मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मनोरञ्जन   
मुख्य समाचार   

यी हुन् अमेरिकाबाट निकालिएका तीजका गीत

यी हुन् अमेरिकाबाट निकालिएका तीजका गीत


ग्राफिक्स सौजन्य-किशन रेग्मी

हिमालयखबर संवाददाता-
ड्यालस (टेक्सस) । तीज पर्व महिलाहरुले दर खाने र महादेवको आरधाना गर्ने पर्वका रुपमा मात्र नभएर विगत केही वर्ष यता नयाँनयाँ गीत निकाल्ने अवसरका रुपमा समेत चिनिन थालेको छ ।

केही वर्ष यता तीज अाउन झण्डै डेढ महिना अघिदेखि तीजको माहौल सुरू हुन थालेको छ । यसरी सुरु हुने तीजको माहौलमा गीतले रौनकता थप्ने हुँदा सर्जक र गायकहरुले यही मेसोमा नयानयाँ गीत निकाल्न थालेका छन् । तीजलाई नयाँ गीत निकाल्ने अवसरका रुपमा सर्जक, गायकहरुले बनाउन थालेका छन् ।

यस वर्ष तीजको सेरोफेरोमा झण्डै एकसय ५० वटा गीतहरु सार्वजनिक भएका छन् । पहिले जस्तो क्यासेट, सिडी निकाल्न समय, ठूलो लगानी गर्न नपर्ने हुँदा युुटूबको माध्यमबाट तीजका नयाँनयाँ गीतहरु सार्वजनिक भएका छन् । नेपाल बाहिर बसेका गीत संगीतका पारखीहरुले समेत तीजको अवसर छोपेर गीत, भिडियो निकालेका छन् ।

चर्चित लोकगायक रामप्रसाद खनाल यतिखेर नेपाल पुगेका छन् । नेपाल पुगेर उनले ‘गाउँ शहर खाली हुन थाले बरै जतानि’ बोलको गीत निकालेका छन् । ‘सांरगी संसार’ युटुब च्यानल र आफ्नै नामको च्यानलबाट सार्वजनिक गरिएको उनको गीत दुबै तिर गरेर सवा दुईलाखले हेरिसकेका छन् ।

गीत संगीतमा रहेको आफ्नो लगावलाई नेपाल आएको समय पारेर तीजको गीत मार्फत सार्वजनिक गरिएको खनालले हिमालय खबरसँग बताए ।

ड्यालसमा रहेर तीजको गीत सिर्जना गर्नेमा लिलु गुरूङ्ग निकै अगाढी छिन् । उनी साहित्यकार पनि हुन् । उनले हरेक वर्ष तीजका गीत लेख्ने गरेकी छिन् ।

गुरूङ्गले यसवर्ष भने ‘यसो मेसो मिलाएर’ बोलको गीत युटुबमा सार्वजनिक गरेकी छिन् । अहिलेसम्म एकलाख १४ हजारले यो गीत हेरिसकेका छन् । गीतको भिडियो अमेरिकामै सुटिङ्ग गरिएको हो । टेक्ससको युलेसमा सुटिङ्ग गरिएको गीतमा स्थानीय कलाकारहरू देख्न सकिन्छ ।

गुरुङ्गले लामो समयदेखि तीजको गीतहरु लेखेर अन्य गायक गायिकालाई दिएपनि गत वर्षदेखि भने आफ्नै युटूब च्यानल मार्फत सार्वजनिक गर्न सुरू गरेकी हुन् । गत वर्ष तीजकै समयमा सार्वजनिक गरिएको ‘चोली पुरानै, साडी पुरानै’ गीतले निकै चर्चा कमाएको थियो ।

‘गीत आफैँले लेख्छु, तर पनि गायक गायिका, भिडियो निकाल्न समेत गर्दा ६/७ हजार डलर खर्च हुन्छ’ उनले भनिन् । अहिले तीजको गीतका नाममा विकृती फैलिएको देख्दा नमिठो लाग्ने उनले बताइन् ।

नेपालमा गीत रेकर्ड भएपनि अमेरिकामा रहेर तीजका गीतहरुको भिडियो बनाउँदै आएका अर्का व्यक्ति हुन् किशन रेग्मी । लामो समयदेखि अमेरिकाको ड्यालसमा बसेर पत्रकारितामा संलग्न रेग्मी गीतकार पनि हुन् ।

रेग्मीको निर्देशन र छायांकनमा तीजका दुइ गीत सार्वजनिक भएका छन् । ‘गम्किदे मादल’ र ‘जोर मादल’ बोलका दुबै गीतको छायाँकन टेक्ससको ड्यालसमा भएका हुन् ।

