि आउनुपर्नेमा उनले जोड दिए ।

यस्तै, बन्धुराजको जीवनी र कृतिबारे प्रदेश सांसद् बलराम पौडेल, डा. भक्तमान श्रेष्ठ, पं नारायण न्यौपाने, यमुनाप्रसाद न्यौपाने, हरिप्रसाद न्यौपाने, मेघनाथ न्यौपाने, भीष्मराज न्यौपाने, कृष्णराज न्यौपाने, केदार तिमिल्सिनालगायतले चर्चा गरेका थिए ।
न्यौपाने कल्याण समाज नेपाल काठमाडौँका अध्यक्ष बलराम न्यौपानेले देशभर करिब १७ लाखको संख्यामा न्यौपाने बन्धु रहेको र विभिन्न जिल्लामा कार्यक्रम गरी न्यौपानेको कल्याणका लागि एकजुट हुन आह्वान् गरेको बताए ।
उनले न्यौपाने बन्धुको एउटै संस्था बनाउन आफू तत्पर रहेको र त्यसमा हातेमालो गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । न्यौपाने समाजले आफ्ना बन्धुको मात्र नभएर समस्यामा परेका सबै समुदायको कल्याणका लागि आफूले वार्षिक ३६ हजार रुपैयाँका दरले जीवनकालभर सहयोग गर्ने वचनसमेत दिए ।
बन्धुराजका भाइ तीर्थराज न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेको समारोहमा देशका विभिन्न क्षेत्रबाट न्यौपाने बन्धुहरु तथा अन्य महानुभावको सहभागिता रहेको थियो ।












प्रतिक्रिया