‘मैदाने, मैदाने…’
घर पुग्दापुग्दै जितमान करायो । वरिपरि हेर्यो । मैदानेको अत्तोपत्तो थिएन ।
पिढीमा सुस्ताएर पसिना ओभायो । शायद फेरफार गर्न अर्को कपडा थिएन । एक लोटा पानी पियो । चुलातिर आंखा डुलायो । चुलो चिसै थियो ।
‘ट्याम दिन नसकेपछि छोराछोरी पनि बिग्रने रहेछन्’ – आफैसँग गुनासो ग¥यो ।
थलामा गाई करायो । एकमुठो घाँस फालिदियो । गाइ घाँस खान थाल्यो ।
‘यो गाईको जत्तिको पनि भाग्य रहेनछ मेरो’ – आफैलाई धिक्कार्यो ।
गाइको थलाबाट निस्कनै लाग्दा बाटोमा मैदाने दौडदै आएको देख्यो ।
‘ए नदौडी, लड्छस’ – जितमान परैबाट चिच्यायो ।
मैदाने रोकिएन । दौडदै घरभित्र छिर्यो ।
अलिपर एकहुल केटाहरु हातमा ढुंगा र लाठी बोकेर दौडिदै थिए । कुरा वुझ्यो – आजपनि मैदाने केटाहरुसँग लडेर आएछ ।
केटाहरुलाई रोक्न बाटोतिर अगाडि बढ्यो । तर मैदाने फेरी बाटोमा देखियो । हातमा तरवार वोकेर ।
ल आओ, तिमीहरुका बाऊले जन्माएका हौ भने – मैदानेले तरवार नचाउंदै भन्यो – आज एकएक गरेर छिनाल्छु ।
केटाहरु अगाडि बढ्न सकेनन ।
मैदाने, हतियार नचला, भुईमा राख् – जितमान परैवाट चिच्यायो ।
चुप लाग बाऊवुढा – आज यो गाऊका केटाहरु सिध्याएर मात्रै फर्किन्छु ।
मैदाने तरवार बोकेर केटाहरुपट्टी दौडियो । केटाहरु वेतोडसँग भागे । वल्लवल्ल जितमानले मैदानेलाई समात्न सक्यो । फर्काएर ल्यायो ।
बाऊवुढा, समातेर राम्रै काम गर्यौ – मैदानेले अलि शान्त भएपछि भन्यो – नत्र कि यो गाऊका केटाकेटी सकिन्थे कि एउटा मैदाने सकिन्थ्यो ।
जितमानले केही भनेन । गल्ती आफ्नै ठान्यो ।
जितमानले बुझेको कुरा सामान्य छ ।
ऊ गरिव भएकोले समाजले हेप्न खोज्छ । मैदाने बरु मर्छ, हेपिदैन । मैदानेकी आमा छैनन् । समाज उसलाई सहानुभूति दिदैन, बरु टुहुरो भन्छ । मैदाने आफुलाई टुहुरो भनेको सुन्न सक्दैन । झगडा गर्छ । समाजले सम्मान गर्नैपर्ने केही कला पनि त मैदानेसँग छैन । समाज सम्मान गर्न आवश्यक नठानेका सवैलाई अपमान गर्न थालिहाल्छ, त्यसैले त मैदाने दिनदिनै झगडा गर्छ ।
मैदाने अर्थात मैदानवहादुर क्षेत्री । कक्षा ६ । रोल नम्वर उसलाई थाहा हुंदैन ।
हाजिरी गर्दा शिक्षकले बोलाउँदा पनि ऊ बोल्दैन । शिक्षकले एकदुइ पटक बोल्न पनि भने । मैदानेले उल्टै थर्काएको थियो ।
