मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्युयोर्क   
मुख्य समाचार   

न्यूयोर्कमा उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि बिमर्श, द्वन्द्वको स्मरण

न्यूयोर्कमा उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि बिमर्श, द्वन्द्वको स्मरण

हिमालय खबर

शेयर गर्नुहोस:

270
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क(अमेरिका)- अमेरिकाको न्यूयोर्कमा बुधवार पत्रकार दीर्घराज उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि बिमर्श कार्यक्रम आयोजना गरियो ।

रिजउड नेपाली समाज र काठमाण्डौं फ्युजनको सहयोगमा सुदूर पश्चिम समाज अमेरिकाद्धारा न्यूयोर्कमा आयोजित पुस्तक बिमर्श कार्यक्रमका सहभागी वक्ताहरुले प्रवासमा रहेर १० वर्षे द्वन्द्वका नमिठा अनुभवहरु साटासाट गरे । र, आगामि समयमा त्यस्तो द्वन्द्व मुलुकले कहिल्यै नभोगोस भनेर कामना गरे ।

कार्यक्रममा बिशिष्ट अतिथि नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले पत्रकार उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमा एउटा पत्रकारले गरेको द्वन्द्वको अनुभव र मुलुकले भोगेको १० वर्षे द्वन्द्वको असरका बारेमा चित्रण गरिएको बताए ।

१० वर्षे द्वन्द्वबाट कुनै क्षेत्र पनि अछुतो रहेन, पत्रकारहरु पनि त्यसबाट प्रभावित भए, जसले आफ्नो ज्यान जोखिममा राखेर नागरिकलाई सुसूचित गरे, राज्य र बिद्रोही पक्षलाई नागरिकका मौलिक हकको रक्षाका लागि दवाव दिए, सभापति बिष्टले भने, यो पुस्तक त्यो समयको साक्षी हो । अहिले र भावी पुस्ताका लागि यो अध्ययन गर्ने महत्वपूर्ण दस्तावेज हो ।

उनले पत्रकार उपाध्यायले पत्रकारिता र साहित्यका माध्यमबाट समाज र राष्ट्रलाई पु¥याएको योगदानको प्रशंसा गरे । उनले भने, सुदूर पश्चिमको धनगढीबाट पत्रकारिता गर्दै आएको उपाध्यायको पत्रकारितासंगै साहित्य र समाजसेवामा बिशिष्ट योगदान कसैले बिर्सिन सक्दैन ।

उपाध्याय सुदूर पश्चिमका सवाललाई काठमाण्डौंसंग मात्र नभएर संसारसंग जोड्ने सशक्त पत्रकार हुन्, बिष्टले भने, जसले द्वन्द्वमा नागरिकका बाँच्न पाउने अधिकारका लागि लडे र शान्ति प्रकृयापछि सुदूर पश्चिमको विकास र समृद्धिका लागि निरन्तर रुपमा पैरवी गरे ।

कार्यक्रमका अतिथि साहित्यकार किसन सिंह धामीले पत्रकार तथा कवि उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकसंगै कविता संग्रह आमा म आउँदैछु कविता संग्रहका बारेमा टिप्पणी गरे ।

उनका कवितामा देश छ, देश प्रेम छ, नागरिकका पीडा छन्, आमा, छोरी र बुवाप्रति कविको अनुभूति छन्, कविता पढ्ने जो सुकै उनको अनुभूति आफ्नै जस्तो लाग्छ,धामीले भने, अत्यन्त सरल र सबैले बुझ्ने भाषामा लेखिएका उनका कविता सशक्त छन् ।

उनले पत्रकार उपाध्यायले मोफसलमा रहेर साहित्य,पत्रकारिता र समाजसेवाका माध्यमबाट बिशिष्ट पहिचान बनाएको बताए ।

कार्यक्रममा सहभागी मध्य अधिकांशले द्वन्द्वमा आफूले भागेको नमिठो पीडा र अनुभव सुनाए । कतिपयले आफू अपहरणमा परेको सुनाए । कतिपयले अपहरणबाट जोगिएर बाँचेको बताए । राज्य र माओवादी दुबै पक्षबाट प्रताडित भएका उनीहरुले फेरि द्वन्द्व नहोरियोस भनेर कामना गरे ।

कार्यक्रमका प्रमुख अतिथि पत्रकार उपाध्यायले पुस्तकमा पत्रकारिता र सिंगो देशले भोगेको द्वन्द्व र त्यसको असर समेटिएको बताए । उनले भने, एउटा पत्रकारको युद्ध रिपोर्टिङको अनुभव मात्र यो पुस्तकमा समेटिएको छैन, आम नागरिकले भोगेका पीडा पनि पुस्तकमा समेटिएको छ । अनाहकमा मारिएका, बेपत्ता पारिएका पत्रकार र आम नागरिक र तिनका परिवारका कथा, व्यथा र अनुभव पुस्तकमा समेटिएका छन् ।

उनले पत्रकारिताका विद्यार्थीका लागि मात्र नभएर अहिले र भावी पुस्ताका लागि यो पुस्तक द्वन्द्वका १० वर्षको अध्ययन सामग्री भएको बताए ।

यो पुस्तकमा आफ्नो ज्यान जोखिममा राखेर नागरिकको जीवन रक्षाका लागि पत्रकारहरुले निर्बाह गरेका संघर्ष र अनुभवका कथाहरु मत्र समेटिएका छैनन, देशले भोगेको द्वन्द्वको समग्र असर चित्रण गरिएको छ ।

