काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमनदी तीव्र गतिमा पग्लिँदै जाँदा हिमताल विस्फोटको जोखिम बढेपछि सरकारले जोखिम न्यूनीकरणका लागि करिब ७ अर्ब रुपैयाँको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ ।
हिमताल विस्फोटबाट आउने बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–ग्लोफ) तथा जलवायु परिवर्तनजन्य विपद्बाट जोखिममा रहेका समुदायको जीवन, जीविकोपार्जन र सम्पत्ति जोगाउने उद्देश्यले सातवर्षे परियोजना कार्यान्वयन गर्न लागिएको हो ।
परियोजनाअन्तर्गत उच्च जोखिममा रहेका चारवटा हिमतालको पानीको सतह घटाइनेछ । सोलुखुम्बुका होङ्गु–२ र लुम्दिङ छोल, सङ्खुवासभाको तल्लो बरुण तथा मनाङको ठुलागी हिमतालको सतह घटाउने योजना छ ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालका अनुसार प्रारम्भिक डिजाइनमा होङ्गु–२ को पानीको सतह एक मिटर र बाँकी तीनवटा हिमतालको सतह तीन–तीन मिटर घटाउने लक्ष्य राखिएको छ । परियोजनाले हिमतालको पानीको सतह घटाउनुका साथै निगरानी तथा पूर्वसूचना प्रणाली विकास गर्ने र तल्लो तटीय क्षेत्रमा जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नेछ ।
परियोजनाका लागि ग्रीन क्लाइमेट फन्ड (जीसीएफ) बाट ३६.१६ मिलियन अमेरिकी डलर अनुदान प्राप्त भएको छ । नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहवित्तीय योगदान १३.७८ मिलियन डलर रहनेछ । यसरी कुल ५० मिलियन अमेरिकी डलर अर्थात् करिब ७ अर्ब रुपैयाँ लागतमा परियोजना सञ्चालन हुन लागेको हो ।
परियोजनाको अवधि सात वर्ष रहनेछ । त्यसपछि थप सात वर्षसम्म सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी नेपाल सरकारले लिनेछ । परियोजनाबाट करिब २४ लाख मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
हिमनदी पग्लिने गति ६५ प्रतिशतले बढ्यो
हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तीव्र बन्दै जाँदा हिमनदी पग्लिने र हिमतालको आकार विस्तार हुने क्रम बढेको छ । यसले हिमताल विस्फोट तथा हिमपहिरोजस्ता विपद्को जोखिम थप बढाएको छ ।
कार्यकारी निर्देशक बरालका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा सन् २०११ देखि २०२० सम्मको दशकमा हिमनदी पग्लिने दर अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले तीव्र भएको छ । मनाङको ठुलागी हिमनदी मात्रै प्रतिवर्ष करिब ३० मिटरका दरले पछाडि हटिरहेको छ ।
सन् १९८७ देखि २०१७ सम्मको ३० वर्षमा हिमनदीजन्य तालहरूको समग्र क्षेत्रफलमा करिब २३ प्रतिशतले कमी आएको तथ्यांक रहेको उनले बताए ।
पछिल्ला छ दशकमा नेपाल र आसपासका क्षेत्रमा ३० भन्दा बढी हिमताल विस्फोटका घटना अभिलेख भएका छन् । तीमध्ये नेपालभित्र करिब १५, तिब्बत क्षेत्रमा ११ र अन्य क्षेत्रमा बाँकी घटना भएका छन् ।
सन् २०१६ मा भोटेकोशी क्षेत्रमा भएको हिमताल विस्फोटको उदाहरण दिँदै बरालले करिब ०.०१७ वर्ग किलोमिटर क्षेत्रफलको हिमताल विस्फोट हुँदा ११२ मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको जानकारी दिए ।
यूएनडीपी र इसिमोडले सन् २०२० मा गरेको अध्ययनले नेपालमा क्षति पुर्याउन सक्ने ४७ वटा उच्च जोखिमयुक्त हिमताल पहिचान गरेको थियो । तीमध्ये २१ वटा नेपालतर्फ, २५ वटा चीनको तिब्बततर्फ र एउटा भारततर्फ रहेका छन् ।
पहिचान गरिएका जोखिमयुक्त हिमतालमध्ये ४२ वटा कोशी बेसिनमा केन्द्रित रहेको बरालले बताए । उनका अनुसार हिमनदी पछाडि हट्ने र हिमतालको आकार बढ्ने क्रम जारी रहेकाले जोखिम न्यूनीकरणको काम ढिला गर्न नहुने अवस्था छ ।
नेपालले यसअघि सन् २००० मा छोरोल्पा र सन् २०१६ मा इम्जा हिमतालको जोखिम न्यूनीकरण गरेको थियो । तर, हिमालय क्षेत्रमा जोखिमको प्रकृति र गति बदलिँदै गएकाले अब छिटो र बृहत्तर रूपमा काम गर्नुपर्ने उनको भनाइ छ ।
चार हिमताल व्यवस्थापन गर्न १० वर्ष लागे बाँकीलाई दशकौँ लाग्छ : सिंह
