मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिसी मेट्रो   
मुख्य समाचार   
विचार / ब्लग    

इस्लाम धर्मः शिया सुन्नी एवम् अन्य सम्प्रदाय

इस्लाम धर्मः शिया सुन्नी एवम् अन्य सम्प्रदाय

- नारायण अधिकारी

हिमालय खबर

शेयर गर्नुहोस:

486
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नारायण अधिकारी, रिचमण्ड, भर्जिनिया

शिया र सुन्नी
इस्लाम धर्मको कुरा गर्दा शिया र सुन्नी मुसलमानहरूका बिचमा भएको हिंसा र झडपका धेरै घटनाहरू हामी सुन्दछौं तर धेरै मानिसलाई यिनीहरूको बारेमा जानकारी हुँदैन । यहाँ तिनै शिया र सुन्नीलगायत इस्लामका अन्य केही सम्प्रदायहरूको वर्णन गरिएको छ ।

इस्लामिक धर्म एक अल्लाह मान्ने धर्म भए पनि केही सम्प्रदायमा विभाजित छ र यो विभाजन सामान्य विभाजन मात्र नभई यसमा हिंस्रक र एक–अर्काविरुद्ध युद्धसम्म भएका छन् । यी सम्प्रदायमा शिया र सुन्नी गरी दुई सम्प्रदाय मुख्य रहेका छन् । इस्लामिक जनसंख्याको ८७ देखि ९० प्रतिशत सुन्नी र १० देखि १३ प्रतिशत शिया मुसलमान रहेका छन् । यसबाट सुन्नी मुसलमानको सट्टा शियाहरू एकदमै कम संख्यामा छन् । शिया र सुन्नी सम्प्रदायका रूपमा विभाजित मुसलमानहरू सामान्य र स्वभाविक ऐतिहासिक घटनाका आधारमा विभाजित भएका छन् ।

इस्लामिक विभाजनको ऐतिहासिक घटनामा के थियो भने पैगम्बर मुहम्मदको मत्युपछि मुहम्मदको विरासत अथवा उत्तराधिकारी को हुने भन्ने विषयमा गम्भीर छलफल भयो । सबैको छलफल र सहमतिमा मुहम्मदका ससुरा एवम् मित्र अबुबकरलाई प्रथम उत्तराधिकारी अथवा खलिफा घोषणा गरियो । जब एकपछि अर्को खलिफाको प्रश्न आउँथ्यो, कसलाई खलिफा बनाउने भन्ने विषयलाई लिएर मुसलमान समाजमा विवाद बढ्न थाल्यो । खलिफा विवादको यो सिलसिलामा दोस्रो खलिफा उमर इब्न अफ्फान, तेस्रो खलिफा उसमान इब्न अफ्फान र चौथो खलिफा मुहम्मदका काकाका छोरा तथा ज्वाइँ अली इब्न तालिबलाई बनाइयो । यो क्रम बढ्दै छैठौ खलिफासम्म आइपुग्दा विवाद चरम अवस्थामा आइपुग्यो । एउटा निचोड निकाल्नै पर्ने भयो ।

खलिफा छनौटको विवादले कठोर रूप लियो । यस बिचमा कैयौं पटक खलिफाका विरुद्ध विरोध प्रदर्शन भए । यो विवाद दिन-प्रतिदिन पेचिलो बन्दै गयो । विवाद, विरोध बढ्दै गएर हिंस्रक झडपसम्म भए । अब मुसलमानहरू खलिफाको विषयलाई लिएर स्पस्टसँग दुई समूहमा विभाजित भइसकेका थिए ।

शिया मुसलमानको उदय

पहिलो समूहले घोषणा ग¥यो– मुहम्मदले हजरत अलीलाई प्रथम खलिफा बनाएकोले उनका पुत्र इमाम हुसेन अब उप्रान्त दोस्रा खलिफा हुन् । स्मरण रहोस्, जसले हजरत अलीलाई प्रथम खलिफा माने र इमाम हुसेनलाई त्यसपछि इस्लामको नेता बनाए, तिनका अनुयायीहरू शिया मुसलमान कहलाइए । आज पनि शिया मुसलमानलाई अली सम्प्रदाय भनिन्छ । शिया शब्दको अर्थ हो अली समर्थक । यसकारण, शिया मुसलमानहरू हजरत अलीलाई पैगम्बरको मुहम्मदका सच्चा उत्तराधिकारी र प्रथम इमाम भनी सम्मान प्रकट गर्दछन् । हजरत अलीका पुत्र इमाम हुसेनको पछि इराकको कर्वलामा हत्या हुन्छ । यससम्बन्धी विवरण तल आउनेछ ।

