वैदिक सनातन एवं हिन्दु धर्मले ब्रह्मालाई सृष्टिकर्ता, विष्णुलाई पालनकर्ता र शिवलाई संहारकर्ताको रूपमा अङ्गीकार गरेको छ । हिन्दु धर्मशास्त्रका अनुसार ब्रह्मा, विष्णु, महेश त्रिदेवहरु हुन् भने सरस्वती, लक्ष्मी र पार्वती त्रिदेवीहरु हुन् । यस धर्ममा आस्था राख्नेहरुले आ–आफ्नो मनवाञ्छित अभिलाषा बोकेर यिनै त्रिदेव र त्रिदेवीहरुका नाममा, व्रत, उपासना, पूजा–पाठ, विभिन्न धार्मिक अनुष्ठानहरु गर्ने गर्दछन् । स्वर्गका देवताहरु इन्द्रदेव, अरुणदेव, बरुणदेव, पवनदेव, कुवेर, अग्निदेवआदि नाम गरेका तेत्तीसकोटी देवताहरुलाई हिन्दु धर्मले दोस्रो दर्जाका देवताहरु हुन् भनेर किटान गरेको छ । ब्रह्मा, विष्णु, महेशलाई मूल देवताको रूपमा र अन्य देवताहरुलाई सहायक देवताको रूपमा मान्ने गरेको पाइन्छ ।
जन्म–जन्मान्तरदेखिका पापहरु नष्ट गर्न र इच्छित वर प्राप्त गर्नका लागि विशेष गरी कि शिवको कि त विष्णुको नै नाममा तपस्या, स्तुति, आराधना, व्रत–उपासना आदि गर्ने चलन छ । यी दुई देवतामध्ये पनि अधिकांश हिन्दु धर्मावलम्बीहरुले सजिला देवता भनेर शिवजीलाई नै रोज्ने गर्दछन् । शिवजी ज्यादै सरल स्वभावका छन् । यी झट्ट रिसाउने र झट्टै खुशी पनि भैहाल्ने खालका छन् । यसैले यिनलाई आशितोष, अन्तर्यामी भगवान् हुन् भन्ने गरिन्छ । आफ्ना भक्तहरुलाई वरदान दिँदा यिनले यो दिन हुन्छ, यो दिन हुन्न भन्नेबारे कुनै पर्वाह नगरी झ्याप्पै दिन्छन् । एकपटक विष्णुले जुक्ति कमाएर मोहिनी रूप धारण नगरेको भए भष्मासुरलाई यिनले दिएको वरदानले आफैँलाई भष्म पार्ने अवस्था आइलागेको थियो । त्यसैगरी रावणले यिनीसँग वर माग्दा पार्वती माग्यो, शिवले पनि आफ्नी पत्नी पार्वती रावणलाई झ्याप्पै दिए । विष्णु भगवान्ले यस कुराको पत्तो पाएपछि उनले अनेक जुक्ति गरेर सक्कली पार्वतीलाई फिर्ता गर्न लगाई खोपीमा लुकाएर राखेकी नक्कली पार्वती रावणलाई भिडाएका थिए । हिन्दु धर्मशास्त्रमा यस्ता अनगिन्ती उदाहरणहरु भेटिन्छन् । यसै कारणले गर्दाखेरि सम्पूर्ण देवताहरुमध्ये शिव भगवान् सबैको प्रिय बन्न सकेका हुन् । हिन्दु पञ्चाङ्गअनुसार विसं २०७९ सालको लागि यो पर्व आज फाल्गुण ६ गते धूमधामका साथ मनाइँदैछ ।
हिन्दु परम्पराअन्तर्गत देवी–देवताहरुका नाममा मनाइने चाडपर्वहरु धेरै छन्, जसमध्ये महाशिवरात्री पनि एक हो । यो पर्व हरेक वर्षको फाल्गुणमास कृष्णपक्ष त्रयोदशी तिथिका दिन पर्दछ । कतिपय हिन्दु धर्मवेत्ताहरुले यस महाशिवरात्री पर्वलाई शिव जन्मेको दिन हो भनेर भनेका छन् भने कतिपयले शिव–पार्वतीको विवाह भएको दिन हो भनेर भनेका पनि छन् । अरु कोही–कसैले आजको यसै दिनमा समुद्र मन्थन गर्दा निस्केको कालकुट विष शिवजीले तन्तनी पिएर यस धरतीका सम्पूर्ण प्राणीहरुको जीवन रक्षा गरेको दिनका रूपमा लिने