पृष्ठभूमि :
१९४८ मा संयुक्त राष्ट्र संघले यहुदीहरूको राष्ट्रिय घर बनाउने आकांक्षा पूरा गर्न र मध्यपूर्वमा यहुदी अरब द्वन्द्व समाप्त गर्न प्यालेस्टाइन क्षेत्रलाई यहुदी राज्य र प्यालेस्टाइन राज्य गरी दुई भागमा विभाजन ग¥यो । जुन दिन यो घोषणा भयो, उसै दिन यहुदीहरूले राष्ट्रिय घरको उद्देश्य पूरा भएको भनी यहुदी राज्यलाई इजरायल नामाकरण गरी एउटा स्वतन्त्र देशको गठन गरे । यसलाई अमेरिका र रुसले तत्काल मान्यता दिए । १९४९ मा इजरायलले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त ग¥यो ।
१९४८ भन्दाअगाडि त्यो पूरै क्षेत्रलाई प्यालेस्टाइन क्षेत्र भनिन्थ्यो । यो इस्लामिकबाहुल्य क्षेत्रका रूपमा थियो । इतिहास हेर्दा यस क्षेत्रमा यहुदी र मुसलमानहरूको प्राचीन कालदेखि नै बसोबास भएको देखिन्छ । यो समस्या आजभन्दा ६५०० वर्षअगाडि अर्थात् इसापूर्व ४५२५ वर्षदेखि निरन्तर चलिरहेको र अगाडि कसरी समस्या समाधान होला भन्ने अनुमान गर्न सकिँदैन ।
यस क्षेत्रमा यहुदी र प्यालेस्टाइनीहरूको आ–आफ्नै दावी
यहुदीहरूले आफ्ना तिनै पूर्वज इजरायलको नामबाट १९४८ मा राष्ट्र संघले छुट्याइदिएको यहुदी राज्यलाई “इजरायल” नामाकरण गरे । १९४८ पूर्व त्यस क्षेत्रलाई विभिन्न नामले चिनिन्थ्यो, माथि नै भनियो । आजको इजरायलमा इतिहासदेखि नै विभिन्न सभ्यताहरूले आक्रमण र अतिक्रमण गरे । युद्धको लामो यात्राबाट आजको इजरायल आइपुगेको हो भने प्यालेस्टाइनीहरूले पनि त्यति नै लामो इतिहास बोकेर आएका छन् त्यो क्षेत्रमा ।
यहुदीहरूका लागि टेम्पल माउण्टको महत्व
विवादका थुप्रै कडीहरुमध्ये टेम्पल माउण्ट एउटा क्षेत्र हो । यो प्यालेस्टाइनीहरूको अधीनमा छ । यसको पश्चिमी वालमा सोलोमनले बनाएको तर पछि रोमनहरूले भत्काएको यहुदी मन्दिर–स्थल छ । टेम्पल माउण्ट क्षेत्रमा प्रवेश गर्ने ११ वटा ढोका छन् । ती मध्ये १० वटा ढोकाबाट मुसलमानहरुलाई आवतजावतको सुविधा छ भने यहुदीहरुलाई प्रतिबन्ध छ । उनीहरू केवल एक ढोकाबाट यहुदी मन्दिर रहेको स्थलमा पूजाका लागि मात्र प्रवेश गर्न सक्दछन् ।
जेरुसेलमस्थित टेम्पल माउण्ट यहुदीहरूका लागि सबैभन्दा पवित्र स्थल हो किनभने यहाँ इसापूर्व करीव १० औं शताब्दीतिर राजा सोलोमनले यहुदी धर्मका लागि पहिलो मन्दिर निर्माण गरेका थिए । पछि इसापूर्व ५८६ मा बेबिलोनियनहरूले जेरुसेलममा जुडाहा (यहुदी) साम्राज्यविरुद्ध आक्रमण गरी आफ्नो कब्जामा लिई शासन गरे र यहुदीहरूलाई जेरुसेलमबाट बेबिलोन धपाइदिए । यसलाई इतिहासमा बेबिलोनको निर्वासन भनिन्छ । इतिहासको यही दुःखद घटनाले पहिलोपटक यहुदी डायस्पोरा खडा ग¥यो । जेरुसेलम विजयपछि बेबिलोनियन साम्राज्यका राजा नेबुखडनेजर द्वितीयले सोलोमनले बनाएको प्रथम यहुदी मन्दिर भत्काइदिए ।