शिया मुसलमानहरूको आजसम्म तर्क के छ भने मुहम्मदका असली उत्तराधिकारी मुहम्मदकै परिवारभित्रबाट हुनुपर्छ । हजरत अली मुहम्मदका काका अबु तालिबका छोरा र मुहम्मदकी छोरी फातिमाका पति पनि थिए । तसर्थ, मुहम्मदका उत्तराधिकारी उनका काकाका छोरा तथा छोरी ज्वाइँ हजरत अली हुनुपर्दथ्यो, जबकी उनलाई पहिलो खलिफाको सट्टा चौथो खलिफा बनाइयो । गलत यहीँबाट भएको छ भन्दै शियाहरू अगाडि भन्दछन्, त्यसपछि अलीका सन्तान इस्लामका नयाँ नेता बन्नुपर्नेमा त्यो पनि भएन । पैगम्बर मुहम्मदपछि हजरत अलीवाहेक अन्य ३ जना खलिफाहरू तथाकथित हुन्, अबैध तरिकाले बनाइएका खलिफा हुन् । त्यसैले, आज पनि शिया मुसलमानहरू पैगम्बर मुहम्मदपछि हजरत अलीलाई प्रथम इमाम ठानी त्यहीँबाट गन्ती गर्दछन् र खलिफा शब्दको ठाउँमा इमाम शब्दको प्रयोग गर्दछन् । यसकारण, शिया मुसलमानलाई इमाम सम्प्रदाय पनि भनिन्छ ।

सुन्नी मुसलमानको उदय

दोस्रो समूहले पहिलो समूहको तर्कको खण्डन गर्दै घोषणा ग¥यो– मुहम्मदले हजरत अलीलाई ध्यानमा राख्नु मात्र भनेका थिए । तसर्थ, इस्लामको पहिलो खलिफा अबु बकर नै हुन् । स्मरण रहोस्, अबु बकरलाई प्रथम खलिफा मान्ने अनुयायीहरू सुन्नी मुसलमान कहलाइए । हजरत अलीलाई सुन्नी मसुसलमानहरू चौथो र अन्तिम खलिफा “खुलफा–ए–राशिदीन”(अर्थः सही मार्गदर्शन पाएका)का रूपमा सम्मान प्रकट गर्दछन् ।

खलिफासम्बन्धी यो विवाद यतिसम्म घातक थियो कि प्रथम खलिफा अबु बकरपछि दोस्रो, तेस्रो र चौथो खलिफाको हत्यासमेत भयो । शिया र सुन्नीको विभाजनको मूल कारण मुहम्मदपछिको उत्तराधिकारीको विषयमा केन्द्रित थियो । सारांशमा भन्दा पैगम्बर मुहम्मदका ससुरा अबु बकरलाई प्रथम खलिफा मान्ने सम्प्रदायलाई सुन्नी मुसलमान भनिन्छ भने मुहम्मदका भतिजभाइ तथा ज्वाइँ वीरवल अलीलाई प्रथम खलिफा मान्ने सम्प्रदायलाई शिया मुसलमान भनिन्छ । शिया र सुन्नी सम्प्रदाय विभाजनको मूल कारण यति हो । कारण सामान्य भए पनि आज संसारभरिका धर्ममध्ये आन्तरिक द्वन्द्वमा जति शिया र सुन्नी मुसलमानहरूको लडाइँ भएको छ, त्यति अरु कुनै धर्ममा पनि छैन । यति सामान्य रूपमा बाँडिएका मुसलमानहरू धार्मिक विश्वासमा खासै अन्तर नभए पनि कहिलेकाहीँ एकअर्काबिच अत्यन्तै घातकसँग लडाइँ झगडामा उत्रन्छन् ।

इमाम हुसेनको हत्या

इमाम हुसेनलाई इस्लामका नयाँ नेता बनाएको बेला उम्ययाद साम्राज्यमा यजिद इब्न मुआवियाको शासनका थियो । यो साम्राज्य आजको सिरियाको दमास्कसमा पर्दछ । यिनी यजिद वंशका दोस्रा खलिफा थिए जसले सन् ६८० मा शासन समाले । यिनी मुहम्मदको शिक्षाभन्दा अलग्गै राजनैतिक शक्तिको आडमा विलासी जीवन बिताउँथे । यिनले आफ्नो साम्राज्यको लागि समर्थन जुटाउन इमामलाई आफ्नो राजधानीमा बोलाए । तर यजिदको शासकीय नेतृत्व धर्म र न्यायको विपरीत भएकोले इमामले उनको खलिफाको बैधतालाई स्वीकार गरेनन् ।

