नेपाल

लगातारको वर्षाले बाढीको जोखिम बढ्यो, गण्डकीका सात जिल्लामा अति उच्च जोखिम

लगातारको वर्षाले बाढीको जोखिम बढ्यो, गण्डकीका सात जिल्लामा अति उच्च जोखिम


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । लगातार भइरहेको वर्षाका कारण देशभरका नदी तथा खोलामा पानीको बहाव बढ्दै गएपछि बाढीको जोखिमसमेत बढेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका केही जिल्लालाई अति उच्च जोखिममा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार गण्डकी प्रदेशमा भइरहेको वर्षाका कारण नारायणी बेसिनअन्तर्गतका म्याग्दी र कालीगण्डकी लगायत नदी तथा खोलामा पानीको सतह उल्लेख्य रूपमा बढेको छ। त्रिशूली, बूढी गण्डकी, मर्स्याङ्दी, सेती र नारायणी नदीमा समेत बहाव बढेको महाशाखाले जनाएको छ।

Advertisement

महाशाखाका असिस्टेन्ट हाइड्रोलोजिस्ट प्रभाकर यादवका अनुसार नारायणी बेसिनका नदीमा आइतबार दिउँसोसम्म पानीको बहाव थप बढ्ने र त्यसपछि क्रमशः घट्दै जाने अनुमान छ। यद्यपि सोमबार पुनः बहाव उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

कोशीदेखि कर्णालीसम्म नदीमा बहाव बढ्ने

कोशी बेसिनअन्तर्गत सप्तकोशी, तमोर, अरुण र दूधकोशीलगायत नदीमा पनि पानीको बहाव बढ्ने महाशाखाको अनुमान छ। यी नदीमा सोमबारसम्म बहाव बढ्ने र त्यसपछि सामान्य घटबढ हुने प्रक्षेपण गरिएको छ।

त्यसैगरी कर्णाली, चेपाङ र ठूलीभेरीलगायत नदीमा समेत बहाव बढ्ने र त्यसपछि क्रमशः घट्दै जाने अनुमान छ। महाकाली र कन्काई नदीमा पनि पानीको बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ।

पूर्वी राप्ती, तिनाउ, बाणगंगा र बबई नदीमा पनि बहाव बढ्ने सम्भावना रहेको छ। विशेषगरी रातिको बाढीका कारण तिनाउ नदीको बहाव उल्लेख्य बढ्न सक्ने र त्यसपछि क्रमशः घट्दै जाने अनुमान गरिएको छ। कमला नदी भने सामान्य अवस्थामा फर्किसकेको र सोमबारदेखि सामान्य रहने महाशाखाको पूर्वानुमान छ।

सात जिल्ला अति उच्च जोखिममा

महाशाखाले जिल्लागत रूपमा बाढीको जोखिमलाई न्यून, मध्यम, उच्च र अति उच्च गरी विभिन्न तहमा वर्गीकरण गरेको छ।

बारा, पर्सा, रौतहट, काठमाडौँ, काभ्रेपलाञ्चोक र भक्तपुरलगायत जिल्लामा तत्काल बाढीको जोखिम न्यून रहेको जनाइएको छ। यी क्षेत्रमा नदी तथा खोलाको बहाव सावधानी तहभन्दा निकै तल रहने अनुमान गरिएको छ।

गोरखा, रसुवा, धादिङ र नुवाकोटलगायत जिल्लामा भने मध्यम जोखिम रहेको छ। ती क्षेत्रमा नदी तथा खोलामा पानीको बहाव बढ्ने भए पनि सावधानी तहभन्दा तलै रहने अनुमान गरिएको छ।

कपिलवस्तु र रुपन्देहीलाई उच्च जोखिममा राखिएको छ। ती जिल्लामा नदी तथा खोलाको पानी सावधानी तहभन्दा माथि पुग्न सक्ने भएकाले सतर्क रहन र नदी तथा खोलाबाट टाढा रहन महाशाखाले आग्रह गरेको छ।

मुस्ताङ, मनाङ, कास्की, म्याग्दी, तनहुँ, नवलपरासी र चितवनलाई भने अति उच्च जोखिमको क्षेत्रमा राखिएको छ। ती जिल्लाका नदी तथा खोलामा पानीको बहाव अत्यधिक बढ्न सक्ने तथा आकस्मिक बाढीको जोखिमसमेत रहेको महाशाखाले जनाएको छ।

अति उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दालाई नदी, खोला तथा बाढी प्रभावित क्षेत्रबाट टाढा रहन र सम्भावित जोखिम बढे सुरक्षित स्थानतर्फ सर्न महाशाखाले आग्रह गरेको छ।

उपत्यकामा तत्काल ठूलो बाढीको जोखिम छैन

काठमाडौँ उपत्यकामा पनि वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्ने भए पनि तत्काल ठूलो बाढीको अवस्था नरहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टासम्म उपत्यकामा बाढीको जोखिम मध्यम रहने र सोमबारदेखि नदी तथा खोलानाला क्रमशः सामान्य अवस्थामा फर्किने अनुमान गरिएको छ।

महाशाखाले विशेषगरी उच्च तथा अति उच्च जोखिममा रहेका जिल्लामा नदी, खोला र बाढी प्रभावित क्षेत्र आसपास अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ। वर्षा जारी रहेकाले बहावमा अचानक वृद्धि हुन सक्ने भन्दै स्थानीय तह र सम्बन्धित निकायले समेत सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाउनुपर्ने महाशाखाको भनाइ छ।