काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा पार्टी प्रत्यक्षतर्फ नौ सिटमा सीमित हुनु अकल्पनीय हार भएको बताएका छन् । निर्वाचन परिणामले पार्टीको राजनीतिक आधार र सङ्गठनात्मक अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता देखाएको उनको भनाइ छ।
बुधबार काठमाडौँमा आयोजित प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विगतका राजनीतिक तथा शासकीय अनुभवबाट पाठ सिक्दै पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताए।
गत भदौ २३ र २४ गतेका घटनाले एमालेको राजनीतिक जीवनमा ठूलो धक्का पुर्याएको उल्लेख गर्दै उनले त्यसपछिको राजनीतिक परिस्थितिले पार्टीको भविष्यबारे गम्भीर प्रश्न खडा गरेको बताए। ती घटनापछिको अवस्थालाई पार्टीले प्रतिगमनतर्फ उन्मुख राजनीतिक परिस्थितिका रूपमा विश्लेषण गरेको उनको भनाइ थियो।
फागुन २१ गते सम्पन्न निर्वाचनमा विगतका काम र उपलब्धिका आधारमा जनसमर्थन पुनः प्राप्त हुने अपेक्षा गरिए पनि परिणाम त्यसअनुरूप नआएको पोखरेलले स्वीकार गरे।
‘भदौ २३ र २४ गतेका घटनापछि पार्टीले ठूलो राजनीतिक धक्का व्यहोर्नुपर्यो। फागुन २१ गतेको निर्वाचनमा अपेक्षाअनुसार परिणाम आउन सकेन र पार्टी प्रत्यक्षतर्फ नौ सिटमा सीमित भयो,’ उनले भने।
निर्वाचन परिणामपछि पार्टीले समीक्षा र पुनर्गठनको प्रक्रिया अघि बढाएको जानकारी दिँदै पोखरेलले निर्वाचन परिचालन कमिटीमार्फत कार्यकर्ताका सुझाव सङ्कलन गरिएको बताए। त्यसपछि सचिवालय बैठकले पार्टी पुनर्गठनसम्बन्धी कार्यदल गठन गरेको उनको भनाइ थियो।
कार्यदलले प्राप्त सुझावका आधारमा ४० बुँदे संकल्प प्रस्ताव तयार गरेको र केन्द्रीय कमिटीको तेस्रो बैठकले आगामी राजनीतिक तथा संठनात्मक कार्यदिशाका लागि दुई प्रमुख कार्यभार र १५ वटा कार्ययोजना अघि सारेको उनले जानकारी दिए। एमालेले निर्वाचन समीक्षापछि दुई प्रमुख कार्यभार र १५ सङ्गठनात्मक कार्य अघि सारेको विषय यसअघि पनि सार्वजनिक भएको थियो।
महासचिव पोखरेलले संविधानसभाबाट संविधान जारी भएपछि केपी शर्मा ओलीको नेतृत्वमा बनेको नौ महिने सरकारले भारतीय नाकाबन्दीको सामना गर्दै जनतामा आशा र विश्वास बढाएको दाबी गरे। उक्त सरकारका कामले वामपन्थी जनमत विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको उनको मूल्यांकन थियो।
तर, त्यसपछिका सरकारहरूले केही महत्त्वपूर्ण काम गरे पनि वामपन्थी जनमत विस्तार गर्न नसकेको उनले बताए। विशेष गरी २०७४ सालमा गठन भएको शक्तिशाली सरकारले समेत जनसमर्थन बढाउन नसक्नुका कारण खोज्नुपर्ने उनको भनाइ थियो।
विगतमा वामपन्थी शक्तिले प्राप्त गरेको जनसमर्थन र त्यसपछिको राजनीतिक अवस्थाबीच तुलना गर्दै पोखरेलले पार्टीको लोकप्रियता घट्नुका कारण वस्तुनिष्ठ रूपमा पहिचान गर्नुपर्ने बताए। कमजोरी स्वीकार गरेर सुधारको बाटो अपनाउन सके मात्रै राजनीतिक चुनौती सामना गर्न सकिने उनको धारणा थियो।
उनले पार्टीभित्र वैचारिक स्पष्टता, राजनीतिक एकता र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। विगतका उपलब्धि र कमजोरीको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।
समाजवाद निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्न पार्टीको आन्तरिक एकता र राजनीतिक कार्यदिशा स्पष्ट हुनुपर्ने उल्लेख गर्दै पोखरेलले निर्वाचन परिणामबाट पाठ सिकेर संगठनलाई पुनः सक्रिय बनाउनुपर्ने बताए।













प्रतिक्रिया