काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीको आधिकारिक कर्मचारी भएको भन्दै विभिन्न व्यक्तिको बैंक तथा वालेट खाताबाट रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले अनलाइन ठगी तथा लागू औषध मुद्दामा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका-३ घर भई हाल ललितपुरको हात्तीवन बस्ने २३ वर्षीय सुभम कुमार झा, बाराको सिम्रौनगढ नगरपालिका-१० घर भई हाल हात्तीवन बस्ने २० वर्षीय अनिकेत यादव, रौतहटको ईशनाथ नगरपालिका-३ घर भई हाल ललितपुरको धापाखेल बस्ने २२ वर्षीय पवन कुमार चौधरी र रौतहटको गरुडा नगरपालिका-१ घर भई हाल धापाखेल बस्ने २१ वर्षीय रिसी गंगा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले विभिन्न मोबाइल नम्बर प्रयोग गरी आफूलाई खल्तीको आधिकारिक कर्मचारीका रूपमा परिचय दिने गरेका थिए। त्यसपछि सर्वसाधारणलाई फोन गरेर स्क्रिन सेयर गर्न लगाउने र एक पटक प्रयोग हुने पासवर्ड (ओटीपी) कोडसमेत सेयर गर्न लगाई बैंक तथा वालेट खातामा अनधिकृत पहुँच पुर्याउने गरेको आरोप छ।
यसरी विभिन्न व्यक्तिको खाताबाट अनुमतिबिना रकम अन्य खातामा स्थानान्तरण गरी ठगी गर्ने कार्यमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उनीहरूमाथि अनुसन्धान अघि बढाएको हो।












प्रतिक्रिया