गरेको पनि पाइन्छ । अर्को थरिको कथन छ– शिव भगवान् त अनादि र अनन्त हुन् । यिनको न उत्पत्तिको कुनै निशा–प्रमाण छ, न यिनको अन्त्य नै हुन्छ । जब–जब यस ब्रह्माण्डको उत्पत्ति भयो, त्यतिबेलै प्रकृति र पुरुषको रूपमा यस ब्रह्माण्डमा शिवत¤व अर्थात शिव¤वको प्राकट्य भएको हो । शिवलाई जन्माउने न कुनै माता–पिता छन्, न त यिनको कुनै थर–गोत्र नै छ । प्रकृति र पुरुष अर्थात यौटै शरीरमा महिला र पुरुष समाहित भएर प्राकट्य भएका एक अद्वितीय शक्तिस्वरुप हुन् शिव । यही शिवशक्ति स्वरुपको शिव¤व प्राकट्य भएको दिन महाशिवरात्रीको दिन हुनुपर्छ भनेर धर्मविद्हरुले आफ्नो तर्क पेस गरेका छन् । यसै तथ्यलाई आधार मानेर आज समस्त हिन्दु धर्मावलम्बीहरुले आ–आफ्नो ढङ्गले आ–आफ्नो क्षेत्रमा महाशिवरात्री पर्व बडो धूमधामका साथ मनाउने गर्दछन् ।
यस दिन नेपाल, भारत, पाकिस्तानलगायतका हिन्दु मुलुकहरुमा भएका शिव मन्दिरहरुमा विधिपूर्वक बडो भक्तिभावले शिव भगवान्को पूजा–अर्चना गर्ने गरिन्छ, शिवजीको प्रिय मानिने गाँजा, भाँङ, धतुरो मिसाएर पकाएको हलुवा, मनभोग, चिया, रोटी आदि सर्वप्रथम भगवान्लाई भोग लगाइन्छ र त्यसपछि उक्त प्रसाद त्यहाँ उपस्थित सबै भक्तजनहरुले खाने र खुवाउने गरिन्छ । वर, पीपल र शमीका समिधा तयार पारी शिवधुनी लगाएर रातभरि देवादिदेव महादेवका नाममा भजन–कीर्तनगरी समय बिताइन्छ । यस दिन शिव मन्दिरमा कोही–कसैले कसैलाई झुक्याएर गाँजा, भाँङ, धतुरो खुवाए पनि दोष नलाग्ने जनमानसमा कथन छ । भोलिपल्ट बिहान शिवधुनीबाट निस्केको खरानीको टीका निधारमा लाएमा शिवकृपाका कारण मोक्षगति प्राप्त गरिन्छ भन्ने जनविश्वास छ । नेपालको काठमाडौँस्थित पशुपतिनाथ क्षेत्र, पूर्वको हलेसी महादेव, देवघाटधाम आदिजस्ता धार्मिक स्थलहरुमा त टाढा–टाढाबाट आएका शिवभक्तहरु र साधु–सन्तहरुको ठूलो जमघट हुने गर्दछ । हिन्दु समाजमा शिवजीलाई यिनी त कालका पनि काल हुन् भनेर बुझ्ने हुनाले यिनको नाम महाकालेश्वर रहन गएको हो भन्ने भनाइ पनि छ । स्वच्छ भाव लिएर एकाग्र अभ्यासका साथ ॐ नमः शिवाय नामको पञ्चाक्षरी मन्त्रको नित्य जप, स्तुति गर्न सके शिवकृपाको वर्षा हुने र चिरायु, आरोग्य, ऐश्वर्य प्राप्ति हुने जनमानसमा धार्मिक विश्वास छ । यही मन्त्रको अखण्ड जपगरी शिव –पार्वतीको गुणानुवाद गाएर स्तुति–आराधना गर्दै मार्कण्डेयपुराणको रचना गरेका हुनाले शिव–पार्वतीकै अपार कृपाका कारण मार्कण्डेय ऋषि अष्टचिरञ्जीवीमध्येका एक हुन् सकेको कुरा हाम्रा धर्मशास्त्रहरुमा वर्णित छ ।
जसरी इन्द्रलाई स्वर्गका तेत्तीसकोटी देवताहरुका स्वामी मानिएको छ । त्यसैगरी महादेवलाई इन्द्रलगायतका स्वर्गका सम्पूर्ण देवताहरुका पनि देवता अर्थात स्वामी हुन् भनेर मानिन्छ । यसै कारणले गर्दाखेरि महादेवलाई देवादिदेव महादेव भनेर भन्ने गरिएको हो । दुष्ट जति सबैको संहार र सज्जनको सधैँ कल्याणै–कल्याण गर्ने शिव भगवान्को महिमाबारे शास्त्रमा भनिएको छ–