वर्षमा ३६५ दिननै स्कुल लगाए पनि आउने विद्यार्थी मैदाने हो । कक्षाको अन्तिम वेञ्चमा बस्ने विद्यार्थी मैदाने हो । सबैभन्दा अन्तिम रोलनम्वर मैदानेको हो । तिमीहरुलाई थाहा छ । एउटै कुरामा दिनदिनै किन मेरो अपमान गर्छौ, खुरुक्क हाजिर गरिदेऊ ।
त्यसपछि सवै शिक्षकले हाजिरकपीको अन्तिम नाममा जहिले पनि हाजिर जनाउँछन् । मैदाने कहिल्यै पनि गयल हुन चाहदैन । कँही विवाह होस्, जन्तीको सवैभन्दा अगाडि मैदाने । मलामी होस्, अगाडि मैदाने । झगडा होस्, सबैभन्दा अगाडि मैदाने । कक्षामा भने सबैभन्दा पछाडि ।
ऊ हरेक वर्ष फेल हुन्छ । जितमानले हेडसरकहाँ एकसाता विनापैसामा मजदुरी गरिदिएर छोरोलाई कक्षा चढाउँछ । स्कुलमा जाओस्, गाऊमा झगडा गरेर नबिताओस् भनेर । हेडमास्टरकोमा मजदुरी गरेर उसलाई उत्तिर्ण गराएको कुरा जितमानले मैदानेसँग कहिले पनि गर्दैन, नत्रत हेडमास्टरकै टाउको अस्तिनै दुइवटा बनाइसकेको हुन्थ्यो ।
शिक्षकहरु पनि मैदानेको वारेमा हेडसरसँग केही भन्दैनन् । उनीहरुलाई थाहा छ, मैदानको एउटा मात्रै कुरा हेडसरले पायो भने उसको वावुले अरु एकसाता सित्तैमा काम गर्नुपर्छ ।
वाऊवुढो, आज त बढी नै सेन्टी देखिएका छौ त – भात खाइसकेपछि मैदानेले नै भन्यो – मलाइ केही गर्लानकि भनेर डरायौ कि के हो, यो गाऊको पानी खाएका मान्छेले मेरो कपाल पनि बांगो बनाउन सक्दैनन्, देखेनौ अघि भागेका ?
जितमान निकैबेर बोलेन ।
किन नबोलेको बाऊवुढो ? – निकै वेरसम्म पनि वाऊ नबोलेको देखेपछि मैदाने नै बोल्यो – बरु गालीनै गरन । चुपचाप नवस । तिमी पनि बोलेनौ भने त म मरिहाल्छु नि ।
जितमानले हतार हतार मैदानेको मुख थुन्यो । मर्ने कुरा नगर – जितमानले छोरालाई गम्लङग अँगालोमा हाल्यो – तैले मर्ने कुरा गरिस् भने म कसरी बाँचौ ?
मैदानेले बाऊको मुख हेर्यो । आँखावाट आँशु बगिरहेका थिए ।
नरोऊ बाऊवुढा – आँशु पुछिदिदै भन्यो – तिमीलाई रुवाएको सुहाउँदैन ।
अव त जीवनभरी रुनु पर्ला जस्तो छ – जितमानले भन्यो – एउटा भएको छोरा पनि खाली झगडा गरेर हिंड्छ, अब अलि ठुलो भएपछि पुलिसले पनि लैजान थाल्छ होला । अनि मैले के गर्ने ?
मैले के गरेभने तिमी खुसी हुन्छौ बाऊवुढा ?
