कपिलबस्तु । नेपाल र भारतका सुरक्षा निकायबीच सीमा क्षेत्रमा हुने अपराध तथा अवैध गतिविधि नियन्त्रणका लागि समन्वय र सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सशस्त्र प्रहरी बल विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा यहाँ सम्पन्न दशौँ प्रहरी नायब महानिरीक्षकस्तरीय समन्वयात्मक बैठकमा उक्त प्रतिबद्धता व्यक्त भएको हो । बैठकमा नेपाली पक्षको नेतृत्व सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारी र भारतीय पक्षको नेतृत्व सशस्त्र सीमा बलका डिआइजी बी विक्रमनले गरेका थिए ।
बैठकमा मानव तस्करी, लागूऔषध ओसारपसार, नक्कली मुद्रा कारोबार, चोरी निकासी तथा पैठारी र तेस्रो मुलुकका नागरिकको गैरकानुनी प्रवेश नियन्त्रणका विषयमा छलफल भएको नायब महानिरीक्षक अधिकारीले जानकारी दिए ।
उनका अनुसार सीमा क्षेत्रमा संयुक्त गस्ती, सूचना आदानप्रदान तथा सीमा स्तम्भको मर्मत सम्भारलाई प्रभावकारी बनाउने सहमति भएको छ । दुवै देशका सुरक्षा निकायबीच संयुक्त अभियान र खेलकुद गतिविधिलाई निरन्तरता दिइनेछ ।
बैठकमा गत वैशाख २२ गते भारतको रुपैडिहामा सम्पन्न नवौँ बैठकका निर्णयको समीक्षासमेत गरिएको उनले बताए । सहमतिका विषय कार्यान्वयन गर्न दुवै पक्ष सक्रिय हुनुपर्नेमा बैठकमा जोड दिइएको नायब महानिरीक्षक अधिकारीले जानकारी दिए । उनले भोटेकोशी बाढीपछि भारत सरकारले गरेको सहयोग तथा बाढीमा बगेका शवको खोजी र हस्तान्तरणमा सशस्त्र सीमा बलले पुर्याएको सहयोग प्रति धन्यवाद ज्ञापन गरे ।
भारतीय पक्षका डिआइजी विक्रमनले डिजिटल बोर्डर र बाहिनीस्तरमा सूचना आदानप्रदानका लागि अनौपचारिक संयन्त्र विकास गर्ने प्रस्ताव राखेको जानकारी दिइएको छ । बैठकमा दुवै देशका सीमावर्ती सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो ।













प्रतिक्रिया