अमेरिका, बोस्टन। ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि)को वार्षिक साधारण सभा तोकिएको मितिमा सम्पन्न हुन सकेन। अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन स्थित प्रवासी नेपालीहरुको यस संस्थाले गत नोभेम्बर १, २०२६ आइतबार वार्षिक साधारण सभा गर्ने भनी पहिलो सूचना जारी गरेको थियो। तर, उक्त दिन संस्थाको विधान अनुसार साधारण सभा सञ्चालनका लागि उपस्थित हुनुपर्ने सदस्यहरुको गणपूरक (कम्तिमा ५१ प्रतिशत) संख्या नपुगेका कारण साधारण सभा हुन नसकेको संस्थाका अध्यक्ष सन्दिप भट्टराईले बताए।
पहिलो सूचना अनुसार उक्त साधारण सभा हुन नसकेपछि आगामी नोभेम्बर १५,२०२६ आइतबारका दिन गर्ने गरी दोस्रो सूचना जारी गरिएको छ। संस्थाका महासचिव अजय ढकालद्वारा जारी गरिएको सूचना अनुसार, 594 Washington Street, Braintree स्थित नेपालीहरुको सामुदायिक भवनमा हुने गरी तयारी गरिएको उक्त साधारण सभामा उपस्थित भइदिन सबै सदस्यहरुलाई विशेष अनुरोध गरिएको छ।

संस्थाद्वारा सम्पन्न गतिविधिहरु, आय-व्ययहरु, आगामी वर्षका लागि वार्षिक कार्ययोजना, नयाँ कार्यसमिति चयनलगायत विषयहरु साधारण सभाका छलफलका मुख्य विषयहरु बन्ने भएको छ। यि विषयहरुमा तयार पारिएका प्रतिवेदनहरु साधारण सभाको दौरानमा कार्यसमितिको तर्फबाट छलफलसहित अनुमोदनका लागि प्रस्तुत गरिने, सदस्यहरुकाबीच छलफल हुने, छलफल पश्चात् अनुमोदन गरिने र अन्य महत्त्वपूर्ण विषयहरुमा आवश्यक निर्णय गर्ने गरी साधारण सभाको कार्यतालिका बनाइएको अध्यक्ष भट्टराईले जानकारी दिए।
यसैबीच , संस्थाको विधान अनुसार अध्यक्ष सन्दिप भट्टराईको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको दुई वर्षीय कार्यकाल (२०२४-२०२६) सकिन लागेको र आगामी दुइ वर्षीय कार्यकाल(२०२६-२०२८)का लागि नयाँ कार्यसमिति चयन गर्नु पर्ने भएकाले, त्यसका लागि प्रक्रिया अगाडि बढाउन साधारण साभाले निर्वाचन समिति गठन गरी आवश्यक कार्यादेशसमेत दिने जनाइएको छ।
नेपालीहरुलाई संगठित गरी सामुदायिक उत्थानका लागि यथाशक्य काम गर्ने मूल उद्देश्यका साथ सन् १९८९ मा स्थापित यो संस्था न्यू इङ्गल्याण्ड क्षेत्रकै सबैभन्दा पुरानो नेपाली समुदायको संस्था हो। संस्थामा हाल पाँच सय ५६ जना साधारण सदस्यहरु र एक सय ३६ जना आजीवन सदस्यहरु गरी कूल छ सय ९२ जना सदस्यहरु रहेका छन्।













प्रतिक्रिया