पहिलो मन्दिर निर्माण— इसापूर्व ९५७, लगभग १ हजार वर्ष, राजा सोलोमनद्वारा ।
— पहिलो मन्दिरको दहन— इसापूर्व ५८६, बेबिलोनियन राजा नेबुखडनेजर द्वितीय ।
— दोस्रो मन्दिर निर्माण— इसापूर्व ५१६, यहुदीहरूद्वारा ।
— हेरोदद्वारा पुनर्निर्माण— इसापूर्व २०, राजा हेरोदद्वारा ।
— रोमनद्वारा पुनर्दहन— सन् ७०, रोमनी सेनापति टाइटसद्वारा ।
आज यो क्षेत्रले टेम्पल माउण्टको प्रसिद्धी र ऐतिहासिक महत्ता बोके पनि यहाँ कुनै यहुदी मन्दिर छैन । यस ठाउँमा इस्लामका “डोम अफ द रक” र “अल अक्सा मस्जिद” बनेका छन् । यहुदीहरू आज पनि यस क्षेत्रलाई तेस्रो मन्दिरका लागि उपयुक्त स्थान सम्झन्छन् । यसर्थ, यी र यस्ता धार्मिक–ऐतिहासिक महत्व बोकेका वस्तु र स्थानका कारण आज मध्यपूर्वमा देखिने इजरायल–प्यालेस्टाइन, इजरायल–हमास, इजरायल–हिजबुल्लाहका बिचमा युद्ध भइरहेको छ ।
यो संघर्ष केवल आजको संघर्ष होइन, यसले लामो ऐतिहासिकता र विरासत बोकेर आएको छ । आज यहुदी र मुसलमानहरूका बिचको जस्तो देखिने यो संघर्ष ६ हजार ५ सय वर्षदेखि विभिन्न साम्राज्य र धर्म हुँदै आज इजरायली यहुदी र मुसलमानका बिच रूपान्तरण भएको हो । यो संघर्ष इजरायल र यहुदीहरूका लागि शताब्दियौंदेखि दुखेको र दुखिरहने घाउ हो ।
इस्लामको लागि टेम्पल माउण्टको महत्वः
प्यालेस्टाइनी मुसलमानाहरूका लागि टेम्पल माउण्ट यहुदीहरूलाई जत्तिकै महत्वपूर्ण छ । यहाँ मुसलमानहरूको पहिलो संरचना “अल अक्सा मस्जिद” हो । अल अक्सा मस्जिद इस्लामिकहरूका लागि मक्का र मदिनापछि तेस्रो पवित्र मस्जिद हो । दोस्रो संरचना भने “डोम अफ् द रक” हो जहाँबाट पैगम्बर मुहम्मदले स्वर्गको यात्रा गरेका थिए भन्ने विश्वास गरिन्छ । यस क्षेत्रलाई उनीहरू अल्लाहको उपासना र पूजाका लागि पवित्र ठान्दछन् । “डोम अफ् द रक”सँगै उस्तै उस्तै देखिने अर्को संरचना पनि छ जसलाई “डोम अफ् द चेन” भनिन्छ । इस्लाममा यसको धार्मिक महत्व के छ भने कयामतको दिन अल्लाहले न्याय गर्दा सबै व्यक्तिहरूलाई यसै चेनबाट पार गराउनेछन् । जस–जसले चेन पार गर्दछन्, उनीहरू स्वर्ग जान्छन् भने पार गर्न नसक्नेहरू जहन्नम जान्छन् ।
उल्लिखित ३ संरचना सातौं शताब्दीमा निर्माण भएका थिए । यीमध्ये डोम अफ् रकको निर्माण काल सन् ६९१–६९२ मा मदिनाका शाशक अब्द अल–मलिक इब्न मरवानले बनाउन लगाएका थिए भने डोम अफ् चेन कसले कहिले बनायो भन्ने आधिकारिक तथ्यांक छैन । डोम अफ् चेनको संरचना पनि डोम रक जस्तै भएकोले डोम रक बनाउन नमूना बनाइएको थियो र यसलाई पनि मदिनाका उनै शासकले बनाएका हुन् भन्ने अनुमान गर्न सकिन्छ ।
अल अक्सा मस्जिद पनि अब्द अल–मलिक इब्न मरवानले नै बनाएका हुन् । यसको निर्माण आठौं शताब्दीमा सन् ७०५ देखि ७१५ का बिचमा भएको थियो ।
इस्लामका लागि जेरुसेलमको के महत्व छ ?
