मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

मन्दिरलाई मानन्धर दम्पत्तिद्वारा एकलाख डलर दान

मन्दिरलाई मानन्धर दम्पत्तिद्वारा एकलाख डलर दान

उनी भन्छन्–मन्दिरलाई दिएर मेरो पैसा घटेको जस्तो लाग्दैन


ड्यालस (टेक्सस) । ड्यालसको सेरोफेरोमा बस्ने झण्डै १५ हजार नेपाली परिवारमध्य कम्तिमा ८० प्रतिशतको बार्षिक आम्दानी एकलाख डलर छ । मासिक आय एकलाख डलर भएकाहरुको संख्यानै औंलामा गन्न सकिँदैन । सूचना प्रविधि क्षेत्रमा तीनवटा जागिर भएका देखि लिएर दर्जनौ व्यबसाय भएकाहरु धेरै छन् ।

तर यी सबैलाई उछिन्दै एक नेपाली दम्पत्तिले पहिलो पटक युलेसमा निर्माणाधिन पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपाका लागि एकलाख डलर भन्दा धेरै सहयोग गरेका छन् । उनीहरुले एकलाख एकहजार एकसय ११ डलरको प्रतिवद्धता जनाएको छोटो समयमै सबै रकम तिरेर मन्दिरको सर्बोच्च सम्मान ‘वाल अफ अनर’ प्राप्त गरेका छन् ।

टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स अन्तरगत ह्वाइट सेटलमेन्टमा बसोबास गर्दै आएका शैलेन्द्र मानन्धर र उनकी पत्नी रमिता श्रेष्ठ मानन्धरले युलेसमा निर्माणाधिन मन्दिरका लागि सबैभन्दा पहिला एकलाख एकहजार एकसय ११ डलर चुक्ता गरेका छन् । ग्याँस स्टेशन, लिकर स्टोर, रियल स्टेट लगायतका व्यबसायमा संलग्न मानन्धर एकलाख डलर मात्र तिरेका छैनन् । हरेक हप्ता मन्दिरमा स्वयम्सेवा लगायत परिआएको जुनसुकै काममा पनि त्यत्तिकै खटिन्छन् । सदा हँसिलो अनुसार र उनको टिपिकल बोल्ने शैली (लवज) ले गर्दा धेरैले मन पराउँछन् ।

‘मैले दिएको एकलाख डलर नाघिसकेछ है ? त्यति धेरै रकम दिएको जस्तो लागेकै छैन’ उनले ठट्यौली पारामा भने ।

सुरुमा १० हजार डलर तिरेर ट्रष्टी सदस्य बन्ने बेलासम्म के हो ? के हो ? मन्दिर नबन्ने हो कि भन्ने डर उनमा थियो । तर अर्भिङ्को मन्दिर र अहिले युलेसमा भव्य ठाउँमा सरिसकेपछि उनलाई हरेक पटक मन्दिर आउँदा दिउँदिउँ, अझै थपौँथपौँ भन्ने लागिरहने कुरा उनी बताउँछन् ।

‘मन्दिरलाई एकलाख दिइसकेछु, अहिलेसम्म मेरो पैसा घटे जस्तो लाग्दै लाग्दैन । बरु बढेबढे जस्तो पो लागिराखेको छ’ उनले हिमालयखबरसँग भने । हप्तामा कम्तिमा ५ दिन उनी मन्दिरमा आइपुग्छन् । परिआएको जे सुकै काममा पनि उनी मनैदेखि खटिएका हुन्छन् ।

उनी भगवान प्रति अगाध आस्था राख्छन् । नेपालबाट आउँदा रित्तो हात आएको र अहिले व्यबसायमा सफल हुनुमा आफ्नो मेहनतका साथै भगवानको कृपा रहेको बताउँछन् ।

सन् १९९९ मा अमेरिका आएका शैलेन्द्र अहिले टेक्ससकै सफल व्यबसायी मध्यमा पर्छन् । ‘आउँदा खाली हात यो धर्तीमा आएको हो हामी सबै । कमाएको मध्य केही रकम यस्तो पवित्र ठाउँमा दिन पाउँदा मन खुशी हुन्छ’ उनी भन्छन् । अन्य धर्मावलम्बीहरुले आफ्नो आम्दानीको निश्चित अंश धार्मिक एवं सामाजीक कार्यमा लगाउनै पर्ने व्यबस्था हुन्छ । तर हिन्दु धर्ममा भने त्यस्तो व्यबस्था छैन । त्यसैले दान भन्ने कुरा हिन्दुधर्ममा स्वच्छामा आधारित छ ।

मन्दिरलाई एकलाख डलरको प्रतिवद्धता स्थानीय दुई चर्चित व्यबसायीहरुले पनि गरिसकेका छन् । व्यबसायीहरु कृष्णप्रसाद पन्त र विकल ढकालले एकलाख डलरको प्रतिवद्धता जनाएका छन् । एकलाख डलर सहयोग गर्नेलाई मन्दिरले ‘वाल अफ अनर’ ले सम्मान गर्ने नीति लिएको छ ।

युलेसमा पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुपा निर्माणको पहिलो चरण सकिएको छ । अब दोस्रो र तेस्रो चरणका मुख्य संरचनाका लागि ५० लाख डलर लाग्ने अनुमान गरिएको छ । यसका लागि नेपाली समुदायका हरेक परिवारलाई समेट्नेगरि नीति तथा कार्यक्रमहरु अघि बढाइएको मन्दिरका उपाध्यक्ष छवीमणि चापागाईले चर्चा गरे । कार्यक्रम अनुसार सदस्यता विस्तार र आउँदो अप्रिल महिनामा नौ दिने नवाह सञ्चालन गर्ने गरि अहिलेलाई मन्दिर केन्द्रित भएको छ ।

अहिलेसम्म मन्दिरका लागि एकहजार एकसय ९७ परिवारले आफ्नो पसिनाको कमाई सहयोग गरेका छन् । यी मध्य ५० हजार सहयोग गरेर प्याट्रोन बन्नेहरुको संख्या १७ छ । त्यस्तै तीनहजार पाँचसय सहयोग गरेर संस्थापक सदस्य हुनेको संख्या सबैभनदा धेरै ९ सय ६० रहेको छ । ट्रष्टी सदस्यहरुको संख्या एकसय ९० छ ।

‘हाम्रो ड्यालस फोर्टवर्थको वरिपरि बस्ने नेपाली परिवार सबैले तीनहजार पाँचसय तिरेर संस्थापक सदस्य बनिदिने हो भने हामीले सोचे अनुसारको भव्य पशुपतिनाथ मन्दिर र बुद्ध स्तुपा बनाउन कुनै गाह्रो काम होइन’ मानन्धरले भने । नेपालकै जस्तो पशुपतिनाथ मन्दिर र ठूलो गुम्बज सहितको जहाँ सयौँ मानिसहरु ध्यान गर्न मिल्छ त्यस्तो खालको स्तुपा बनाउने योजनामा मन्दिर व्यबस्थापन समिति छ । अमेरिकामा भरिकै नेपाली समुदायले बनाएको उत्कृष्ठ धामको रुपमा विकास गर्ने लक्ष्यमा समिति छ ।

‘सबैले मन्दिरलाई सहयोग गरिदिनुस् । तीनहजार पाँचसय तिरेर मन्दिरको सदस्यता लिँदा तपाईहरु सबैलाई आनन्दको महसुस हुन्छ, गर्व पनि लाग्छ । खाली हात यहाँ जन्मियौँ,  रित्तै जाने हो । मन्दिरमा दिएको दानले सन्तुष्टी त मिल्छ’ उनले भने–‘हाम्रो मन्दिर बनाउन नत अमेरिकी सरकार, नत नेपाल सरकारले बजेट दिन्छ, यो हामीले आफूआफूमा मिलेर उठाएरै बनाउनुपर्छ ।’