जितमानले चाहेको प्रश्न मैदानले गर्यो ।
तैले हरेक वर्ष पास गरेको देख्न चाहन्छु, तँलाइ पास गराउनका लागि म अब त्यो हेडसरकोमा सित्तैमा एक हप्ता काम गर्न चाहन्न – जितमानले मनको गाँठो फुकायो ।
म स्कुल जाने, तिमी मलाई हेडसरकोमा काम गरेर पास गराउने ? – मैदानेले अचम्म मान्दै सोध्यो ।
जितमानले टाउको हल्लाएर सहमति जनायो । भन्यो – तर हेडसरलाई केही नभन् । मेरो खुसीले गरेको हो ।
‘मर्यो त्यो तालु खुइले’– यति बोलेर मैदाने सुत्न हिड्यो ।
‘केही नभन् नि’ – जितमानले परैवाट करायो ।
दुइटा कुरा सुन बाऊवुढा – मैदाने परैवाट करायो – पहिलो कुरा कि त त्यसले तिमीलाई सित्तैमा काम गराको पैसा तिर्छ, कि त त्यो या म छैन । दोश्रो अब यो वर्ष मैदाने फेल चाहिँ हुंदैन ।
भोलीपल्ट जितमान अर्काको खेत जोत्दैथियो । प्रधानाध्यापक केही शिक्षक, अभिभावक, र मैदानेलाई लिएर खेतमा आइपुगे ।
जितमानको मुटु जोडजोडले धड्कियो ।
यो के आइलाग्यो भगवान ? जितमानले मनमनै भन्यो ।
गोरुलाई अड्यायो र उनीहरुपटी गयो ।
नमस्कार सर – छेऊमा पुग्नासाथ जितमानले नमस्कार गर्यो ।
नमस्कार गर्नुपर्दैन बाऊवुढा – मैदानेले आदेश दियो – आज यी हेडसरले नमस्कार गर्छन तिमीलाई ।
हेडसरले झुकेर नमस्कार गर्दै भन्यो – मलाइ माफ गरिदेऊ जितमान । म तिम्रो श्रमको मुल्य फर्काउँछु ।
जितमानले कुरा वुझेन ।
हक र अधिकार पढाउनु पर्ने शिक्षकले नै श्रम शोषण गरेछन्, आज तिमीले यिनीसँग माफी मागेनन् भने म यिनको जागिर खाइदिन्छु – मैदानेले भन्यो – यी हेर, अघि राति नै गएर स्कुल फोडेर मेरा हरेक वर्षका सर्टिफिकेटको कपि लिए । हरेक वर्ष फेल हुने मान्छेलाई पैसा लिएर कक्षा चढाएको भनेर शिक्षा कार्यालयमा उजुरी दिन्छु मात्रै के भनेको थिए,बुढा त माफ माग्न र पैसा दिन तयार भइहाले नि ।
मैदानेले व्याख्यान दियो । जितमान छक्क परेर हेरिरह्यो ।
तिमीलाई सित्तैमा काम लगाएर मैले गल्ती गरे जितमान, कति पैसा दिउँ ? – हेडसरले जितमानलाई सोधे ।
पैसा दिनु पर्दैन सर वुढा – मैदानेले फैसला गर्यो – त्यसलाई गुरु दक्षिणा ठान र भोलीवाट मलाई पढ्न मद्धत गर ।
दिन बदलिए ।
मैदाने कि त स्कुलमा हुन्थ्यो कि त हेडसरसँग । सिक्नको लागि । कि त विवाह वटुलोमा या मलामीमा । उसले दुइवटा कुरा छाड्यो – झगडा र अन्तिम वेञ्च ।
समय वित्दै गयो ।
एकदिन मैदाने बेतोडले दौडियो । वाऊले काम गरिरहेको अर्काको खेततिर । जितमानले परैवाट मैदानलेलाई देख्यो ।
विस्तारो आइज, लड्लास – जितमान परैवाट चिच्यायो ।
मैदाने अब लड्दैन वाऊवुढा – मैदाने कराउंदै नजिक पुग्यो ।
जितमानले गोरु रोक्यो ।
यी हेर वाऊवुढा – मैदानेले एउटा कागज वाऊका हातमा थमायो ।
जितमानले हेर्यो । लेखिएको थियो – मैदान वहादुर क्षत्री । कक्षा सात । रोल नम्वर १० ।
जितमानले छोरालाई गम्लंग अंगालो हाल्यो । दुवैका आँखावाट आँशु झरे ।
खुसी छौ वाऊवुढा – मैदानेले सोध्यो ।
आधामात्रै – जितमानले मौकाको फाइदा उठायो ।
किन ?