यसको उत्तर अलि पेचिलो छ । कुरानमा मुहम्म्दको कुनै सम्बनध जेरुसेलमसँग भएको पाइन्दैन । हदिजमा भने यसबारे उल्लेख गरेको पाइन्छ । पैगम्बर मुहम्मदले आफ्ना साथीलाई भनेका थिए उनले एउटा लामो यात्रा गरेका थिए र त्यो यात्रा एक रातमा भएको थियो । यो भनाई उनी मक्कामा हुँदै भनिएको थियो । त्यति लामो यात्रा एकै रातमा कसरी सम्भव भयो भने फरिस्ता जिब्राइलले उनलाई पखेटा भएको घोडा दिएका थिए । त्यो घोडाको नाम बुराक थियो । बुराक घोडाको कथा तीनै धर्ममा प्रचलित छ ।
जिब्राइलले बुराक बोलाइदिए त्यही घोडामा सवार भई मुहम्मदले रातमा लामो यात्रा गरे । यात्रा दुई चरण गरिएको थियो— पहिलो चरण इस्रा र दोस्रो चरण थियो मिराज । प्रथम चरणको यात्राअन्तर्गत, उनी बुराक घोडा चढेर मक्काको कावाबाट टेम्पल माउण्टस्थित अल अक्सा मस्जिद पुगे । त्यहाँ पुगेर मुहम्मदले अरु पैगम्बरहरूसँग पनि कुराकानी गरे र उनीहरू सबैलाई नेतृत्व गर्दै अल अक्सा मस्जिदमा नमाज पढे । कावादेखि अल अक्सा मस्जिदसम्मको यात्रा इस्रा थियो ।
दोस्रो चरणको यात्रामा मुहम्मद बुराक घोडा चढेर स्वर्गतिर गए । स्वर्ग पुग्न ७ आकाशहरू पार गर्नुपर्दछ । तिनीमध्ये प्रथम आकाशमा मुहम्मदले प्रथम पैगम्बर आदमलाई भेटे । त्यसपछि क्रमशः इसा र याह्या, युसुफ, इदरिस, हारुन, मूसा र सातौं आकाशमा इब्राहिमलाई भेटे । यसरी जिब्राइलले मुहम्मदलाई सातै आकाश देखाए ।
मुहम्मद सातौं आकाशको चरम सीमा पार गरी सिद्रतुल मुन्तहा पुगे । यसको अर्थ हो अन्तिम सीमाना । यो क्षेत्र स्वर्गदूत वा फरिस्ताहरूको ज्ञान समाप्तिको सीमा पनि हो । योभन्दा पर फरिस्तालगायत कोही पनि पुग्न सक्दैनन । यसलाई अल्लाह र सृष्टिबिचको सीमाना पनि भनिन्छ । यस क्षेत्रमा मुहम्मदको अल्लाहसँग भेट भयो, अल्लाहसँग प्रत्यक्ष सम्वाद भयो ।
यसरी, स्वर्गको सम्पूर्ण यात्रा गरी उही घोडाद्वारा उही रात मुहम्मद कावा फर्किए र मिराज यात्रा समापन भयो ।
यहुदी र इजरायल
आधुनिक इजरायललाई प्राचीन कालमा कनान, जुदाहा, इजरायल र जेरुसेलम आदि विभिन्न नामले चिनिन्थ्यो । यस अनुच्छेदमा प्रयोग गरिएको इजरायल शब्द आजको इजरायल देश नभई त्यस क्षेत्रमा यहुदीहरूका पूर्वजको नाम हो । धार्मिक इतिहास के छ भने यहुदीका पैगम्बर इब्राहिम वा अब्राहम, उनका छोरा इसाहाक, नाति याकुवसमेत त्यस क्षेत्रमा बसाबोस गर्दथे । याकुवको दोस्रो नाम इजरायल थियो । इजरायलको अर्थ हो विश्वमर शासन गर्नु ।
यो धार्मिक इतिहासको कुरा हो । इजरायलका २ पत्नी थिए । तिनीहरूको नाम लिआ र राहेल थियो । लिआकी सेविका जिल्पा र राहेलकी सेविका बिल्हा थिई । इजरायलका २ पत्नी र तिनका १, १ सेविकाबाट १२ पुत्रहरू भए । ती १२ पुत्रहरूको नाम थियो— (१) रुबेन (२) शिमोन (३) लेवी (४) यहूदा (५) डान (६) नफ्फाली (७) गाड (८) आशेर (९) इस्साकर (१०) जबुलुन (११) यूसुफ र (१२) बेन्जामिन । यिनीहरूलाई इजरायलका १२ (पुत्र, जनजाति, कबिला, गोत्र वा सन्तान) भनिन्छ ।
