तेहरान । इरानले अमेरिकासामु एउटा नयाँ सम्झौताको प्रस्ताव राख्दै आवश्यक सर्त पूरा भए एक साताभित्र होर्मुज स्ट्रेट पुनः खोल्न सकिने जनाएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार अमेरिकाले सम्झौतामा उल्लेख गरिएका आवश्यक सर्त पूरा गरेपछि मात्रै होर्मुज स्ट्रेट खोल्ने प्रक्रिया सुरु हुनेछ । यद्यपि उनले ती सर्तहरूको विस्तृत विवरण सार्वजनिक गरेनन् ।
अराघचीले ती सर्तहरू जुनमा अमेरिका र इरानबीच भएको समझदारीपत्र ९एमओयू० मै उल्लेख रहेको बताए । उनका अनुसार इरानले आफ्नो प्रस्ताव कतारमार्फत अमेरिकासमक्ष पठाएको छ ।
अराग्चीले अब निर्णय गर्ने जिम्मेवारी अमेरिकाको भएको स्पष्ट पारे ।
यता एक अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै दुवै देशबीच मध्यस्थमार्फत सकारात्मक वार्ता भइरहेको बताएका छन् । उनका अनुसार वार्तामा इरानको आणविक कार्यक्रमसम्बन्धी विषय पनि समावेश छन् ।
एमओयूमा के–के थिए सर्त :
अमेरिका र इरानबीच जुन १८ मा भएको १४ बुँदे एमओयूको उद्देश्य युद्धविराम लागू गर्नुका साथै होर्मुज स्ट्रेटलाई आंशिक रूपमा खोल्ने वातावरण तयार गर्नु थियो ।
सम्झौतामा इरानले आणविक हतियार हासिल नगर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रावधान थियो । साथै अमेरिका, इरान र उनीहरूका सहयोगी पक्षबाट विभिन्न मोर्चामा भइरहेका सैन्य अभियान अन्त्य गर्ने विषय पनि समेटिएको थियो ।
एमओयूमा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्ने तथा इरानमाथि लगाइएका प्रतिबन्धमा राहत दिने विषयसमेत उल्लेख थियो ।
इरानले अहिले यही समझदारीका आधारमा अमेरिका अघि बढे सात दिनभित्र होर्मुज स्ट्रेट खोल्न सकिने संकेत गरेको हो । सिन्ह्वा













प्रतिक्रिया