बिजनेस/ इकोनोमी

‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’

‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालमा लगानीको वातावरण थप सहज, पारदर्शी र विश्वासयोग्य बनाउन सरकार निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले आयोजना गरेको ‘नेपाल–युके बिजनेस फोरम’लाई सम्बोधन गर्दै मन्त्री साहले नेपालमा संयुक्त लगानी, प्राविधिक साझेदारी तथा उत्पादनमूलक उद्योगका क्षेत्रमा लगानीका अवसर खोज्न बेलायती कम्पनीहरूलाई आग्रह गरेका हुन् ।

Advertisement

उनले नेपालका उदीयमान आर्थिक क्षेत्रहरूमा बेलायती लगानीकर्ताका लागि पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै नवीकरणीय ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, हरित प्रविधि, औद्योगिक विकास, दिगो पूर्वाधार र सेवा क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने बताए ।

मन्त्री साहले बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा संलग्न नेपाली डायस्पोरालाई पनि मातृभूमिमा लगानी गर्न आह्वान गरे । उनीहरूले आफ्नो व्यावसायिक अनुभव, प्रविधि, नवीन सोच र ज्ञान हस्तान्तरणमार्फत नेपाल र बेलायतबीच आर्थिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।

नेपाल र बेलायतबीच दुई शताब्दीभन्दा लामो मित्रता, आपसी सम्मान र सहकार्यको इतिहास रहेको उल्लेख गर्दै उनले अब यस सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

‘यो ऐतिहासिक सम्बन्धलाई अझ बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्ने अवसर छ, जसले उन्नत प्रविधि, जिम्मेवार लगानी र दिगो व्यापारलाई प्रवर्द्धन गर्न सकोस्,’ उनले भने ।

मन्त्री साहले लगानीका अवसर मात्रै पर्याप्त नहुने भन्दै लगानीकर्तामा विश्वास जगाउन नीतिगत स्थिरता, पारदर्शिता र सहज व्यावसायिक वातावरण आवश्यक रहेको बताए । यसका लागि वर्तमान सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै आवश्यक सुधारका काम अघि बढाइरहेको उनको भनाइ थियो ।

उनले निजी क्षेत्रले उठाउँदै आएका दोहोरो कर प्रणाली, कर नीतिमा पूर्वानुमानयोग्यता, नाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्ति संरक्षण र निर्यात सहजीकरणजस्ता विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको पनि स्पष्ट पारे ।