कर्पुर गौरम् करुणावतारम्, सन्सार सारम् भुजगेन्द्र हारम् ।
सदा वसन्तम् हृदयार वृन्दे, भवम् भवानी सहितम् नमामि ।।
भावार्थ : सूर्यको किरणका जस्तो सफेत वर्ण भएका, सबैको कल्याण चाहने, सारा जगत्का चराचर मालिक, बाघको छालामा शयन गरेका, पार्वतीका साथमा रहने शिवजी यस्ता तपाईंलाई हाम्रो हृदयमा बसिदिनका निम्ति हामी बन्दना गर्दछौँ, नमन गर्दछौँ, कीर्तन गर्दछौँ, स्तुति गर्दछौँ ।
शिव भगवान्ले सबैको हित चाहन्छन्, कसैको पनि अहित चाहँदैनन् । नन्दी, भृङ्गी, भूत, प्रेत, पिचाशादिका साथमा शिवजी प्रायःजसो सधैँ मसानघाटमा रमाएर बस्छन् । यहाँ मरेका मान्छेहरुको शरीर दाह गरेर निस्केको खरानी लेपन गर्न यिनले शौख ठान्दछन् । यसरी शिवले मसानघाटको खरानी (भष्म)आफ्नो शरीरमा लेपन गरिदिनाले त्यो खरानी ज–जसको शरीर दाह गरेर निस्केको हो, ती–ती जनको आत्मले उत्तमगति प्राप्त गर्दछ भन्ने शास्त्रीय मान्यता छ । मृत शरीरको शवदाह गरेर बाँकी रहन गएको अस्तु (सानो टुक्रा मासुसहितको हाड र खरानी) काशी, गया आदिजस्ता ठाउँमा लगेर सेलाइदिने, गङ्गानदीमा लगेर बगाइदिनाले उक्त व्यक्तिको आत्माले सद्गति प्राप्त गर्ने विश्वास लिइन्छ ।
शिवजीको नाम लिनेबित्तिकै काल अर्थात यमराज भयभीत हुन्छ । यसै कारणले गर्दाखेरि मृत्युन्मुख अवस्थाको मानिसको मुखमा शिवजीको ॐ नमःशिवाय नामक पञ्चाक्षरी मन्त्रको जप गर्दै जौ, तिल, कुश, तुलसीका पात, शालिग्राम मिश्रित पानी राखिदिनाले त्यस मानिसलाई यमराजका दूतको भय हुँदैन, यस्तो व्यक्ति मरेपछि तुलसीको डाँठ चितामा मिसाएर त्यस चितामा ॐ नमःशिवाय जप्दै त्यहाँ बेलपत्रका पात र पानी अर्पण गरी दाहसंस्कार गर्नाले त्यस्ता व्यक्तिको आत्माले उत्तमलोक प्राप्त गर्न सक्छ भन्ने जनश्रुति पनि छ । मृत्युलोकका कोही पनि मानिसलाई नरकको दुःख भोग्न नपरोस् भनेर शिवजीले मसानघाटको बास गरी त्यहाँको खरानी आफ्नो शरीरमा लेपन गरेर सबैको कल्याण गर्न चाहेका हुन् भन्ने जनबोली पनि छ ।
शिव विष्णुका आराध्यदेव हुन् भने विष्णु शिवका आराध्यदेव हुन् । यसरी विष्णु र शिव एकअर्कोका आराध्यदेव भएका हुनाले यिनीहरुबीच कुन ठूलो, कुन सानो भन्ने खालको कुनै भेद छैन । तर, पनि हिन्दु धर्मशास्त्रका विभिन्न पुराण र उपनिषद्हरुमा शिवजीको गुणानुवाद सर्वोपरि रहेको बताइएको छ । शिवजीलाई असहाय र अनाथहरु देवता, दानव, मानव, पशु, पक्षीहरु जति सबैका परम्देव हुन् भनेर पुकार्ने गरिन्छ । शिवमहापुराणको कोटीरुद् संहिताका अनुसार महाशिवरात्रि पर्व एक व्याधा (सिकारी) को कथासँग जोडिएको छ ।