उता इराकको कुफाबाट हुसेनलाई आफ्नो नेता बन्न निमन्त्रणा गरे । कुफाको निमन्त्रणालाई इमाम हुसेनले स्वीकार गर्दै उनी इराकतिर लागे । यो कुरा थाहा पाएर उम्ययादी शाशक यजिदले आफ्नो शासनको विरोध गर्नेलाई कदापि नछोड्ने भनी कुफावासीहरूलाई धम्क्याए । यजिदको धम्कीबाट कुफाबासी डराए र इमाम हुसेनलाई धोका दिए । यो षड्यन्त्रबारे इमाम हुसेनले चालै पाएनन् । इमाम आफ्ना केही सहयोगी र परिवारका सदस्य लिएर इराकको वगदाद नजिक कर्वला पुगे । त्यहीँनेर यजिदका सेनाले हुसेनलाई बन्दी बनायो । त्यसको १० दिनपछि हुसेन र उनका ७२ जना साथीहरूलाई यजिदको सेनाले त्यहीँ ठाउँमा मारिदिए । सेनाले हुसेनको टाउको गिँडी यजिदको दरवारमा पु¥यायो । यसरी, सन् ६८० मा कर्वलामा इमाम हुसेनको हत्या भयो ।

अन्यायको विरोध गर्ने क्रममा षड्यन्त्रपूर्वक इमाम हुसेन मारिए । आज पनि शिया मुसलमानहरू इमाम हुसेनलाई सत्य, न्याय र धर्मको प्रतीक मान्दछन् । यस घटनाले शियाहरूमा आफ्नो इमामप्रतिको विश्वास झनै दरिलो बनेर गयो । त्यस दिनलाई शिया मुसलमानहरू अन्यायका विरुद्ध संघर्ष र वलिदानको प्रतीकको दिन मान्दछन् । उता सुन्नी मुसलमानहरूको लागि पनि कर्वला घटना शोकपूर्ण थियो र यस घटनालाई दुवै सम्प्रदाय कर्वलाको त्रासादीपूर्ण घटनाको रूपमा सम्झन्छन् ।

कर्वलाको घटनाले शिया र सुन्नीको विवादका कारण नभए पनि हुसेनको हत्याले यी दुई सम्प्रदायबिच ऐतिहासिक रूपमा विभाजन र द्वन्द्वको रेखालाई अरु लम्ब्याइदियो ।

शिया मुसलमानको ठूलो जनसंख्या इरान, इराक, अजरबैजान, बहराइन र लेबनानमा छ । बाँकी रहेको इस्लामिक देशहरूमा सुन्नीहरूको बाहुल्य छ । सुन्नी मुसलमानको ठूलो संख्या विश्वका थुप्रै देशहरूमा फैलिएको छ । शिया मुसलमानहरू इमामको अध्यात्मिक नेतृत्वलाई बढी मान्दछन् भने सुन्नी मुसलमानहरू खलिफाको राजनीतिक नेतृत्वलाई महत्वपूर्ण मान्दछन् ।

आगारवांनी

यो आगारवाँलाई ईश्वरको अवतारको रूपमा मान्दछ । यस सम्प्रदायको मतअनुसार आगरवाँले मानिसलाई नर्कमा पठाउने क्षमता राख्दछन् । जब मानिस मर्दछ, त्यसबेला यथेष्ट दक्षिणा दिने हो भने आगरवाँले जिब्राइको नाम लेखेर दिनेछन् । त्यसलाई मृत व्यक्तिसँगै गाडिनेछ । आगारवाँले लेखेको लिखतअनुसार स्वर्गमा जुन स्थान लेखिएको छ, त्यहीँ स्थान मृत व्यक्तिलाई मिल्नेछ ।

द्रष्टव्यः यस सिद्धान्तलाई हेर्दा दान दक्षिणाका आधारमा नर्क जान योग्य व्यक्तिलाई पृथ्वीबाट नै स्वर्गको स्थान निर्धारण गर्न सकिन्छ । यो एक किसिमको साँस्कृतिक विचलन वा धार्मिक भ्रष्टता पनि मान्न सकिन्छ ।

इमामीया

यो शिया मुसलमानभित्रको एक उपसम्प्रदाय हो । इमामीय शब्दबाट नै थाहा हुन्छ यिनीहरूको इमाममा विश्वास गर्दछन् तथापि यिनीहरूको विश्वास १२ औं इमाममा छ । पहिलो इमाम हजरत अली हुन् भने यिनीहरूले मानेका १२ औं इमाम महदी हुन् । इमाम महदी युवावस्थामा घर छोडी गए । उनी कहाँ गए कसैलाई पनि थाहा छैन । इमामीयाहरूको विश्वास के छ भने यिनी कुनै गुम्तस्थानमा जीवित बसेका छन् । समय आएपछि महदी प्रकट भई विश्वलाई नियन्त्रणमा लिनेछन् । इमामको छनोट पनि अल्लाहले गर्दछन् । यिनीहरू पनि इस्लामिक विश्वास जस्तै एकेश्वरवाद र कयामतमा विश्वास गर्दछन् ।