‘यी दुबै गीतको गीतकार, गायक गायिकलाई भुक्तानी लगायत सबै खर्च हाम्रो टीमले व्यहोरेर बनाएका हौ’ निर्माता मध्यका एक रेग्मीले हिमालयखबरसँग भने । भिडियोको लागि राष्ट्रिय रुपमा चर्चा कमाएका कलाकार नभै अमेरिकाको ड्यालसमा बस्ने कलाकारहरुलाई साथमा लिइएको छ । राष्ट्रिय कलाकारहरुको प्रयोग नगरेपनि अहिलेसम्मको अवस्थामा युटुबमा भ्युज हेर्दा निकै सन्तुष्ट छौ हाम्रो टीम रेग्मीले भने ।

गम्किदे मादल’को गायिका एलिना चौहान हुन् । उनी अष्ट्रेलियामा भएको समयमा त्यही गीत रेकर्ड गरिएको हो । ‘जोर मादल’मा भने रचना रिमालले स्वर दिएकी छिन् ।

यो गीतको भिडियोमा सबै डयालसका स्थानीय कलकारहरुले अभिनय गरेका छन् । आइशा ओझाको कोरियोग्राफी, मनोज धिताल र राजीब आचार्यको छायांकन रहेको गीतमा स्थानीय कलाकारहरु सरला खरेल, सञ्ज’ घिमिरे, स्वस्तिका घिमिरे, मिन’ ढकाल, हेमा कुबर लगायतले अभिनय गरेका छन् ।

ड्यालसबाटै ‘छमछम नाचौ बरिलै’ बोलको तीजको अर्को गीत पनि उत्पादन भएको छ । ‘वास्तवमा यो गीतको रचना मेरी आमा सरला चापागाईले गर्नुभएको हो । मैले गीतको अडियो, भिडियोको लागि आवश्यक रकम चाँही मैले खर्च गरेको हो’ छमछम नाचौ बरिलैकी निर्मात्री समिक्षा दाहालले भनिन् । झण्डै दुइ दशकदेखि अमेरिका बसेर साहित्यमा दाहाल निकै सकृय छिन् ।

अहिलेको बजारमा तीजका नाममा छाडा गीत बढी चल्ने देखियो । तर पनि अहिलेसम्म हाम्रो गीतलाई एकलाख ७८ हजार हेरिसक्नुभएको छ । यो हिसाबले हामी खुशी नै छौ दाहालले भनिन् ।

अमेरिकाबाट तीजको गीत संगितमा योगदान दिने अर्का व्यक्ति हुन् अशोक अर्याल । अर्यालले ‘अमेरिकामा घर छ’ बोलको गीत शान्तिश्री परियारसँग मिलेर गाएका छन् । यो गीतको दुइलाख ४७ हजार भ्युज नाघिसकेको छ ।

एनआरएन अमेरिकाकी पुर्ब उपाध्यक्ष राधा पौडेलले पनि तीजको गीत सार्वजनिक गर्ने तयारी गरेकी छिन् । मंगलबार मात्र फेसबुक मार्फत उनले ‘शीरफूलको चल्ती हरायो’ बोलको गीत ल्याउन लागेको जानकारी दिएकी छिन् ।

प्रवासमा सबैभन्दा लामो समयसम्म मनाउने पर्वका रुपमा तीज चिनिदै गएको छ । तीजको भोज र त्यो सँगसैगै हुने नाचगानमा अरु गीत भन्दा चेलीबेटी, माइती, आमा, सासुको कचकचलाई विषयवस्तु बनाइएको हुन्छ। त्यसो हुँदा यस्ता गीत बाहिर ल्याउन तीजमै मौसम कुर्ने गरिएको छ ।

बर्षेनी तीजको सन्दर्भ पारेर सयौ गीतहरु सार्वजनिक हुन्छन् । तर चेलीलाई तीज आएको भाव दिलाउने गीत भने चेतन कार्कीले तीन दशक अघि लेखेको ‘तीजको लहर आयो बरिलै’ अझै पनि त्यत्तिकै ताजा छ । चार वर्ष अघि दुर्गेश थापाले गाएको ‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ ले अलग्गै धार समातेको थियो । प्रवासबाट रचिएका,लगानी गरिएका तीजका गीतहरु छाडा र उत्ताउला नभएकोले प्रवासीहरुले भाषा, संस्कार, संस्कृति जोगाउन खेलेको भूमिका प्रति प्रशंसा भैरहेको छ । प्रवासबाट हुने सिर्जनाहरू छाडा शव्दले भरेर चाँडै हिट बनाउने र युटूबबाट मनीटाइज गर्ने भन्दा पनि नेपाली भाषा संस्कृति प्रति मायाँ गरेर हुने कारणले विशिष्ट महत्व बोकेका हुन्छन् ।