सत्ययुग ताकाको कुरा हो, कुनै एक जङ्गलको बीचमा कुरुद्रुप नाम गरेको एक व्याधा रहन्थ्यो । उसको परिवार ठूलो थियो । जङ्गली जनावर मारेर त्यही मासु लगी यसले आफ्ना परिवारको पालन–पोषण गर्ने गर्दथ्यो । व्याधा हठ्ठा–कठ्टा र खुब बलियो थियो । मानिसहरुका धन–माल लुट्ने, चोरी गर्नेजस्ता नीच र घृणित कार्यहरु पनि यसले गर्ने गर्दथ्यो । जीवनभर राम्रो काम त्यस व्याधाले यौटा पनि गरेको थिएन । एकपटक शिवरात्रिको दिन परेको रहेछ । त्यस अधर्मीलाई थाहा–पत्तो हुने त कुरै थिएन । व्याधाले जङ्गलको जताततै डुल्दा पनि उक्त दिन कुनै प्रकारको जनावर सिकार गर्न नपाएको हुनाले यसै झोक्रिँदै, निरास भएर रित्तै आफ्ना घर फर्केर गएछ । त्यहाँ उसका घरमा परिवार जति सबै भोक र प्यासले तड्पिरहेका रहेछन् । आफ्ना परिवारको यस्तो हालतदेखि खट्न नसकेर व्याधाले खिन्न मन गर्दै आफ्ना खर–खजाना साथमा लिई केही त कतैबाट खोजी गरी ल्याउनै पर्ने भयो भन्ठानी घरबाट बाहिर निस्केछ ।
जाँदा–जाँदै अलिक पर ऊ एक तलाउका किनारमा पुगेछ । त्यहाँ पुगेपछि उसले मनमनले यस्तो ठानेछ– यस तलाउमा पानी खान भनेर कुनै न कुनै जनावर पक्कै पनि आऊलान्, तिनैलाई मारेर मैले मासु घर लिएर जाऊँला । यही कल्पना गर्दै तलाउको पानी आफ्ना भाँडामा भरेर त्यस व्याधा तलाऊ नजिकैको रुखमा चढेर यौटा हाँगामा जनावरको प्रतीक्षा गर्दै बसेछ । दैवसंयोग उक्त बोट बेलपत्रको रहेछ र त्यस बोटको फेदमा यौटा शिवलिङ्ग पनि रहेछ, जसका बारेमा त्यस पापी व्याधालाई केही थाहा पत्तो थिएन ।
दिन बितिसकेर रात परेपछि रातको पनि पहिलो प्रहर बित्न लाग्दा तलाउको पानी खान भनी एक हरिण त्यहाँ आएछ । यो देखेर व्याधा अति खुशी हुँदै त्यस हरिणलाई मार्न भनी आफ्नो धनुषमा बाँण सोझ्याएछ । उसले आफ्नो शरीर चल्बलाउँदा अचानक भाँडोमा भएको पानी र बेलपत्रका पात तल खसेर शिवलिङ्गमा पर्न गएछ, जसबाट शिवजीको पहिलो प्रहरको पूजा सम्पन्न हुन गएछ । यस कर्मले व्याधामा भएको २५ प्रतिशत दुष्टता नाश हुन गएछ । यता जब हरिणले तलाउको पानी खाँदै थियो, त्यसबेला रुखबाट पानी तल खस्दाको आवाजले तर्सिएर माथि हेर्दा बेलपत्रको बोटको हाँगामा बसेको व्याधालाई आफूतिर धनुष–बाँण खिचिरहेको देखेर हरिणले डराउँदै भन्न थाल्यो, ‘हे व्याधा ! तिमीले के गर्न चाहेका छौ, मलाई साँचो–सत्य भन ?’
यो सुनी व्याधाले भन्न थाल्यो, ‘मैले तँलाई मारेर तेरो शरीरको मासु लगी भोक र प्यासले तड्पिरहेका मेरा परिवारलाई खुवाएर भोक मेटाउन चाहेको छु । उनीहरुले हिजोदेखि केही खान पाएका छैनन् ।’
यो सुनी हरिणले भन्न थाल्यो, ‘मलाई मेरो बासमा एकपटक गएर मेरा बच्चाको हेरचाह गर्ने बन्दोबस्त मिलाई आउने समय देऊ, अनि मलाई मारौला ।’ यो सुनी व्याधाले भन्न थाल्यो, ‘बात गर्न त तँ निकै सिपालु रहिछस्, तँ आउँदै नआएमा मैले मेरा परिवारको भोक कसरी, के खुवाएर मेटाउन सकुँला ?’