जल तथा ऊर्जा आयोगका सचिव नवीनराज सिंहले हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्ने कामलाई तीव्रता दिनुपर्ने बताए ।
हालको कार्यशैली र लगानीको गति कायम रहेमा बाँकी जोखिमयुक्त हिमताल व्यवस्थापन गर्न दशकौँ लाग्न सक्ने उनको भनाइ छ ।
‘चारवटा हिमताल व्यवस्थापन गर्न अहिले सातदेखि १० वर्षको समय लाग्ने हो भने बाँकी १५ वटा व्यवस्थापन गर्न कम्तीमा ३० देखि ४० वर्ष लाग्न सक्छ,’ उनले भने, ‘त्यसैले सबै विकास साझेदार मिलेर आगामी सातदेखि १० वर्षभित्र जोखिमयुक्त हिमताल व्यवस्थापनको काम सम्पन्न गर्ने गरी अघि बढ्नुपर्छ ।’
सिंहले जलवायुजन्य विपद् व्यवस्थापनमा जलविद्युत् विकासकर्तालाई समेत सहभागी गराउनुपर्ने बताए । नदी करिडोरमा रहेका जलविद्युत् आयोजनासँग निगरानी केन्द्र, सञ्चार प्रणाली र प्रभावित समुदायसम्बन्धी तथ्यांक रहेकाले तिनलाई पूर्वसूचना प्रणालीमा उपयोग गर्न सकिने उनको भनाइ छ ।
जलविद्युत् कम्पनीसँग सहकार्य गरेर नदी करिडोरमा निगरानी केन्द्र विस्तार गर्ने र जोखिममा रहेका समुदायसम्म समयमै सूचना पुर्याउने संयन्त्र विकास गर्नुपर्ने उनले बताए ।
प्रदेश र स्थानीय सरकारको सहभागिता माग
कोशी प्रदेश सरकारका सचिव इन्द्रप्रसाद सापकोटाले परियोजनामा प्रदेश र स्थानीय सरकारलाई पनि प्रत्यक्ष सहभागी गराउनुपर्ने बताए ।
परियोजनाले कोशी बेसिनलाई प्राथमिकतामा राखेकोमा खुशी व्यक्त गर्दै उनले विपद् व्यवस्थापन, उद्धार तथा प्रभावित समुदायसँगको समन्वयमा स्थानीय र प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने बताए ।
प्रदेश सरकारले पहिचान गरेका जलवायु परिवर्तन, विपद् तथा हिमताल विस्फोटसम्बन्धी १० वटा प्राथमिकताका कार्यक्रमलाई पनि परियोजनामा समेट्न उनले आग्रह गरे ।
विपद् न्यूनीकरणका लागि उपलब्ध बजेट स्थानीय तहसम्म पुर्याएर प्रभावकारी रूपमा खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ । खरिद प्रक्रियासँग सम्बन्धित नीतिगत अवरोधका कारण कतिपय अवस्थामा बजेट खर्च गर्न समस्या भइरहेको उनले बताए ।
चारवटा हिमतालमा मात्रै सीमित नहोस् परियोजना
ग्रीन क्लाइमेट फन्ड सचिवालयका प्रतिनिधि डा. वाफोन फकरुद्दिनले परियोजना चारवटा हिमतालको जोखिम न्यूनीकरणमा मात्रै सीमित हुन नहुने बताए ।
नेपालमा पहिचान भएका अन्य २१ जोखिमयुक्त हिमतालमध्ये हालको परियोजनाले नसमेटेका १७ वटा क्षेत्रमा पनि लगानी विस्तार गर्ने आधार तयार गर्नुपर्ने उनको सुझाव छ ।
त्यसका लागि वैज्ञानिक अध्ययन, प्रमाणमा आधारित योजना, विकास वित्तीय संस्थासँगको साझेदारी र थप वित्तीय स्रोत परिचालन आवश्यक रहेको उनले बताए ।
फकरुद्दिनले परियोजनाबाट प्राप्त अनुभवलाई मध्य एसिया, ल्याटिन अमेरिका तथा अन्य हिमनदीजन्य जोखिम भएका क्षेत्रमा समेत विस्तार गर्न सकिने बताए । हिन्दुकुश हिमालय क्षेत्रमा नेपालसँगै छिमेकी मुलुकहरू पनि समान प्रकृतिका जोखिममा रहेकाले सीमापार सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
उनले परियोजना तत्काल कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिँदै पहिलो किस्ताको रकम यूएनडीपीमा निकासा भइसकेको जानकारी दिए ।
जलवायु परिवर्तनको प्रभाव हिमताल विस्फोटमा मात्र सीमित नरही कृषि, पर्यटन, जैविक विविधता, स्वास्थ्य र जलस्रोतमा समेत देखिन थालेको छ । तराईमा खडेरी र बाढी, हिमाली क्षेत्रमा हिमपहिरो तथा हिमतालजन्य विपद् र खराब मौसमका कारण पर्यटन गतिविधिमा समेत असर परेको बरालले बताए ।
नेपालको कमजोर भूगर्भीय संरचना, भूकम्पीय गतिविधि, नदी करिडोरमा बढ्दो आर्थिक गतिविधि तथा जोखिमसम्बन्धी सूचनाको अभावले विपद्को सम्भावित क्षति थप बढाउन सक्ने देखिएको छ ।
यस्तो अवस्थामा ‘सञ्जीवनी’ परियोजनाले चारवटा हिमतालको जोखिम घटाउने कामसँगै पूर्वसूचना प्रणाली, स्थानीय समुदायको सुरक्षा र दीर्घकालीन जलवायु उत्थानशीलतामा कस्तो प्रभाव पार्छ भन्ने विषय यसको कार्यान्वयनसँग जोडिएको महत्वपूर्ण प्रश्न हुनेछ ।













प्रतिक्रिया