काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार १४४ जनाको पिसिआर परीक्षणका क्रममा १२४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । जसमा १४ हजार ४४८ जना सक्रिय संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
काठमाडौं उपत्यकामा थप ५७२ जनामा संक्रमित थपिएका छन् । काठमाडौँका ४९५, ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १० हजार १२ पुगेको छ । जसमा काठमाडौँमा कुल ८१०६, ललितपुरमा १०५४ र भक्तपुरमा ८५२ जना रहेका छन् ।
मन्त्रालयका अनुसार चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, मकवानपुर, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सप्तरी, सर्लाही, बारा, डोटी, बाजुरा, कैलाली, कन्चनपुर, पाल्पा, पश्चिम नवलपरासी, दाङ, बाँके, दैलेख, अछाम र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित रहेका छन् । सोलुखुम्बु, मुस्ताङ, ताप्लेजुङ, डोल्पा र हुम्लामा संक्रमितको संख्या शून्य छ ।
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।
त्यस्तै, बिहीबार एकैदिन कोरोना संक्रमण निको भई १८१८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ । जुन कुल संक्रमितको ७१ प्रतिशत हो ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ८ लाख १० हजार ४८५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ५ हजार ८०६ जना क्वारेन्टाइनमा र १४ हजार ४४८ जना आइसोलेसनमा रहेका छन् ।
जसमा संस्थागत आइसोलेसनमा ८ हजार १० जना र होम आइसोसनमा ६ हजार ४३८ जना रहेका छन् । जसमध्ये २१ जनाको भेन्टिलेटरमा र १६५ जनाको आइसियूमा उपचार भइरहेको छ ।
प्रतिक्रिया