नेपाल

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

नवरात्रका अवसरमा दसैँघर तथा पूजा कोठामा चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने परम्परा छ। देवीको आराधनाबाट शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालले बताए।

Advertisement

पौराणिक मान्यताअनुसार, शिरमा अर्धचन्द्र र हातमा चन्द्रमाको आधार भएको घण्टा धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो। मार्कण्डेय पुराणमा पनि चन्द्रमा घण्टामा रहेकी देवीलाई चन्द्रघण्टा भनिएको उल्लेख छ।

चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको हुने र उनले अत्याचारी दानवी शक्तिको नाश गर्ने धार्मिक विश्वास छ। यस दिन देवीको पूजा गर्दा मणिपुर चक्रमा ध्यान गर्ने परम्परा रहेको छ।

वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको कृपाबाट पाप नाश हुने उल्लेख छ। शान्त र करुणामयी स्वरूपकी देवीको आराधना गर्दा शक्ति प्राप्त हुने विश्वास गरिन्छ। गीतसंगीत क्षेत्रमा लागेकाहरूले पनि चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने चलन रहेको उनले बताए।

नवरात्रको पहिलो दिन आइतबार घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा जौको जमरा राखिएको थियो। त्यस दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको पूजा गरिएको थियो भने सोमबार दोस्रो देवी ब्रह्मचारिणीको आराधना गरिएको थियो। आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा भइरहेको छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत् लगायत देवी स्तोत्र पाठ गर्ने चलन छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गरिन्छ । दसैँमा पूजा गरी चढाइएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ ।

नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रका अवसरमा काठमाडौंसहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजा, आराधना र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ। कतिपय भक्तजन नौवटा शक्तिपीठमा पुगेर दर्शन तथा पूजा गर्ने परम्पराअनुसार विभिन्न मन्दिर पुग्ने गर्छन् ।