यो सुनी हरिणी अगाडि भन्न थाल्छे, ‘जुन सत्य र धर्मले यो पृथ्वी अडिएको छ, समुद्र रहेको छ, झरनाबाट पानी खसेको छ, सूर्य–चन्द्रबाट प्रकाश मिलेको छ, वायु–आकाश छ, त्यही सत् र धर्मभित्र म पनि अडिएको छु, म कसैगरी आउँछु । यदि म यहाँ न–आएको खण्डमा जुन पाप व्रतबन्ध गरेको व्राह्मणले सन्ध्याकर्म नगर्दा, व्राह्मणले वेद बेच्दा, नारीले पतिको आज्ञाबिना स्वेच्छाचारी काम गर्दा, सनातन धर्म नमान्दा, अरुको उपकार नगर्दा, विश्वासघात गर्दा, भगवान् शिवको निन्दा गर्दा भोग्नुपर्ने हुन्छ, त्यही पाप म यहाँ नआएमा भोग्ने छु ।
हरिणीका यस्ता वाणी सुनेपछि व्याधाले उसलाई गएर छिट्टै आउने अनुमति दिन्छ । हरिणी त्यहाँबाट आफ्नो बासमा गएपछि व्याधासँग भएको बेलिबिस्तार सबै भन्छ । यो सुनेपछि त्यहाँ अब म जान्छु, अब म जान्छु भन्ने हरिणको परिवारबीच हानथाप हुन थाल्छ । यसपालि दोस्री हरिणी व्याधाका सामु आएर उपस्थित हुन्छे । रातको दोस्रो प्रहर बित्नलाग्दो समय भएको थियो । हरिणीलाई देखेपछि व्याधाले आफ्नो बाँण ऊतिर सोझ्याउन थाल्यो । व्याधाको चल्बलाईले पानीको भाँडाबाट पानी र बेलपत्रका पात सँगसँगै तल खसेर शिवलिङ्गमा अर्पित हुन जान्छन् र यस कर्मले शिवजीको दोस्रो प्रहरको पूजा सम्पन्न हुन्छ । यस कर्मबाट व्याधामा भएको ५० प्रतिशत दुष्टता नष्ट हुन जान्छ । यता दोस्री हरिणीले व्याधालाई देखेपछि डराउँदै भन्न थाल्छे, ‘हे व्याधा ! तिमीले मलाई के गर्न चाहेका छौ ? साँचो–सत्य भन् ।’
यो सुनी व्याधाले भन्न थाल्यो, ‘मैले तँलाई मारेर त्यो मासु लगी मेरा परिवारको भोक मेटाउन चाहेको छु । उनीहरु गएको बिहानदेखि भोकभोकै छट्पटिएका छन् ।’ यो सुनी हरिणी भन्न थाल्छे, ‘हे व्याधा ! मलाई एकपटक मेरा बाससम्म गएर बच्चाको हेरचाह गर्ने सर–सल्लाह गर्नका लागि समय देऊ । म कसैगरी छिट्टै फर्केर आउने छु, अनि मलाई मारौला ।’ यो सुनी व्याधाले भन्यो, ‘तैँले पनि खुब बाठा कुरा गर्न जानेकी रहिछस् । तँ अहिले मबाट फुत्केर जान खोजेकी छस्, तंँ गएर नआएमा मेरा परिवारको भोक मैले कसो गरी मेटाउन सकुँला ?’ व्याधाको यस्तो कुरा सुनेपछि हरिणीले अगाडि भन्न थाल्छे, ‘हे व्याधा ! जुन पाप शिवभक्त भएर पनि शिवको निन्दा गर्दा, माता–पिताको अनादर–अपमान गर्दा र उनीहरुलाई कल्पित दोष लगाउँदा, माता–पिताको निधनपश्चात् गर्नुपर्ने श्राद्धलगायतका कर्महरु नगर्दा, मनमा सन्ताप लिएर आफूले दिएको वचन पूरा नगर्दा, भोग्नुपर्ने हुन्छ सो पापको भागी म यहाँ फर्केर नआएमा हुनेछु । अहिले मलाई जान देऊ ।’
हरिणीका यस्ता घतलाग्दा बाणीहरु सुनेपछि व्याधाले उसलाई जान अनुमति दिन्छ । यो हरिणीले आफ्नो बासमा पुगेपछि व्याधासँग भएका सबै कुरा कहन्छे । हरिणीको परिवारबीच निकै ठूलो बहस हुन्छ, पहिली हरिणी र दोस्री हरिणी बच्चाको हेरचाहका निम्ति रहनुपर्ने निर्णय हुन गएपछि अब यसपालि हरिण स्वयं व्याधासामु जानका निम्ति तयार हुन्छ ।