जैदिया

शिया सम्प्रदायअन्तर्गत जैदिया उपसम्प्रदाय पनि छ जो इमामलाई नै मादछन् । जैदिया सम्प्रदाय हजरत जैद इब्न अलीले चलाएका थिए । हजरत जैद इमाम सम्प्रदायका चौथा इमाम जैनुल आवेदीनका पुत्र एवम् इमाम हुसेनका नाति थिए । यिनीहरू मुहमम्दको वंशलाई सक्कली मुसलमान र इमाम हुन् भन्ने ठान्दछन् । जैदिया सम्प्रदाय अन्याय अत्याचारको विरोध गर्दै ज्ञान, न्याय र सही नेतृत्वमा विश्वास गर्दछन् ।

इम्माइलीया

यो सम्प्रदाय शिया शाखाभित्र नै पर्दछ । यिनीहरू पनि इमाम परम्परामा इमाम इस्माइ इब्न जाफरलाई सही सत्तराधिकारी मान्दछन् र उनकै शिक्षामा आधारित रहेर आफ्नो धार्मिक गतिविधि, अध्यात्मिक चिन्तन र प्रगतिशील दृष्टिकोण राख्दछन् । शिया सम्प्रदायमा उत्तराधिकारीलाई इमामको उपाधि दिने भएकोले कुनै इमामको विशेष क्षमता, नव चिन्तन र गुणका आधारमा यस्ता स–साना धेरै उपसम्प्रदायको जन्म भएको पाइन्छ ।

सुफीमत

सुफीमत इस्लाममा अध्यात्मिक चिन्तनको सघनताबाट उत्पत्ति भएको सम्प्रदाय हो । यस मतले अध्यात्म–धर्मलाई जीवनको आधार मान्दछ र बाह्य संसारमा देखिने र देखाइने सबै खाले कर्मकाण्डलाई अस्वीकार गर्दछ । यसको उत्पत्ति कसरी भयो भन्नेबारेमा फरक फरक मतहरू पनि देखिएका छन् ।

— कसैले भन्दछन्, यो पैगम्बर मुहम्मदको रहस्यात्मक ज्ञानको उपज हो जो कुरानमा लिपिबद्ध छ । यही कारणले सुफी सम्प्रदाय कुरानलाई पाठ्यपुस्तकका रूपमा लिन्छन् ।
— कसैले यसलाई हिन्दु धर्म र बौद्ध धर्मको प्रभावको अनुकरण ठान्दछन् ।
— कसैले यसलाई नियो–प्लेटोनिकको प्रभाव हो भन्ने मान्दछन् ।
— कसैले यसको विकास स्वतन्त्रपूर्वक भएको हो भन्ने मतमा विश्वास राख्दछन् ।

सुफी सम्प्रदायलाई हिन्दु र बुद्ध धर्मको प्रभाव रहेको भन्नुको कारण के हो भने हिन्दु धर्ममा ईश्वरको अस्तित्व सबै प्राणी, वनस्पति तथा हर वस्तुमा छ भन्ने सर्वेश्वरवादी चिन्तन रहेको छ । सुफीले पनि यस्तै ईश्वरको अस्तित्व सर्वत्र छ भन्ने सर्वेश्वरवादी चिन्तन राख्दछ । यस्तै बौद्ध र जैन धर्ममा कठोर तपस्याद्वारा ज्ञान प्राप्त हुन्छ भन्ने सिद्धान्त छ । महावीर र बुद्धले तपस्याबाट नै ज्ञान प्राप्त गरेका थिए भने यही रहस्यवादी मतमा सुफीहरू पनि विश्वास गर्दछन् । मुहम्मदले पनि तपस्याद्वारा नै यस्तो रहस्यवादी ज्ञान प्राप्त गरेका थिए । यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने बुद्धले अशुभलाई हटाउन आफू स्वयम् प्रयत्नशील रहनुपर्छ भनी अपो दीपो भवः भनेका थिए भने सुफी सम्प्रदायले अशुभलाई हटाउन ईश्वरमा मन लगाउनुपर्छ भनेका छन् ।

-नारायण अधिकारी ,  रिचमण्ड, भर्जिनिया