मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको एक दिनपछि पाकिस्तानद्वारा ट्रम्पको निन्दा

नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको एक दिनपछि पाकिस्तानद्वारा ट्रम्पको निन्दा


शेयर गर्नुहोस:

864
Shares

  • change font
  • change font
  • change font

इस्लामाबाद । पाकिस्तानले इरानमाथि बमबारी गरेकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निन्दा गरेको छ। भारतसँगको हालैको संकट समाधान गरेकामा ट्रम्प नोबेल शान्ति पुरस्कारको हकदार भएको बताएको २४ घण्टाभन्दा कम समयमा पाकिस्तानको उक्त टिप्पणी आएको हो ।

अप्रिलमा भारत नियन्त्रित कस्मिरमा पर्यटकहरूको नरसंहारपछि दुई दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानबिचको सम्बन्धमा दरार आएको थियो। त्यसपछिका हप्ताहरूमा अमेरिकाको नेतृत्वमा गहन कूटनीतिक प्रयासहरूले युद्धविराम नल्याएसम्म आणविक–सशस्त्र यी दुई प्रतिद्वन्द्वी मुलुकले युद्धको नजिक पुगेर एक–अर्कामाथि आक्रमण गरेका थिए। युद्धविरामको श्रेय ट्रम्पले लिए।

यही ‘निर्णायक कूटनीतिक हस्तक्षेप र महत्त्वपूर्ण नेतृत्व’का लागि पाकिस्तानले शनिबार राति एक्स प्लाटफर्ममा उत्साहजनक सन्देशमा प्रशंसा गर्दै ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्राप्त गर्नका लागि आफ्नो औपचारिक सिफारिसको घोषणा गर्‍यो।

तर, २४ घण्टाभन्दा पनि कम समयपछि पाकिस्तानले इरानमाथि आक्रमण गरेकामा अमेरिकाको निन्दा गर्दै उक्त आक्रमणले ‘अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)को विधानको गम्भीर उल्लंघन गरेको’ बताएको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले आइतबार इरानी राष्ट्रपति मसुद पेजेस्कियनसँग फोनमा कुराकानी गर्दै बम विस्फाेटले आइएइएको सुरक्षामा रहेका सुविधाहरूलाई लक्षित गरेकामा चिन्ता व्यक्त गरेका हुन्।

पाकिस्तानको इरानसँग घनिष्ठ सम्बन्ध छ र उसले आत्मरक्षाको अधिकार रहेको भन्दै इजरायलमाथि गरेको आक्रमणलाई समर्थन गर्दछ। सेनाका शक्तिशाली प्रमुख असिम मुनिर र ट्रम्पबिच उच्च प्रोफाइल ह्वाइटहाउस लञ्च बैठकपछि ट्रम्प नोबेल शान्ति पुरस्कारको हकदार भएको भनी आएको सिफारिसबारे सोमबार इस्लामाबादबाट तत्काल कुनै टिप्पणी आएन।

दुई घण्टाभन्दा बढी चलेको बिहीबारको बैठकमा विदेशमन्त्री मार्को रुबियो र मध्यपूर्व मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टिभ विटकफ पनि उपस्थित थिए।

पाकिस्तानी सैन्य वक्तव्यअनुसार इरान र इजरायलबिचको विद्यमान तनावमा विस्तृत विचार आदान–प्रदान भयो र दुवै नेताले द्वन्द्वको समाधानको महत्त्वमा जोड दिए।

पाकिस्तानले भारतसँगको संकटमा ट्रम्पको हस्तक्षेपका लागि छिट्टै धन्यवाद दिएको भए पनि नयाँदिल्लीले यसलाई कम महत्त्व दिएको थियो र कस्मिर मुद्दामा बाह्य मध्यस्थताको कुनै आवश्यकता नभएको बताएको थियो।

कस्मिरको हिमाली क्षेत्र पाकिस्तान र भारतबिच विभाजित छ, तर दुवैले यसलाई पूर्ण रूपमा दाबी गर्छन्। भारतले पाकिस्तानलाई यस क्षेत्रमा उग्रवादी समूहहरूलाई समर्थन गरेको आरोप लगाउँछ। उक्त आरोपलाई पाकिस्तानले अस्वीकार गर्दै आएको छ । एपी

शेयर गर्नुहोस:

864
Shares