नेपाल

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ ।

गत असोज दोस्रो साताको अविरल वर्षापछि आएको पहिरो तथा कालीगण्डकी नदीको बाढी र कटानका कारण क्षतविक्षत बनेको यो सडकलाई पुरानै अवस्थामा फर्काउन ३ देखि ४ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Advertisement

बेनी–जोमसोम–कोरला सडक योजनाका अनुसार कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाउनुका साथै ५० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्‍याएको छ । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार करिब ८० देखि ९० करोड रुपैयाँ क्षति भएको सडकलाई अस्थायी मर्मत गरी २ हप्तामै सञ्चालनमा ल्याइए पनि दिगो पुनर्निर्माणका लागि ठूलो बजेट आवश्यक पर्छ । “पहिरो र नदी नियन्त्रणका साथै म्याग्दी खण्डमा अब अस्फाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने देखिएको छ,” शर्माले भने ।

पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडकमध्ये म्याग्दीको ३३ किलोमिटर दूरीमा सबैभन्दा धेरै क्षति पुगेको छ । सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार आव २०७३/७४ मा निर्माण सुरु भएयता यस सडक खण्डमा हालसम्मकै उच्च क्षति भएको हो । बाढी-पहिरोपछि पहिले १ घण्टा ३ मिनेटमा पार गरिने म्याग्दी खण्ड पार गर्न अहिले ३ देखि ४ घण्टासम्म लाग्ने गरेको छ ।

पर्वत र म्याग्दीका दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र नदी कटानले क्षति पुर्‍याएको छ । कालीगण्डकीले बगाएको पोखरेबगर सडक पुलमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिए पनि एकतर्फी बाटोका कारण सवारीसाधन फस्ने र घण्टौँ जाम हुने समस्या रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

उत्तरी सीमावर्ती नाका पुग्ने मालवाहक कन्टेनर, मुस्ताङ भ्रमणमा जाने पर्यटक र सर्वसाधारणको चापका कारण यो सडक निकै व्यस्त रहँदै आएको छ । केही दिनअघि क्षतिग्रस्त सडकको निरीक्षण गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सडक पुनर्निर्माणका लागि बजेटको कमी हुन नदिने र कामलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।