यी १२ पुत्रमध्ये चौथो पुत्रको नाम यहुदा थियो । यिनी सबैभन्दा प्रसिद्ध थिए । तिनलाई जुहाडा पनि भनिन्थ्यो । यिनै यहुदाका सन्तानहरू आजका यहुदीहरू हुन् भने जुडाहाको नामबाट जुडाइजम अर्थात् यहुदी धर्म सुरु भएको हो । त्यसैले, यहुदीहरू आज पनि आधुनिक इजरायललाई याकुव अथवा “इजरायल”का सन्तानहरूको बसोबासको क्षेत्र भनेर दावी गर्दछन् ।
**
इतिहासदेखि वर्तमानसम्मका युद्धहरू
१. इसापूर्व लगभग १४५० तिर इजिप्टबाट फरो थुट्मोस (तृतीय)ले कनान क्षेत्र (आजको इजरायल क्षेत्र) लाई इजिप्टको अधीनमा बनाए।
२. इसापूर्व लगभग १२०० तिर प्यालेस्टाइनीहरू गाजा र आसपासका क्षेत्रमा बसोबास गर्दथे । उनीहरू समुद्री जातिहरू थिए ।
३. इसापूर्व लगभग १००० तिर इस्राएली राजाहरू डेविड र सोलोमनको समयमा उनीहरुले प्यालेस्टान क्षेत्रलाई एकीकृत गरे ।
४. इसापूर्व ९२५ तिर इजिप्टका राजा शिशाकले जेरुसेलमसहितका क्षेत्रहरूमा आक्रमण गरे आफ्नो कब्जामा लिए ।
५. इसापूर्व ७२२ तिर असिरियाका राजा सर्गोन द्वितीयले उत्तरी जेरुसेलमसहित वरिपरीका राज्यलाई आक्रमण गरी कब्जा गरे ।
६. इसापूर्व ५८६ तिर बेबिलोनका राजा नेबुचद्नेजर द्वितीयले जेरुसेलमलाई ध्वस्त गरे । उनले जेरुसेलमको पहिलो यहुदी मन्दिर नष्ट गरे र यहूदीहरूलाई निर्वासित गरे ।
७. इसापूर्व ५३९ तिर पर्सियन साम्राज्यका साइरस द ग्रेटले बेबिलोन साम्राज्यलाई हराउँदै यहुदीहरूलाई जेरुसेलम फर्कने अनुमति दिए ।
८. इसापूर्व ३३२ तिर मेसिडोनियाका अलेक्ज्यान्डर द ग्रेटले प्यालेस्टाइन क्षेत्रमा हलेनिस्टिक शासन स्थापना गरे।
९. इसापूर्व १६७—१६० तिर सेल्युसिड साम्राज्यका शासक अन्तिओकस ९चौथो०ले यहुदी मन्दिरलाई ग्रीक देवी–देवता पूजा गर्ने स्थल बनाए । यसले गर्दा मक्काबियन विद्रोह भयो ।
१०. इसापूर्व ६३ तिर रोमन साम्राज्यका पम्पी द ग्रेटका सेनाले जेरुसेलम कब्जा गर्दै यहुदी क्षेत्रलाई रोमनको अधीन बनाए ।
**
रोमन, बाइजेन्टाइन र प्रारम्भिक इस्लामी काल (इसाको १००–११०० सम्म)
११. इस्वी सम्वत् ७० मा रोमन साम्राज्य टाइटसले दोस्रो मन्दिर नष्ट गर्दै जेरुसेलमलाई तहस–नहस पारे ।
१२. सन् ६१४ मा “फारस”साम्राज्यले जेरुसेलम कब्जा ग¥यो ।
१३. सन् ६३६ मा इस्लामी “खलिफा उमर”का इस्लामी सेनाले जेरुसेलम कब्जा गर्दै उम्मायाद शासन स्थापना गर्यो।
**
क्रुसेडर र मामलुक काल (सन् ११००—१५०० सम्म)
१४. सन् १०९९ मा क्रुसेडरहरूले जेरुसेलम कब्जा गर्दै क्रुसेडर राज्य स्थापना गरे ।
१५. सन् ११८७ मा अय्युबिड साम्राज्यका सलादिनले क्रुसेडरहरूलाई हराउँदै जेरुसेलमलाई मुस्लिम नियन्त्रणमा ल्याए ।