यो समय रातको तेस्रो प्रहर बित्नलाग्दो अवस्थामा रहन्छ । हिरण जब तलाउको नजिक पुग्छ, व्याधाले उसलाई देख्छ । ऊ अति खुशी हुँदै अफ्नो धनुष–बाँण हरिणतिर सोझ्याउन थाल्छ । व्याधा चल्बलाएपछि पानीको भाँडामा धक्का पुग्नाले त्यहाँबाट पानी तल पोखिन्छ र साथमा बेलपत्रका पात पनि सँगसँगै झरेर शिवलिङ्गमा अर्पित हुन्छ । यो कर्मले शिवजीको तेस्रो प्रहरको पूजा सम्पन्न हुनजान्छ जसले गर्दा त्यस व्याधामा भएको पापकर्ममध्ये ७५ प्रतिशत नष्ट हुनजान्छ । यता हरिणले व्याधालाई देखेपछि डराउँदै भन्न थाल्छ, ‘ए व्याधा ! तिमीले के गर्न चाहेका छौ ? मलाई साँचो–सत्य बताऊ ।’
यो सुनी व्याधाले भन्न थाल्यो, ‘मैले तँलाई मारेर तेरो शरीरको मासु लगी मेरा परिवारको भोक–प्यास मेटाउन चाहन्छु । हिजोदेखि केही खान नपाएर मेरा जहान भोकले तड्पिरहेका छन् ।’
यो सुनेर हरिणले भन्न थाल्या, ‘मलाई एकपटक परिवारसँग गएर भेट भै बच्चाको हेरचाहबारे सल्लाह गर्ने समय देऊ । म जसरी भए पनि यहाँ आएर तिम्रासामु उपस्थित हुनेछु, अनिमात्र मलाई मारौला ।’
यो सुनी व्याधाले भन्न थाल्यो, ‘तँभन्दा अगाडि दुईटी हरिणी यहाँ मेरा सामुन्ने वाचा–कबुल गरेर गएका थिए, खोई अहिलेसम्म आएका छैनन् । तंँ पनि यस्तै मीठा–मीठा बात गरेर अहिले गई फर्केर आइनस् भने मैले मेरा परिवारको भोक के गरेर टार्न सकुला ?’
यो सुनी हरिणले अगाडि भन्न थाल्यो, ‘म मरेपछि यत्तिकै खेर जाने मेरो शरीरको यो मासुले कसैको भोक–प्यास मेटाउन पाउनु योभन्दा सौभाग्यको कुरा मेरा निम्ति के हुन सक्ला ? म कसै गरी यहाँ आउने छु । जुन सत्यले सारा ब्रह्माण्ड टिकेको छ, म पनि त्यही सत्यभित्रको एक प्राणी हुँ । यहाँबाट बेइमानी भएर म कहाँ र कुन ठाउँमा गई बाँच्न–बस्न सकुँला र ? सन्ध्याकालमा मैथुन गर्नेले, झुट्टो औषधि दिनेले, अरुको धन–सम्पत्ति, जाय–जेथा, धन–माल हडप गर्नेले, आफ्नो औकात हुँदा–हुँदै पनि अरुको उपकार नगर्नेले, शिवको नाम मुखबाट ननिस्कनेले, जुन–जुन पाप भोग्नुपर्ने हुन्छ, त्यही–त्यही पाप यहाँ म फर्केर नआएमा भोग्नेछु । अहिले मलाई जान देऊ ।’
हरिणका यस्ता दिव्यवाणीहरुले व्याधामा भएको शंङ्का र दुष्टता सँगसँगै नासिँदै जान थाल्यो । छिट्टोगरी आऊनू भन्दै उसलाई आफ्नो बाससम्म जाने अनुमति दियो । हरिण आफ्नो बासमा पुगेपछि परिवारबीच व्यापक छलफल भयो । उनीहरु सबैको मानसपटल पनि शिवकृपाले गर्दा उज्यालो र उदार भैसकेको थियो । हरिण, दुईटी हरिणी, एक बच्चा गरी चारवटै केही समयपछि त्यस तलाउको किनारमा आएर व्याधाले देख्नेगरी लस्करै लाएर खडा भए ।