द्वन्द्वका १० वर्षमा मुलुक निकै कठिनबाट गुज्रिएको स्मरण गर्दै पत्रकार उपाध्यायले त्यो कठिन घडीको दस्तावेजबाट आगामि पुस्ताले नेपाली समाजले भोगेको द्वन्द्व कति भयानक थियो भन्ने अनुभूति गर्ने बताए ।

कार्यक्रममा उपाध्यायले आफ्नो कविता संग्रहबाट मृत्युले भन्यो म छु नि त, छोरी र बा शिर्षकको कविता सुनाए ।

पत्रकार उपाध्यायले सुदूर पश्चिम समाज अमेरिकाद्धारा पुस्तक बिमर्शसंगै आफूलाई स्वागत तथा सम्मान गरिएकोमा आभार व्यक्त गरे ।

उनले कार्यक्रम आयोजनाका लागि सहयोग गर्ने रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, काठमाण्डौं फ्युजनका सञ्चालक जीवन बम र कार्यक्रममा सहभागी भएका सम्पूर्ण अतिथिहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, गैर आवासीय नेपाली संघ अमेरिकाकी उपाध्यक्ष लक्ष्मी थापा, सुदूर पश्चिम समाजका अगुवा मोहन सिंह बिष्टले पत्रकारिता र साहित्यका माध्यमबाट उपाध्यायले पुर्याएको योगदानको प्रशंसा गरे ।

कार्यक्रमका बिशिष्ट अतिथि बिष्ट, सुदूर पश्चिम समाजका अगुवा जीवन बम, हरिशचन्द्र हमाल, पूर्व अध्यक्षहरु राम बहादुर देउवा, गणेश बिष्ट लगायतले पत्रकार उपाध्यायलाई खाँदा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा सुदूर पश्चिम समाज अमेरिकाका उपाध्यक्ष नवीन ओझाले पत्रकारिता र सामाजिक क्षेत्रमा अढाई दशकदेखि सक्रिय उपाध्यायसंग माईती नेपालको धनगढीको प्रमुखका रुपमा आफू कार्यरत रहदा सहकार्य गरेको सुनाए । उनले भने, उपाध्याय हाम्रो पुस्ताका सशक्त पत्रकार हुन् । जसले सधै निर्भिक भएर पत्रकारिता गरे ।

कार्यक्रम सुदूर पश्चिम समाज अमेरिका न्यूयोर्कका अध्यक्ष दानसिंह बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष बिष्टले ऐतिहासिक पुस्तक द्वन्द्व पत्रकारिताको एक दशक र कविता संग्रह आमा म आउँदैछुका लागि उपाध्यायलाई बधाई दिनुका साथै पुस्तक बिमर्श कार्यक्रममा सहभागी भएकोमा सम्पूर्ण अतिथिलाई धन्यवाद दिए ।
कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष राईभान महराले गरेका थिए ।

पत्रकार उपाध्यायका चार वटा कृति प्रकाशित छन् । गत महिना उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक र आमा म आउँदैछु कविता संग्रह गरी दुई वटा कृति प्रकाशित भएका थिए ।

सुदूर पश्चिम समाज अमेरिकाद्धारा पत्रकार उपाध्यायलाई सम्मान
सुदूर पश्चिम समाज अमेरिकाले पत्रकार दीर्घराज उपाध्यायलाई बुधवार न्यूयोर्कमा सम्मान गरेको छ ।

सुदूर पश्चिम समाज अमेरिकाद्धारा बुधवार न्यूयोर्कमा आयोजित पत्रकार तथा कवि उपाध्यायलाई उनीद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकको बिर्मश कार्यक्रममा कदर पत्र र दोसल्ला सहित सम्मान गरिएको हो ।

समाजका अध्यक्ष दानसिंह बिष्ट, बिशिष्ट अतिथि नेपाली जन सम्पर्क समितिका सभापति आनन्द बिष्ट लगायत समाजका अगुवाहरुले समाजका तर्फबाट पत्रकार उपाध्यायलाई कदर पत्र र दोसल्ला सहित सम्मान गरेका हुन् ।

अढाई दशकदेखि सुदूरपश्चिमको धनगढीबाट पत्रकारिता गर्दै आउनुभएका पश्चिम टुडे मिडिया ग्रुपका प्रधान सम्पादक उपाध्यायले नेपाली पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारहरुको पेशागत हकहीत र अधिकारका लागि निर्बाह गर्नुभएको योगदानको उच्च प्रशंसा गर्दछौ, उपाध्यायलाई प्रदान गरिएको कदर पत्रमा भनिएको छ, द्वन्द्व पत्रकारिताको एक दशक, आमा म आउँदैछु लगायत चार वटा पुस्तकका लेखक तपाईले पत्रकारिता, साहित्य र समाजसेवाका माध्यमबाट सुदूर पश्चिम प्रदेशको नाम देशविदेशमा चिनाउनुभएकोमा हामी गौरवान्वित भएका छौ । सुदूर पश्चिम समाज अमेरिकाका हरेक अभियानमा तपाईबाट प्राप्त, साथ, सहयोग र सहकार्यका लागि आभार व्यक्त गर्दछौ ।

पत्रकारिता, साहित्य र समाजसेवाका क्षेत्रमा तपाईले पु¥याउनु भएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै सुदूर पश्चिम समाज अमेरिकाका तर्फबाट तपाईलाई यो कदर पत्र प्रदान गर्दछौ, अध्यक्ष दान सिंह बिष्ट र महासचिव हरीदत्त जोशीद्धारा हस्ताक्षरित कदर पत्रमा अगाडि भनिएको छ, आगामि दिनमा पनि पत्रकारिता र सामाजिक क्षेत्रमा यस्तै उत्कृष्ट कार्यको अपेक्षा गर्दै यहाँको सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ ।