मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

राज्यलाई प्रेसमैत्री कानुन बनाउन दबाब दिनुपर्ने पत्रकारको जिम्मेवारी : अध्यक्ष पोखरेल

राज्यलाई प्रेसमैत्री कानुन बनाउन दबाब दिनुपर्ने पत्रकारको जिम्मेवारी : अध्यक्ष पोखरेल

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विपुल पोख्रेल

काठमाडौँ । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ चैत १६ गते आफ्नो स्थापनाको ६८औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासंघका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा संघका अध्यक्ष विपुल पोखरेलले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना वक्तव्यमा भनेका छन्, ‘संस्थाको स्थापनाकालदेखि आजसम्म आइपुग्दा बिभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दछु । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका क्रममा तथा आफ्नो कर्तव्य निर्वाहका क्रममा साहदत प्राप्त सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु । कोरोना महामारीलगायत विभिन्न स्वास्थ्य समस्याले यो वर्ष ज्यान गुमाएकाहरूप्रति पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवं नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको बताउँदै अध्यक्ष पोखरेलले यसमा हाम्रा अग्रजहरूको योगदान र महासंघको गौरवपूर्ण इतिहासप्रति महासंघ केन्द्रीय समिति गर्व गर्दछ भने । उनले भने, ‘आगामी दिनमा पनि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्त रूपमा लागिरहनुपर्ने आवश्यकताप्रति म यस अवसरमा सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले भनेका छन्, ‘नेपाल पत्रकार महासंघ नेपालकै पहिलो लोकतान्त्रिक चरित्रको नागरिक संस्था हो । यो संस्थाले आफूलाई समावेशी र सबैभन्दा पहिले संघीय ढाँचामा जाने संस्थाका रूपमा प्रस्तुत गरेको छ । यो हाम्रो गौरवको विषय हो । अब पनि समयानुकुल हुँदै समसामयिक सवालमा प्रभावकारी नेतृत्व गर्ने संस्थाका रूपमा महासंघलाई अगाडि बढाउने दायित्व हाम्रा माझमा छ ।’

अहिले मुलुक आर्थिक संकटमा रहेको र यसको असर नेपालको पत्रकारिता क्षेत्रमा पनि परेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले यस्तो अवस्थामा मुलुकको आर्थिक संकट निवारणका लागि मिडियाले पनि आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताएका छन् ।

उनले भने, ‘नेपालको सञ्चार क्षेत्रले यो बेला यो दायित्व निर्वाह गर्दै पनि आएको छ । आर्थिक संकटले पारेको यो असरलाई आवश्यक रणनीति निर्माण गरेर सम्बोधन गरेर श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै संचार संस्थाहरूको सवलीकरणको दिशामा काम गर्ने प्रमुख दायित्वका साथ यतिबेला हामी अगाडि बढ्न जरुरी देखिएको छ । यसका लागि राज्यको अभिभावकीय भूमिका आवश्यक पर्दछ ।’

उनले शुभकामना वक्तव्यमा भनेका छन्, ‘भर्खरै निर्वाचनहरू सम्पन्न भएका छन् । वडास्तरदेखि राष्ट्रपतिसम्मको निर्वाचनले यो वर्ष नयाँ आशा जगाएको छ । ताजा जनादेशसहित उपस्थित सरकार र संसद्ले मिडियाका सवालहरूलाई प्राथमिकतामा राख्नु भनी हामीले आवाज उठाउँदै र ध्यानाकर्षण गराउँदै आएका छौँ ।’

उनले अघिल्लो संसदमा बन्न नसकेका मिडिया सम्बन्धित कानुनहरू यो संसद्ले हाम्रो चाहना र अपेक्षाअनुसार निर्माण गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् । तर, विगतका अनुभव हेर्दा यो विषयमा विश्वास गरेरमात्र बस्न सक्ने अवस्था भने नरहेको बताउँदै निरन्तर खबरदारी गर्दै प्रेसमैत्री कानुन निर्माणका लागि दबाब दिनुपर्ने जिम्मेवारी पनि हामीले निर्वाह गर्नुपर्ने बताएका छन् ।

उनले महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवर्द्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आमसञ्चार प्राधिकरणजस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनर्संरचना, समानुपातिक विज्ञापनको कार्यान्वयन, श्रमजीवी पत्रकार कल्याण कोषमा विज्ञापनको १० प्रतिशत रकम राख्नुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, निःशुल्क उपचारको प्रबन्ध, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरूमा पुनः ध्यानाकर्षण गराएका छन् ।

प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना गरेको भन्दै उनले इन्टरनेट प्लेटफर्मको अत्याधिक सदुपयोग गर्दै त्यसमार्फत पत्रकारिताको विश्वासनीयता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनु जरुरी रहेको बताएका छन् । प्रविधिमैत्री पत्रकारिताका लागि राज्यले पनि आवश्यक वातावरण र अवसर निर्माण गर्नुपर्ने र आमसञ्चार प्रतिष्ठान स्थापना गरी पत्रकारिताका नयाँ आयाम र प्रविधिको प्रयोगबारे पत्रकारलाई दक्ष बनाउनका लागि राज्यसँग आग्रह गरेका छन् ।