यस बखत रातको चौथो प्रहर बित्नै लागेको थियो । व्याधाले चार–चार वटा हरिणहरु लस्करै लागेर निडर र निर्भीक भई उभिएका देखेपछि हर्षले छट्पटिँदै आफ्नो धनुषमा बाण सोझ्याउन थाल्दो भयो । ऊ चल्बलाउँदा पानीको भाँडामा ठक्कर पर्नाले त्यहाँबाट पानी अनि बेलपत्रका पात सँगसँगै तल खसेर शिवलिङ्गमा अर्पित भए । यस कार्यबाट शिवजीको चौथो प्रहरको पूजा सम्पन्न हुन गयो । जसपश्चात् व्याधामा निहित सबै दुष्टता नाश हुन गयो । आफ्ना खर–खजनाहरु बिसर्जन गरेर विशुद्ध आत्मका साथ रुखबाट तल ओर्लेर हरिणहरुसामु ऊ खडा भयो । यता उभिएर रहेका चार हरिणहरु प्रत्येकले मलाई मार मलाई मार भन्न थाले । ती हरिणहरुको यस्तो त्यागी र इमान्दारी स्वाभावबाट अतिप्रभावित हुँदै व्याधाले अगाडि भन्न थाल्यो, ‘हे जङ्गलबासी हरिणहरु ! तिमीहरु पशु भएर पनि जुन उदारता र इमान्दारिता देखायौ, म तिमीहरुदेखि अतिप्रभावित भएँ । मेरो मनमा भएको घृणित स्वभाव जति सबै तिमीहरुको कारणले नष्ट भएर गयो । तिमीहरुजस्ता निर्दोष प्राणीहरुलाई मारेर त्यही मासु भक्षण गरी मैले आफ्नो स्वार्थसिद्धि गर्न खोजेकोमा म आफूले आफैँलाई धिक्कार दिन चाहन्छु । मेरो यो मनुष्य चोला भएर पनि तिमीहरुको तुलनामा निरर्थक रहेछ । तिमीहरु सबै धन्य हौ । अब मेरा आँखा खुले, तिमीहरुलाई मैले मार्दिन । मबाट तिमीहरुलाई मार्ने अभिष्ट इच्छा हुन गएकोमा त्यसबापत म तिमीहरुसँग क्षमा माग्दछु । तिमीहरु प्रसन्न मन लिएर आफ्नो बासस्थानतिर जाऊ, मपनि आफ्नो घर जान्छु ।’
त्यस व्याधाका यस्ता वचन सुनेपछि बडो हर्ष मान्दै हरिण परिवार त्यहाँबाट आफ्नो बासतिर लागे । महाशिवरात्रिको अवसरमा बिहानदेखि भोकभोकै रातभरि जाग्रित भएर त्यस व्याधाबाट अञ्जानवश हुन गएको शिवपूजाबाट शिवजी अतिप्रसन्न भएर व्याधासामु प्रकट हुनुभयो र उसलाई ऐश्वर्य, सर्वसम्पन्नता र सौभाग्यको आशीर्वाद दिनुभयो, उसलाई गुह भनी नामाकरण गरिदिनु भयो, हरिण परिवारलाई मृत्युपश्चात उत्तम लोकप्राप्तिको आशीवाृद दिएर शिवजी त्यहाँबाट अन्तध्र्यान हुनुभयो । त्यस व्याधा आफ्नो घर पुग्दा शिवकृपाले गर्दाखेरि सबैथोक भरिभराऊ भएको पायो । व्याधा परिवारले आफ्नो जीवनमा सान्सारिक सुखभोग प्राप्तगरी मृत्युपश्चात सबैले शिवकृपाबाट उत्तमलोक प्राप्त गरे र उक्त व्याधा अर्को जुनीमा निशाध देशमा जन्मेर त्यहाँको राजा भई त्रेतायुगमा यस निशाधराज रामचन्द्र भगवान्को अति प्रियसखा बन्न सकेकोबारे बिस्तृत वर्णन रामचरित्र मानसमा भेटिन्छ ।
शिवलिङ्गलाई हिन्दु धर्मशास्त्रमा शिवशक्ति स्वरुपको प्रतीक मानिएको छ । जव शिवलिङ्गको पूजा–आराधना गरिन्छ, शिवजी स्वयंको पूजा सम्पन्न भएको ठानिन्छ । लिङ्गपुराणका अनुसार यस्तो शिवत¤व बोकेको शिवलिङ्गको फेद र टुप्पा कहाँसम्म फैलिएको होला भन्नेबारे जान्ने जिज्ञासा ब्रह्मा र विष्णुको मनमा उब्जेर एकपटक यस कुराको प्रस्ताव ती दुवैले भोलेनाथसमक्ष राखेछन् । महादेवले ब्रह्मालाई टुप्पो र विष्णुलाई फेद पत्ता लगाउन भनी त्यहाँबाट पठाएछन् ।
