बिजनेस/ इकोनोमी

खराब कर्जा असुलीमा अर्थमन्त्री डा. वाग्लेको जोड

खराब कर्जा असुलीमा अर्थमन्त्री डा. वाग्लेको जोड


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको काठमाडाैंमा उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे ।

नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज बैंकिङ सेवा उपलब्ध गराउनुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड दिए । उनले नेपाल सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेका तीन बुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

Advertisement

बैंकको काम कारबाही पारदर्शी बनाई जनविश्वास कायम राख्न, संस्थागत कमजोरी सुधार गर्न तथा तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्ने अर्थमन्त्री वाग्लेले बताए । आगामी दिनमा डिजिटल बैंकिङको विस्तार, लघु, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्रको प्रवर्द्धन तथा वित्तीय साक्षरता अभिवृद्धिमा बैंकले प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा बैंकिङ इतिहासको सुरुवात गर्दै स्थापना भएको यस बैंकले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र पुँजी निर्माणका साथै मुलुकको औद्योगिक तथा व्यापार व्यवसायको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको बताए ।