पुरै खुसी त तँ कक्षामा पहिलो भएको दिन मात्रै हुन्छु ।
मारे बाऊवुढाले – मैदानेले भन्यो – सक्दिन म ।
फष्ट भइस भने साइकल किन्दिन्छु – जितमानले लोभ देखायो – स्कुल हिँडेर जानु पर्दैन ।
पक्का ?
पक्का, तेरो बाऊले वोल्यो ।
अव मैदाने विवाह र व्रतवन्धहरुमा कम र लाइव्रेरीमा बढी देखिन थाल्यो । भ्याएसम्म मलामी भने गइरह्यो ।
तँ किन जसरी पनि घाट जान्छस् ? – एकदिन जितमानले सोध्यो ।
मैदाने एकछिन बोलेन । वाऊको मुख हेर्यो । फेरी टाउको निहुरायो ।
जितमानले मैदानेको अनुहार हेर्यो । मैदानेका आँखावाट आँशु बग्दैथिए ।
तँ वोलिनस् भने म त मरिहाल्छु नि – जितमानले कपाल चलाइदिदै भन्यो ।
जितमानले पनि रसाएका आफ्ना आँखाहरुलाई पुछ्यो ।
घाटमा जाँदा मलाई आमालाई भेटेजस्तो महसुस हुन्छ – मैदानेले घुँक्कघुँक्क गर्दै भन्यो – आमाको अन्तिम दर्शन मैले घाटमै गरेको थिए । त्यो आगोले आमालाई डढाएन होला, आमा त्यही वरीपरी छिन् जस्तो लाग्छ ।
जितमानले छोरोलाई गम्लंग अंगालो मार्यो । दुबै रोए ।
एकछिन पछि दुवैले आफुलाई सम्हाले ।
बाउबुढा, आमालाई अझै माया गर्छौ ? – एकछिन पछि मैदाने वोल्यो ।
तेरी आमा …….. – तेरी आमा यहाँ छे भनेर छातीतिर देखाउन खोजेको थियो जितमानले तर सकेन । फेरी रोयो ।
रुवाइवीच जितमानले आफ्नो विगत सम्झियो ।
जितमान जवानीमा भन्ने गथ्र्यो – यो संसारमा नजन्मनु नै जाति । जन्मिए पनि नहुर्किनु जाति । हुर्किए पनि विवाह वन्धनको जन्जालमा नपर्नु जाति ।
साँच्चै जवान हुन्जेल विवाह गरेन । ऊसले देखेका उसका तीनपुस्ता गरिब थिए । ऊसले आफ्नो कुलको अन्तिम गरिब हुने निर्णय गरेको थियो ।
गरिबीको वीउ नै मासिदिन्छु – कसैले विवाहको प्रस्ताव ल्याउँदा जितमान भन्ने गथ्र्यो ।
तर समय उल्टो चल्यो । चलचित्रको कथा झै । आफ्नै मालिकवाट वलात्कृत एक महिलालाई आत्महत्यावाट वचाउन चुपचाप वुढेसकालमा स्वीकार्यो ।
तर यो कुरा अव केवल जितमानलाई मात्रै थाहा छ । अर्को थाहा भएकी मैदानेकी आमा त सम्झनामा मात्रै बाँकी छे ।
त्यसपछि भन्ने गथ्र्यो – यो संसारमा नजन्मनु नै जाति । जन्मिए पनि नहुर्किनु जाति । हुर्किए पनि विवाह वन्धनको जन्जालमा नपर्नु जाति । विवाहवन्धनमा परिहाले पनि वालवच्चा नजन्माउनु जाति । वालवच्चा जन्माइहाले, वढाउनु, पढाउनु र विद्धान बनाउनु जाति ।
हो, जितमानसँग अब एउटै मात्रै सपना बाँकी छ, मैदानेलाई बढाउनु र पढाउनु ।
एकदिन मैदाने उस्तै फुर्तिका साथ घर आइपुग्यो । कागजको चिर्कटो वाऊलाई थमायो ।
मैदानवहादुर वहादुर क्षेत्री । कक्षा ८ । रोलनम्वर १
जितमान खुसीले चिच्यायो ।
बाऊबुढा – मैदानेले वोलायो – खुसीले चिच्याउने मात्रै होइन, मेरो साइकल किन्न पनि जाने ।
हस् – जितमानले केही सम्झिएझै भन्यो – तँ साइकल चाहन्छस् कि कम्प्युटर ?