विष्णु भगवान् जल, स्थल, पाताल जतासुकै घुमेर व्यापक खोजी गरेछन्, शिवलिङ्गको फेद कतै पनि पत्ता लगाउन नसकेर शिवसमक्ष आई आफ्नो बयान जस्ताको तस्तै दिएछन् । उता ब्रह्माले भने शिवलिङ्गको शिर पत्ता लगाई त्यहाँ पुगेर गाईको दूध चढाएको र यस कार्यलाई प्रत्यक्ष देख्ने गाई र केतुकीको बोट छन् भनी उनीहरुलाई समेत साथमा लिएर शिवको अगाडि गई झुट्टा बयान गर्ने र गराउने गरेछन् । उनीहरुको यस्तो झुट्टो बयान सुनेपछि शिवजी क्रोधित हुँदै ब्रह्माको देवभाग हरण गरिदिएछन्, गाईलाई यसको बाणी अशुद्ध होस्, यसले बिष्टा खान परोस्, केतुकीलाई यसको फूल कुनै पनि कार्यमा नचढोस् भनी श्राप दिएछन्, विष्णु भगवान्लाई सत्य र निष्ठाका प्रतीक भगवान् भनी घोषणा गरेछन् जुनकुरा धेरैजसो हिन्दु धर्मशास्त्रहरुमा वर्णन भएको पाइन्छ ।
लिङ्गपुराणकै अनुसार यस धरतीमा शिवदम्पती (शिव र पार्वती)ले जहाँ–जहाँ आफ्नो लीला गरे, त्यहाँ–त्यहाँ लोककल्याणका निम्ति शिवदम्पती प्रत्यक्ष प्रकट भएर शिवज्योतिर्लिङ्ग स्थापित हुन गए । यसरी नेपाल र भारतका विभिन्न ठाउँमा गरी १२ ओटा ज्योतिर्लिङ्ग स्थापित भएका छन् जसमध्ये नेपालको पशुपतिनाथमा भएको ज्योतिर्लिङ्गलाई हिन्दु धर्मशास्त्रमा सर्वश्रेष्ठ स्थान दिइएको छ ।
शिव त¤वलाई शिवशक्तिको रूपमा मात्र नभएर महाशिवशक्तिको रुपमा लिइएको छ । शिवको गलामा सर्पको माला छ जो विषको प्रतीक हो, शिरमा चन्द्रमा छ, जो अंरित र शीतलताको प्रतीक हो । शिवको बाहन नन्दी (साँढे) हो भने पार्वतीको बाहन सिंह (बाग) हो । कात्र्तिकेयको बहान मयुर हो भने गणेशको बहान मुसा हो । शिव र उनका परिवारका बहानहरु एक–अर्काका शत्रु छन् । जब यी शिवशक्तिको समीपमा देखिन्छन्, यिनीहरुमा भएको भक्षण स्वाभावजति सबै नष्ट भएर जान्छ, जसको फलस्वरुप तिनीहरु एक–अर्काका परम मित्र बन्न पुग्छन् । यसरी दुर्गुण हटाएर सद्गुण, दूराचार हटाएर सदाचार अर्थात शिवशक्तिलाई सकारात्मक उर्जा एवं सोचका स्रोत भनेर अङ्गीकार गरिएको छ ।
स्वयं ब्रह्मा, विष्णुले यिनको बखान गर्न असमर्थ हुन्छन् भने अरु कसको के सामथ्र्य होला र ? यसैले भोलेनाथ देवी–देवताहरु, ऋषि–मुनिहरु, साधु–सन्तहरु, असुर, दैंत्य, दानव, मानव, पशु–पक्षी चराचर सबैका वन्दनीय मानिन्छन् । शिव योगका पनि स्वामी हुन्, यसैले यिनलाई योगेश्वर पनि भनिन्छ । हिन्दु धर्मशास्त्रमा शिवकृपा प्राप्त गर्ने धेरै प्रकारका तन्त्र–मन्त्रहरु छन्, जसमध्ये महामृत्युञ्जय मन्त्र र मृतसञ्जीवनी कवजलाई प्रमुख मानिन्छ । दैंत्यगुरु शुक्राचार्यले शिवजीका नाममा कठोर तपस्या गरेर मृतसञ्जीवनी बुटी प्राप्त गरी त्यही बुटी देवता र दैंत्यहरुबीच भएको युद्ध (देवासुर–सङ्ग्राम)मा मरेका सबै दैंत्यहरुलाई नाकमा लगी सुँघाएर पुनर्जीवित बनाएका थिए । अतः आउनुहोस्, महाशिवरात्रि जस्तो आजको यस पावन पर्वमा हामीले पनि आ–आफ्नो तर्फबाट देवादिदेव महादेव कैलाशपतिप्रति के–कति स्तुति, वन्दना, भक्ति–आराधना गर्न सामथ्र्य हुन्छौँ गरौँ । शिवकृपा प्राप्त गरी धन्य बन्न सकौँ, हामीहरुमा निहित नकारात्मक ऊर्जालाई निर्मूलपारी सकारात्मक ऊर्जाको निर्माण गर्न सकौँ, सबै हिन्दुहरुमा मेरो यही विनम्रतापूर्वक सादुभाव । अस्तु !
प्रतिक्रिया