नेपाल

बाढीपहिरोका कारण २७ जनाको मृत्यु, एक हजार बढी परिवार प्रभावित

बाढीपहिरोका कारण २७ जनाको मृत्यु, एक हजार बढी परिवार प्रभावित


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् भने ४ जना अझै सम्पर्कविहीन छन् ।

असोज ८ गतेदेखि हालसम्म भएका ५१३ वटा मनसुनजन्य घटनाबाट १ हजार ६५ परिवार प्रभावित भएका छन् । बाढी तथा पहिरोका कारण २२५ घर पूर्ण र १३७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यस्तै, २७ गोठ र ११४ पशुचौपायामा समेत क्षति पुगेको छ ।

Advertisement

सरकारले प्रभावित नागरिकको उद्धार तथा सुरक्षित व्यवस्थापनसँगै क्षतिग्रस्त पूर्वाधार मर्मत गरी जनजीवन सामान्य बनाउन विभिन्न संयन्त्र परिचालन गरेको जनाएको छ ।

१४७ स्थानमा सडक क्षति, १२५ ठाउँमा सञ्चालन

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग तथा सडकखण्डका १४७ स्थानमा क्षति पुगेको थियो । तीमध्ये १२५ स्थानमा मर्मत तथा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ ।

पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । नारायणी–मुग्लिन सडकखण्डअन्तर्गत सिमलताल नजिक भासिएको सडकसमेत मर्मतपछि एकतर्फी सञ्चालनमा आएको छ ।

बिपी राजमार्गको मात्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा डाइभर्सन बगेर सडक अवरुद्ध भएको छ । थप क्षति नभए भोलि साँझसम्म सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम, पाल्पा, बागलुङ र नवलपरासी खण्डका विभिन्न स्थानमा पहिरो, सडक भासिने तथा पुलको एप्रोच बग्ने समस्या देखिएको छ । पहिरो पन्छाउने काम जारी रहेकाले सम्पूर्ण सडक सञ्चालनमा आउन तीन दिनभन्दा बढी समय लाग्ने प्रारम्भिक आकलन गरिएको छ ।

भालुवाङ–चकचके–लिवाङ सडकमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको छ । बेसिसहर–चामे सडकअन्तर्गत मनाङको नासों गाउँपालिका, खोत्रोलगायत क्षेत्रमा पहिरो हटाउने काम भइरहेको छ । उक्त सडक पूर्ण रूपमा सञ्चालनमा आउन तीन दिन लाग्ने देखिएको छ।

त्रिभुवन राजपथमा पहिरो पन्छाएर सुरक्षा सतर्कतासहित यातायात सञ्चालनमा ल्याइएको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा २१ स्थानमा पहिरो गएको भए पनि सडक खुलाउने काम तीव्र पारिएको छ । उक्त सडक भोलिसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

१ हजार मेगावाटभन्दा बढी विद्युत् आपूर्ति प्रभावित

बाढीका कारण कालीगण्डकी, मर्स्याङ्दी र सेती–मादी करिडोरलगायत राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति बन्द भएको थियो ।

तीमध्ये सेती–मादी करिडोरका २६२ मेगावाट र मर्स्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र सञ्चालनमा आएका छन् ।

बाढीका कारण बन्द भएको १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् केन्द्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । क्षतिग्रस्त राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ ।

कुस्मा–दाना प्रसारण लाइनमा क्षति पुगेका कारण ७ वटा जलविद्युत् केन्द्रको १९० मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन ।

कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–कुस्मा खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

७८२ नेपाल टेलिकमका टावर सञ्चालनमा

बाढी तथा पहिरोका कारण प्रभावित दूरसञ्चार सेवा पनि सञ्चालनमा ल्याउने काम भइरहेको छ ।

नेपाल टेलिकमका १ हजार १३२ वटा टावरको नेटवर्क विच्छेद भएकामा ७८२ वटा सञ्चालनमा ल्याइएको छ । एनसेलका १६२ वटा नेटवर्क विच्छेद भएकामा १०५ वटा मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

नारायणी नदीमा आएको बाढीका कारण डुबानमा परेको सुस्ताका बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । चितवनको देवघाट, बाह्रघरेलगायत तटीय क्षेत्रका बासिन्दालाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि तिलाठी कोइलाडी गाउँपालिकामा डुबानमा परेका ५०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सर्लाहीको लखनदेई खोलामा आएको बाढीले भाडसर–खुटौनाको बस्ती डुबानमा पारेको छ । रौतहटमा लालबकैया र बागमती नदीको तटीय क्षेत्र प्रभावित भएका छन् ।

तिनाउ नदीको किनारमा रहेका मझुवा, प्रगतिनगर, हात्तीसुँढ र युद्धनगरलगायत डुबान प्रभावित क्षेत्रबाट सुरक्षाकर्मीले करिब २०० घरपरिवारका १ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् ।

मुस्ताङ, मनाङ, पाल्पा, बागलुङ, म्याग्दीलगायत पहाडी तथा हिमाली जिल्लासमेत बाढी–पहिरोबाट प्रभावित भएका छन् । प्रभावित नागरिकका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी राहत तथा अस्थायी बसोबासको व्यवस्था मिलाइएको सरकारले जनाएको छ ।