म त कम्प्युटर चाहन्छु – मैदानेले ढिला नगरी जवाफ दियो ।
त्यसो हो भने कक्षा ९ मा जाँदा पनि फष्ट हो, म कम्प्युटर किनिदिन्छु – जितमानले आश्वासन दियो ।
मसँग साइकल किन्ने पैसा छैन भने भन्न सकेन ।
दिनहरु ढल्दैगए । मैदानेको सफलतासँगै जितमानका सपनाहरु भने बढ्दै गए । जितमानले केवल आश्वासनको मात्रा वढायो । मैदाने आश्वासनको पछि पछि दौडिदै बढ्दै र पढ्दै गयो ।
एकदिन मैदानेले एसएलसीको रिजल्ट छापिएको पत्रिका पनि वाऊको हातमा थमायो ।
हेर वाऊवुढा, फष्ट डिभिजन आएको छ, अव त वाचा गरेअनुरुप मोटरसाइकल किनिदिन्छौ होला नि ?
जितमान रमायो । खुसीले हुर्कीसकेको छोरालाई बोक्यो ।
तँ मोटरसाइकल चाहन्छस् कि कार ?
जितमानले अर्को आश्वासन अघि सार्यो ।
कार – मैदानले जवाफ दिन ढिला गरेन ।
कार पाउन तैले बीए पास गर्नुपर्छ – जितमानले अर्को लोभको अफर मैदानेतिर फाल्यो ।
वाऊवुढा तिमी खाली मलाइ लोभ्याउँछौ मात्रै त ? – मैदाने रिसायो – वीए पास गरेपछि एमए पास गर, म हवाइजहाज किन्दिन्छु भनौला, कसरी पत्याउनु ?
मेरो विश्वास लागेन भने म भोली नै तलाइ मोटरसाइकल ल्याइदिन्छु, हुन्छ ?
जितमानले पनि घुक्र्यायो ।
मैदानेले एकपटक आफुले कार चलाइरहेको सम्झियो । कारमा सधै उसको सपनामा आउने राजकुमारी अर्कोपटी सिटमा बसेकी थिइ ।
म पर्खिन्छु वाऊवुढा, बीएपछि चांहि पढ नभन नि – मैदानेले कुराको बीट वाँध्यो ।
त्यसपछि मैदाने कलेज जान थाल्यो । जितमानलाई कलेज जान्छ भन्ने सुनेपछि भइगो, के विषय पढ्छ भन्ने चासो नै राखेन किनकी ऊ ती सवै कुरा बुझ्दैनथ्यो । बीए पढाइ सक्न कति वर्ष लाग्छ समेत उसलाई थाहा थिएन ।
मैदाने पढाइमा व्यस्त भयो । बाऊछोराको भेट पनि कमै हुन्थ्यो । उनीहरुको घर काठमाडौको काँठमा थियो । कति दिन मैदाने घर नै आउंदैनथ्यो । जितमानको मन डराउँथ्यो र फोन गथ्र्यो ।
गाडी पाइन, पढाइमा व्यस्त भए, वा अरु यस्तै कुनै जवाफ दिन्थ्यो ।
जे जवाफ दिएपनि जितमान खुसी हुन्थ्यो ।
जे होस्, मेरो छोरा पढ्दै छ – जितमान दंग पर्दै आफैसँग कुरा गथ्र्यो ।
जितमानको जीवनमा पनि परिवर्तन दिनदिनै आइरहेका थिए । क्रमश बुढो हुंदै थियो । काठमाडौको काँठमा अव खास्सै जग्गा जमिन बाँकी थिएनन्, धान फल्ने खेतहरुमा प्लटिङ गरेर घरहरु ठडिइसकेका थिए । खेतीमा धेरै काम नपाइने भएकोले उसले आफ्नो हल गोरु पनि वेचिदिएको थियो । गोरुको काम आजकल कोदालीले गथ्र्यो ।
एकदिन अर्काको खेत खनिरहेको थियो । मैदानेले फोन गर्यो ।
