चितवन । चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरी नक्कली नोट बनाउने गिरोहलाई सार्वजनिक गरेको हो ।
भरतपुर–१ बसपार्क क्षेत्रको पसलमा केही व्यक्तिले नक्कली नोट दिई सामान खरिद गरिरहेको भन्ने सूचनाको आधारमा चैत ६ गते राति ८ः३० बजेको समयमा खटिएको प्रहरी टोलीले नक्कली नोट कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो । प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले नक्कली नोट छाप्ने मेसिनसहित चार जनालाई पक्राउ गरिएको बताए ।
पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा ८ का २९ वर्षीय देवेन्द्र राई र सोही ठाउँका १९ वर्षीय पवन राई छन् । उनीहरुसँग एक हजारका ७८ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरेपश्चात अनुसन्धान गर्दै जाने क्रममा नोट छाप्ने कार्यमा संलग्न थप दुई जनालाई काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबाट पक्राउ गरिएको एसपी अधिकारीले बताए । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ का २८ वर्षीय विश्वराम राई र सोही ठाउँका २४ वर्षीय राजाराम दनुवार छन् ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–६ सिपाघाटमा रहेको विश्वराम राईको मोबाइल पसलबाट नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप २ थान, कार्डरिडर थान १, प्रिन्टर (फोटोकपी मेसिन) थान २, हार्डडिक्स थान १ बरामद गरिएको छ । राईलाई मोबाइल पसलबाटै पक्राउ गरिएको थियो ।
यस्तै, मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा रहेको राजाराम दनुवारको मोबाइल पसलबाट प्रिन्टर एउटा, नक्कली नोट छाप्नको लागि प्रयोग भएको फोटोकपी पेपर कागज २४ वटा, एउटा एफो पेपरमा नेपाली एक हजार दरको नोट अगाडि(पछाडि छापिएको एक थान पेपर बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए ।
दनुवारलाई मोबाइल पसलबाटै पक्राउ गरिएको थियो । पक्राउ परेकाविरुद्ध चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ । चितवनमा एसपी अधिकारीको यो दोस्रो ठूलो एक्सन हो । यसअघि मालपोत कार्यालयका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाईलाई एक करोड १७ लाख बढी हिनामिना गरेको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि भरतपुर कारागार चलान गरिएको थियो ।
प्रतिक्रिया