काठमाडौँ । तिहार, नेपाल संवत् तथा छठ पर्वलाई सुरक्षित, सभ्य र मर्यादितरूपमा सम्पन्न गराउन नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ ।
चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाएको छ। सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार क्षेत्रमा निगरानी र जाँचलाई तीव्र बनाइएको छ।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले तिहारमा बालिने दियो, बत्ती र पटकाबाट हुनसक्ने आगलागी तथा दुर्घटनालाई ध्यानमा राखी दमकल र विपद् व्यवस्थापन टोलीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिए। देउसी-भैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ।
पटकालगायत प्रज्ज्वलनशील तथा विस्फोटक पदार्थको अवैध ओसारपसार, भण्डारण र बिक्रीवितरण रोक्न सीमानाका र बजारमा विशेष ‘चेकिङ’ टोली परिचालन गरिएको छ। अनियन्त्रित मादक पदार्थ सेवन, जुवातास, घरेलु हिंसा र चर्को आवाजमा डिजे बजाउनेजस्ता गतिविधि नियन्त्रण गर्न सादा पोसाकमा समेत प्रहरी खटाइएको छ।
साथै, मेला तथा सार्वजनिक स्थलमा पूजा सामग्री र प्लास्टिकको अव्यवस्थित विसर्जनबाट हुने प्रदूषण रोक्न चेतनामूलक अभियान चलाइएको छ। कुनै पनि दुर्घटना, आगलागी वा अवैध गतिविधि देखिएमा तत्काल प्रहरीको हटलाइन १०० मा खबर गर्न र ढुक्क भएर चाडपर्व मनाउन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।













प्रतिक्रिया