बाऊवुढा, मैले वीए पास गरे – मैदानेले एक श्वासमा भन्यो – कार किनिराख, अब घर आउंदैछु । यो पटक भने कुनै आश्वासन चल्दैन नि ।
जितमान खुसीले उफ्रियो ।
केही घण्टामा नै मैदाने घर पुग्यो ।
बाऊवुढा, बाऊवुढा
मैदानेले वाहिरवाटै चिच्यायो । घरमा चुकुल लगाइको थियो ।
वाऊको नम्वरमा डायल गर्यो । फोन स्वीच अफ थियो ।
तिम्रो वाऊ त ओढ्ने ओछ्याउने बोकेर गाडी चढेर गएको देखेकी थिए – एउटी छिमेकीले भनिन् ।
मैदाने रिसले वहुलायो । घरभित्र पस्यो र डाङडाङ डुङडुङ गर्यो । प्रतिवाद कसैले केही गरेन ।
वाहिर निस्कियो । सलाइ कोर्यो । घर सल्काइदियो । आंखै सामुन्ने घर हुर्हुरी वल्न थाल्यो । वलीरहेको घरको छेऊमा वसेर आगो ताप्यो । गाऊलेहरु दौडिएर आए । कसैलाइ आगो निभाउन दिएन ।
मेरो घर मैले सल्काए, सबै फर्क – मैदाने चिच्यायो ।
मैदानेसंग जोरी खोज्ने आँट पनि त कसैको थिएन ।
घर जलेर खरानी भएपछि सन्तुष्ट भयो । सांझ पर्नै लाग्दा त्यहाँबाट हिड्यो ।
झमक्क सांझ पर्दा मैदाने काठमाडौको एउटा वृद्धाश्रममा पुग्यो ।
जितमान क्षेत्री यहाँ आएका छन् ? – मैदानेले गेटमा भएको पालेलाइ सोध्यो तर जवाफ नपर्खिइ फेरी भन्यो – मैदाने भेट्न आएको छ भनिदिनु ।
पाले भित्र गयो । केहीवेरमा पालेले जितमानलाई लिएर आयो ।
भाग्यौ बाऊवुढा ? – मैदानेले रिसाएर सोध्यो ।
म यहाँ छु भनेर कसरी थाहा पाइस् ? – मैदानेको जवाफ नदिइ जितमानले उल्टै प्रश्न गर्यो ।
छोराछोरीवाट भाग्न वुढावुढी जाने ठाऊ वृद्धाश्रम त हो नि, त्यति पनि मलाइ थाहा छैन र – मैदानेको रिस अझै घटेको थिएन ।
मलाइ माफ गरिदे मैदाने, मसंग तँलाइ कार किन्दिने पैसा थिएन, त्यसैले भागे – वल्ल जितमानले सच्चाइ वतायो ।
मलाइ थाहा थियो, तर पुरा गर्न नसक्ने सपना छोराछोरीलाई देखाएकैले धेरै बुढाबुढी वृद्धाश्रम जानु परेको हो – मैदानेले भन्यो – ल हिंड जाऊ ।
कहाँ घर ? – जितमान अलि खुसी हुंदै भन्यो – तैले माफ गर्दिस भने त म अहिले नै घर जान तयार छु ।
जितमानको अनुहारमा खुसी दौडियो ।
तिम्रो घरमा आगो सल्काइदिए मैले – मैदानेले भन्यो – त्यो घर खरानी भएपछि मात्रै त्यहाँवाट हिडेको हुँ ।
जितमानका आंखामा आंशु भरिए ।
किन रोयौ बाऊवुढा ? – मैदानेले भन्यो – जुन घरले तिमीलाई जीवनभर एउटा गरिवको पहिचान दियो, त्यो घर डढ्दा किन रुने ? जुन घरमा मान्छेहरु एउटा छिमेकीलाई भेट्न आउंदैनथे, कामदार खोज्न आउंथे, त्यो घर डढ्दा किन रुने ?
