बिश्व घटना

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

नयाँ दिल्ली । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट वर्षा सिंहका अनुसार मृत्यु हुने सबै बालबालिका १५ वर्ष वा सोभन्दा कम उमेरका छन् ।

मंगलबार साँझ करिब ८:३० बजे छिमेकी गाउँमा भोजमा सहभागी हुन जाँदै गरेका करिब १५ देखि २० जना बालबालिका सवार डुंगा पल्टिएर दुर्घटना भएको उनले बताए । 

Advertisement

पत्रकारहरूसँग कुरा गर्दै जिल्ला मजिस्ट्रेट सिंहले घटनालाई अत्यन्त दु:खद् बताए। उनका अनुसार उद्धार गरिएका सात जनालाई उपचारका लागि एनएमसीएच लगिएको छ र उनीहरूको अवस्था स्थिर रहेको छ ।

उनले घटनास्थलमा राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) को टोली परिचालन गरिएको तथा स्थानीय गोताखोरको सहयोगमा उद्धार कार्य भइरहेको जानकारी दिए। दुर्घटनामा १३ जना बालबालिकाको मृत्यु भएको पुष्टि गर्दै उनले मृतक सबै १५ वर्ष वा सोभन्दा कम उमेरका रहेको बताए । 

दुर्घटनापछि बेपत्ता भएका अन्य व्यक्तिको खोजी गर्न उद्धार टोली परिचालन गरिएको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा बालबालिकाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष(पीएमएनआरएफ) बाट प्रतिपरिवार दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । 

प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको सन्देशमा प्रधानमन्त्री मोदीले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले प्रभावितलाई स्थानीय प्रशासनले सहयोग गरिरहेको पनि उल्लेख गरेका छन् । 

यसैगरी, बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनामा ज्यान गुमाएका बालबालिकाका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् ।