काठमाडौँ । नारायणी नदीमा पानीको सतह उच्च तहमा पुगेपछि चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने नारायणी पुलमा ठूला सवारीसाधनको आवागमन रोकिएको छ। नदीको बहाव निरन्तर बढिरहेका कारण तटीय क्षेत्रका दर्जनौँ बस्तीसमेत डुबानमा परेका छन्।
देवघाटस्थित जलमापन केन्द्रका अनुसार दिउँसो १:५० बजे नारायणी नदीमा पानीको सतह ११.९१ मिटर पुगेको थियो। केन्द्रले ७.३ मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह मानेको छ। नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेको जनाइएको छ।
नदीको बहाव बढेसँगै नारायणी पुलमा सवारीसाधन सञ्चालन गर्दा जोखिम देखिएपछि प्रहरीले ठूला सवारीसाधनको आवागमन रोकेको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार अहिले पुलबाट मोटरसाइकललाई मात्र आवतजावत गर्न दिइएको छ।
पुरानो पुल भएकाले नदीको बहावसँगै अत्यधिक हल्लिन थालेपछि सुरक्षाका दृष्टिले सवारी आवागमनमा कडाइ गरिएको प्रहरीले जनाएको छ। पुलमा रोकिएर पैदल यात्रीले तस्बिर तथा श्रव्यदृश्य सामग्री खिच्नसमेत रोक लगाइएको छ।
नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकलबाहेकका सवारीसाधनलाई गैँडाकोटमै रोकिएको छ भने चितवनतर्फबाट नवलपुर जाने सवारीसाधनलाई नारायणघाटमा रोकिएको छ। नदीको बहाव घटेपछि अवस्था हेरेर सवारीसाधनको आवागमन पूर्ण रूपमा खुलाइने प्रहरीले जनाएको छ।
यसैबीच, नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाका नदी तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका छन्।
नदीको सतह थप बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा जोखिमयुक्त क्षेत्रमा नजान स्थानीय प्रशासनले आग्रह गरेको छ।












प्रतिक्रिया