१६. सन् १२६० मा मामलुक साम्राज्यले मंगोल आक्रमणलाई पराजित गर्दै जेरुसेलम नियन्त्रणमा लिए ।
**
अटोमन साम्राज्य र आधुनिक काल (सन् १५०० — १९४८ सम्म)
१७. सन् १५१७ मा अटोमन साम्राज्यका सुलेमान द म्याग्निफिसेन्टले मामलुकहरूलाई हराउँदै जेरुसेलम कब्जा गरे।
१८. सन् १९१७ मा ब्रिटिश साम्राज्य ९प्रथम विश्वयुद्ध०ले अटोमन साम्राज्यलाई पराजित गरेपछि ब्रिटिश सेनाले जेरुसेलम कब्जा गरे।
१९. सन् १९४८ मा संयुक्त राष्ट्र संघद्वारा प्यालेस्टाइन क्षेत्रलाई यहुदी राज्य र प्यालेस्टाइन राज्यमा विभाजन गरेपछि प्यालेस्टाइन क्षेत्रमा यहुदीले राष्ट्रिय घर प्राप्त गरे । यहुदीहरुले तत्कालै यहुदी राज्यलाई राष्ट्रिय घरको रुपमा “इजरायल”देशको गठन गरेपछि अरब राष्ट्रहरूले इजरायलमाथि आक्रमण गरे।
**
समकालीन आक्रमणहरू (१९४८ देखि हालसम्म)
२०. सन् १९६७ मा ६ दिने अरब इजरायल युद्धमा इजरायलले गाजा, वेस्ट बैंक र पूर्वी जेरुसेलम कब्जा गर्यो।
२१. सन् १९७३ मा योम किप्पुर युद्धका दिन अरब राष्ट्रहरूले इजरायलमाथि आक्रमण गरे । त्यस युद्धमा पनि इजरायल नै विजय भयो । यसबेला वेस्ट बैंकको प्यालेस्टाइन क्षेत्रलाई इजरायलले कब्जामा लियो ।
२२. सन् १९८७–१९९३ सम्म प्यालेस्टाइन क्षेत्रको स्वायत्तताको विषयलाई लिएर प्यालेस्टाइन विद्रोह भयो । यसपछि इजरायल र प्यालेस्टाइनबिच १९९३ ओस्लोमा सम्झौता भयो । ओस्लो सम्झौतासँगै इजरायलले गाजापट्टी र वेस्ट बैंकलाई आफ्नै स्वतन्त्र प्रशासन चलाउन अनुमति दियो । १९९४ मा प्यालेस्टाइन नेसनल अथोरिटीको गठन भयो र त्यसैमार्फत गाजापट्टी र वेस्ट बैंकमा पि।एल।ओ।ले प्रशासन चलाउन सुरु ग¥यो ।
२३. हेब्रोन सम्झौता । १९९६ मा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइन अथोरिटीसँग वार्ता गरी हेब्रोन क्षेत्रको ८० प्रतिशत भू–भाग प्यालेस्टाइन र यहुदी जनसंख्या रहेको २० प्रतिशत भू–भाग इजरायलको नियन्त्रणमा रहने गरी सम्झौता भयो ।
२४. २००५ मा गाजा डिसइन्गेजमेन्ट योजना अन्तर्गत इजरायली प्रधानमन्त्री शारोनले हमाससँग सम्झौता गरी गाजा स्वायत्त योजना अघि सारे । यस कुरामा सहमति भै इजरायलले गाजाबाट आफ्ना सबै १० हजार सेनासहित १२ हजार यहुदी बस्ती हटायो ।
२५. २००६ मा इजरायल र लेबनानका हिजबुल्लाहका बिच युद्ध भयो । हिजबुल्लाहलाई लेबनानले आश्रय तथा आवश्यक सहयोग दिइरहेको थियो । त्यो सहयोग आज पनि कायम छ ।
२६. २०२१ को सम्पत्तिसम्बन्धी विवाद “शेख जर्राह”विवादले ११ दिन हमास इजरायलबिच युद्ध भयो । उता शेख जर्राह क्षेत्रमा पनि हिंसात्मक द्वन्द्व भयो । त्यहाँ १०० भन्दा बढी प्यालेस्टाइनी घाइते भए भने २० भन्दा बढी प्यालेस्टाइनीहरुको मृत्यु भयो ।