जितमानले आंशु पुछ्यो ।
त्यहाँ तेरी आमाको फोटो थियो, तँंलाइ आमाको याद आउँदा हेर्छस होला भनेर एउटा भएको फोटो पनि छाडेर आएको थिए ।
जितमान श्रीमतीको तस्विर सम्झिएर भक्कानियो ।
आमाको फोटो त लिएर आएको छु बाऊवुढा – मैदानेले पनि रुंदै भन्यो – म आफ्नै आमाको फोटो त कहाँ डढाउन सक्छु र ?
जितमानले मैदानेलाई जोडले अंगालोमा वांध्यो ।
ल हिंड वाऊवुढा, जाऊ – मैदानेले भन्यो ।
जितमान मैदानेको पछि लाग्यो । वृद्धाश्रमको कम्पाउन्ड वाहिर निस्किए ।
हात थाप बाऊवुढा – मैदानेले बाऊलाई आदेश दियो ।
जितमानले हात थापे । मैदानेले एउटा चावी राखिदियो ।
यो के हो ? – जितमानले प्रश्न गरे ।
कारको चाबी – मैदानेले भन्यो – मैले कार चढेको देख्ने तिम्रो सपना थियो हैन ?
जितमान बोल्न सकेन । टाउको हल्लाएर हो भन्यो ।
तिमीसँग पैसा छैन भन्ने त मलाइ तिमीले साइकल नकिन्दिएको दिन नै थाहा भएको थियो – मैदानेले भन्यो – तर बाऊआमाका सपना पनि त छोराछोरीका सपना हुन् नि । जसले पुरा गरे पनि त हुन्छ ।
जितमानले फेरी छोरालाई अंगालो मार्यो ।
आज त रुवाएर मार्छौ कि के हो वाऊवुढा ? – मैदानेले आदेश दियो – जाऊ भित्र गएर तिम्रा ओढ्ने ओछ्याउने लिएर आउ, ती कपडा भएनन् भने फेरी भरे ननिदाउला ।
जितमानले गएर भित्रवाट आफ्ना कपडा ल्याएर गाडीमा राख्यो । गाडी काठमाडौका गल्लीमा अगाडि बढ्यो । करिव आधा घण्टापछि गाडी एउटा घर कम्पाउन्डभित्र पस्यो । गेटमा लेखिएको थियो ।
डा.मैदानवहादुर क्षेत्री । एमवीवीएस । टीयु ।
गाडी रोक्नासाथ मैदानेले गएर वाऊ बसेपटीको ढोका आफै खोलिदियो । वाऊ ओर्लिनासाथ बाऊका पाऊ छोयो ।
तपाइले देखाएका सपनाले मलाइ यहाँसम्म ल्यायो बुबा– जीवनमा पहिलोपल्ट मैदानेले जितमानसँग सम्मानका साथ वोल्यो – असल सपना देखेर कर्म गर्नेहरु जीवन सधै गरिव भइराख्दैनन् बुबा । आजवाट तपाइ गरिब हुनुहुन्न । तपाइका सपनाले गरिव कुलको अन्त भएको छ ।
जितमानले छोरोलाई फेरी अँगालो हाल्यो ।
जितमान वोल्यो – डा. मैदानवहादुर क्षेत्री । मेरो छोरो ।
(लुइभिल, केन्टकी)
प्रतिक्रिया