बिजनेस/ इकोनोमी

शक्तिखोर औद्योगिक क्षेत्रको काम तीव्र बनाउन मन्त्री लम्सालको निर्देशन

शक्तिखोर औद्योगिक क्षेत्रको काम तीव्र बनाउन मन्त्री लम्सालको निर्देशन


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

चितवन । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चितवनको कालिका नगरपालिकास्थित शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण तथा सञ्चालन प्रक्रिया शीघ्र अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको प्रगति विवरणबारे जानकारी लिनुका साथै अन्तरमन्त्रालय समन्वयमार्फत आवश्यक प्रक्रिया छिटो टुङ्ग्याएर औद्योगिक क्षेत्र सञ्चालनतर्फ अगाडि बढ्न निर्देशन दिएका हुन् ।

Advertisement

सरकारको औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने तथा सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । चितवन उद्योग संघको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा विकास गर्ने योजना रहेको यो औद्योगिक क्षेत्र नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्रका रूपमा चिनिन्छ ।

देशको मध्यभागमा अवस्थित शक्तिखोरमा आधुनिक औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ व्यक्तिले रोजगारी पाउने र आयात प्रतिस्थापनमा समेत महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न इच्छुक व्यवसायीहरूले विगत आठ वर्षदेखि जग्गा उपलब्ध गराइदिन माग गर्दै चितवन उद्योग संघमार्फत आवेदन दिँदै आएका छन् । संघका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि आवेदन प्राप्त भइसकेको छ र ती आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ ।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन समेत स्वीकृत भइसकेको जनाइएको छ ।

यसै क्रममा मन्त्री लम्सालले चितवन उद्योग संघ परिसरमा निर्माणाधीन चितवन प्रदर्शनी केन्द्रको पनि अवलोकन गरेका थिए । उनले प्रदर्शनी केन्द्र तथा परिसरका अन्य भौतिक संरचनाको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजन भएको बजेट अपुग भए आवश्यक थप बजेटको व्यवस्था गरेर भए पनि आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिँदै मन्त्री लम्सालले पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

चितवनको औद्योगिक तथा व्यावसायिक विकासका लागि महत्त्वपूर्ण मानिएको शक्तिखोर औद्योगिक क्षेत्र र चितवन प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भएपछि जिल्लाको आर्थिक गतिविधिमा थप गतिशील बन्ने अपेक्षा गरिएको छ ।