२७. अगस्ट ५ देखि ७, २०२२ मा ३ दिनसम्म हमास इजरायल युद्ध भयो ।
२८. मे ९ देखि १३ मे २०२३ सम्म फेरि हमास इजरायलबिच गाजामा ५ दिन भीषण युद्ध भयो ।
२९. सबैभन्दा पछिल्लो युद्ध अक्टोबर ७, २०२३ देखि हमास, हिजबुल्लाह, हुती एकतर्फ र इजरायल अर्कोतर्फ भई १५ महिनासम्म लामो युद्ध भयो । यसमा ४२ हजारभन्दा बढी मानिसहरुको मृत्यु भयो । १९ लाखभन्दा बढी प्यालेस्टाइनी र १ लाखभन्दा बढी इजरायलीहरु विस्थापित भए ।
३०. अन्ततः अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रयासमा जनवरी १५, २०२५ मा हमास र इजरायलका बिच शान्ति सम्झौता भएको छ ।
३१. जनवरी २०, २०२५ मा अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि गाजा क्षेत्रमा विस्थापित भएका प्यालेस्टाइनीहरुलाई फर्काउन नहुने र त्यस क्षेत्रलाई अमेरिकाले अधिग्रहण गरी नयाँ शहरीकरण गर्ने योजना अगाडि सारेका छन् । त्यसको समर्थन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनीहरुको पुनर्वासका लागि साउदी अरबमा धेरै जमिन भएकोले त्यहाँ प्यालेस्टाइन क्षेब बनाउनुपर्छ भन्ने डरलाग्दो र आपत्तिजनक कुरा उठाएका छन् ।
सारांश
यसरी, इतिहासदेखि यति लामो चलेको युद्धमा प्यालेस्टाइन र इजरायलीबिच पछिल्लो १५ महिनापछि युद्धविराम भए पनि अगाडिको योजनाले स्थायी शान्ति आउँछ भन्ने देखिँदैन ।
सत्य भन्ने हो भने इजरायली क्षेत्र भनौं वा प्यालेस्टाइन, दुवैको समान हक र अस्तित्व छ तर उनीहरुले आफैं मिलेर यसको समाधान निकाल्नुपर्छ । समाधानको एउटा उपाय के हो भने जसरी यहुदीहरुले इजरायल देश पाए, त्यसैगरी गाजा र वेस्ट बैंकलाई पनि इजारायलले दावी छोडी स्वतन्त्र राज्यका लागि पहल गर्न दिनुपर्छ ।
यहाँ इतिहासको एउटा कुरा उल्लेख नगरी नहुने भयो । त्यो के भने १९४८ मा संयुक्त राष्ट्र संघले प्यालेस्टाइनलाई यहुदी राज्य र प्यालेस्टाइन राज्यमा विभाजन गरेको बेला जसरी यहुदीहरुले तत्काल त्यसलाई स्वीकार गरी इजरायल देशको गठन गरे, त्यसैगरी प्यालेस्टाइन राज्यले पनि एउटा देशको निर्माण गरेको भए शायद आजको यो परिस्थिति भोग्नुपर्दैनथ्यो कि ! इजरायल राष्ट्रिय घरको नाममा देशको गठन गरिरहँदा प्यालेस्टाइनीहरु चाहिँ संयुक्त राष्ट्र संघको प्यालेस्टाइन विभाजन र इजरायल राज्य गठनको विरोध गर्दै आक्रमण गर्नमा व्यस्त भए । यसले गर्दा न प्यालेस्टाइन राज्यको गठन हुन सक्यो, न प्यालेस्टाइन विभाजन खारेज भयो । बरु इजरायल शक्तिशाली राष्ट्रको रुपमा देखाप¥यो र बाँकी रहेको प्यालेस्टाइनी भूभाग पनि क्रमशः खुम्चिँदै जानुपर्ने अवस्थामा पुगेको छ । यहुदीहरुको हातमा इजरायल देश प्राप्त भयो, प्यालेस्टाइनीहरुको हातमा केवल युद्ध, धार्मिक विभाजन, आतंक, अनिश्चितता र अँधेरो भविष्य प्राप्त भयो ।
रिचमण्ड, भर्जिनिया ।
प्रतिक्रिया