खेलकुद

एसिया कप क्रिकेट खेल्ने नेपाली यु–१९ राष्ट्रिय टोलीको पोखरामा बिदाइ

एसिया कप क्रिकेट खेल्ने नेपाली यु–१९ राष्ट्रिय टोलीको पोखरामा बिदाइ


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

पोखरा । ओमानमा बिहीबारदेखि आयोजना हुने एसिसी पुरुष यु–१९ एसिया कप २०२६ मा सहभागी हुन जान लागेको नेपाली राष्ट्रिय यु–१९ क्रिकेट टोलीलाई सोमबार पोखराबाट बिदाइ गरिएको छ । नेपाली टोली पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबइको उडानमार्फत दुबई हुँदै ओमान जानेछ ।

ओमानमा यही कात्तिक १९ देखि २८ गतेसम्म एसिया कप सञ्चालन हुँदैछ । पोखरा महानगरपालिका, नेपाल क्रिकेट सङ्घ (क्यान) र गण्डकी प्रादेशिक क्रिकेट सङ्घले कार्यक्रम आयोजना गरी प्रतियोगितामा जितको शुभकामनासहित १५ सदस्यीय टोलीको बिदाइ गरेका हुन् ।

Advertisement

कार्यक्रममा पोखरा महानगरप्रमुख धनराज आचार्यले नेपाली क्रिकेटले अन्तरराष्ट्रियस्तरमा देशको पहिचान स्थापित गर्दै आएको उल्लेख गर्दै युवा खेलाडीले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । “नेपाली युवा टोलीको प्रदर्शनले देशको नाम उच्च राख्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ । यस प्रतियोगिताले युवा खेलाडीको क्षमता अभिवृद्धि तथा अन्तरराष्ट्रिय अनुभव हासिल गर्न महत्वपूर्ण अवसर हुनेछ”, उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले खेलाडीको मेहनत, लगनशीलता र सामूहिक प्रयासले सफलता प्राप्त हुने बताउँदै प्रतियोगितामा उत्कृष्ट नतिजाका लागि शुभकामना व्यक्त गरे । नेपाल क्रिकेट सङ्घ (क्यान) र गण्डकी प्रादेशिक क्रिकेट सङ्घले कार्यक्रम आयोजना गरी टोलीको बिदाइ गरेको हो । नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्माले युवा टोलीले राम्रो मेहनत गरेर राम्रो नजिताका लागि खेल्ने बताए ।

“हाम्रो तर्फबाट सक्दो मेहनत गरेर राम्रो क्रिकेट खेल्दै देशलाई चिनाउने छौँ”, शर्माले भने । उनले छोटो तयारीमा टोली प्रतियोगिता खेल्न जान लागेको बताउँदै राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

प्रशिक्षक वसन्त शाही ठकुरीले अभ्यास खेल खेल्ने राष्ट्रसँगको प्रतिस्पर्धामा टोली नडराएको र नजिताका बारेमा धेरै चिन्ता नलिने बताए । उनले प्रतियोगिताले युवा खेलाडीको भविष्य निर्धारण गर्नेसमेत उल्लेख गरे ।

“हामीले लामो तयारी गर्न नपाएपनि अभ्यास खेलमा खेलाडीले नयाँ सीप सिकेका छन्, ठूलो मैदानमा खेल्न गइरहेका छौँ । युवा खेलाडीका लागि राष्ट्रिय टिमको ढोका खोल्न र भविष्य निर्धारण गर्न यो प्रतियोगिता महत्त्वपूर्ण छ”, प्रशिक्षक शाहीले भने ।

प्रतियोगिताको तयारीका लागि टोलीले पोखरामा पाँच दिन बन्द प्रशिक्षण गरेको थियो । यही कात्तिक १२ देखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टोलीले अभ्यास गरेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । नेपालले पहिलो खेल कात्तिक २० गते भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।