सूचना-प्रविधि

दूरसञ्चार सेवाको गुणस्तर सुधारमा सम्झौता हुँदैन : सञ्चारमन्त्री

दूरसञ्चार सेवाको गुणस्तर सुधारमा सम्झौता हुँदैन : सञ्चारमन्त्री


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौता नगर्न सेवा प्रदायक र नियामक निकायलाई निर्देशन दिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले गुणस्तरीय सेवा उपलब्ध गराउनु सबै पक्षको जिम्मेवारी भएको बताए ।

Advertisement

उनले लामो समयसम्म दूरसञ्चार क्षेत्रको ध्यान सेवा विस्तार र पहुँचमा मात्र केन्द्रित हुँदा गुणस्तरको पक्ष ओझेलमा परेको उल्लेख गरे । राजधानी काठमाडौंमै नियमित टेलिफोन सम्पर्क हुन नसक्नु र उपभोक्ताले प्रतिबद्धताअनुसारको इन्टरनेट गति नपाउनु गम्भीर समस्या भएको उनको भनाइ थियो ।

डिजिटल रूपान्तरणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले त्यसका लागि गुणस्तरीय इन्टरनेट तथा दूरसञ्चार सेवा अनिवार्य रहेको बताए । गुणस्तरीय सेवा विलासिता नभई नागरिकको न्यूनतम आवश्यकता भएको उनको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले सेवा प्रदायकले लागत घटाउने र नाफा बढाउने विषयलाई मात्र प्राथमिकता दिन नहुने बताए । अनुमतिपत्र तथा सम्झौतामा उल्लेख गरिएका प्रतिबद्धताअनुसार उपभोक्तालाई सेवा उपलब्ध गराएर मात्रै व्यवसायबाट नाफा कमाउनुपर्ने उनले स्पष्ट पारे ।

सेवा प्रदायक र नियामक निकाय दुवैमा जवाफदेहिताको संस्कृति विकास गर्नुपर्नेमा जोड दिँदै उनले कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि आवश्यक कारबाही गर्न प्राधिकरणलाई आग्रह गरे । अनुरोध र पत्राचारले मात्रै सेवा सुधार नहुने भन्दै उनले कानुनी अधिकार प्रयोग गरेर प्रभावकारी नियमन गर्नुपर्ने बताए ।

उनले दूरसञ्चार क्षेत्रमा सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँ बक्यौता नतिर्ने, अनुमतिपत्रको अवधि समाप्त हुँदासमेत सेवा तथा व्यवसाय विस्तार गर्ने र कानुनी दायित्व पूरा नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए । कानुनी तथा नीतिगत अस्पष्टता भए समयमै समाधान खोज्नुपर्ने भन्दै दायित्व पूरा नगरी पछि विभिन्न बहाना बनाउने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो ।

सरकार कुनै एउटा कम्पनीको पक्ष वा विपक्षमा नरहेको स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले समग्र दूरसञ्चार क्षेत्रको सुधार, स्वच्छ व्यावसायिक वातावरण र उपभोक्ताको हित सरकारको प्राथमिकता भएको बताए ।

दूरसञ्चार क्षेत्रलाई नागरिकले भ्रष्टाचार र अनियमितताको अखडाका रूपमा हेर्न थालेको उल्लेख गर्दै उनले यस क्षेत्रको छवि सुधार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । इन्टरनेटको मूल्य वृद्धिबारे गलत सूचना फैलाउने र बजारमा अफवाह सिर्जना गरी उपभोक्तालाई भ्रममा पार्ने गतिविधि पनि स्वीकार्य नहुने उनले बताए ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्नु सेवा प्रदायक, नियामक निकाय र सरकारको साझा जिम्मेवारी भएको बताए । यसका लागि तीनै पक्षबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

निर्देशन र निर्णयपछि पनि सेवाको अवस्थामा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै अध्यक्ष घिमिरेले अब नतिजामुखी कार्ययोजना आवश्यक रहेको बताए । समस्या पहिचान, समाधानका उपाय र सुधारको समयसीमा स्पष्ट हुने गरी प्रतिवेदन तयार गर्नुपर्ने उनले बताए ।

प्राधिकरणले निर्देशन दिने र सेवा प्रदायकले कार्यान्वयन गर्ने भनिए पनि सेवाको अवस्थामा सुधार नआए त्यसको औचित्य नहुने उनको भनाइ थियो । दूरसञ्चार सेवालाई चुस्त, गुणस्तरीय र भरपर्दो बनाउन प्राधिकरण आवश्यक समन्वय, सहयोग र सहजीकरणका लागि तयार रहेको बताउँदै उनले सेवा प्रदायकलाई सेवा विस्तार तथा गुणस्तर सुधारमा देखिएका समस्या स्पष्ट रूपमा प्रस्तुत गर्न आग्रह गरे ।