चितवन । अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गअन्तर्गत चितवन तथा धादिङका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न स्थानमा लगातार साना–ठूला पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन । निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उनले बताए ।
उनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक पुनः भासिएपछि उक्त स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । यसअघि पनि उक्त स्थानमा सडक भासिएपछि एकतर्फी रूपमा यातायात सञ्चालन हुँदै आएको थियो ।
यस्तै, इच्छाकामना गाउँपालिका–५ सिमलधारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ । इच्छाकामना–५ कै तुइनखोला र नाम्सीखोलामा माथिबाट ढुङ्गा तथा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला, नाम्से पुल, १५ किलो र १७ किलोमा पनि सामान्य ढुंगामाटो खसेको प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–७ कृष्णभिर र ज्यामिरेघाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–६ जरेखेत र थाक्रे गाउँपालिका–२ कमेरेभिरमा पनि पहिरोका कारण सडक प्रभावित भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए।
कृष्णभिर, सिमलधारा, धारापानी, नाम्सीखोला र तुइनखोलामा सडकमा खसेको पहिरो हटाउने काम जारी रहेको उनले बताए। तर निरन्तर वर्षा भइरहेकाले धेरै स्थानमा पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा आउने अवस्था नरहेको प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ ।
जोखिम बढेपछि हिजो रातिदेखि नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । आज बिहानदेखि पनि राजमार्गका विभिन्न स्थानमा थप पहिरो खसेपछि प्रशासनले सवारीसाधन सञ्चालनमा रोक कायम राखेको प्रहरीले जनाएको छ ।
कृष्णभिरमा सडकको नदीतर्फको ग्याबिन केही तल झर्यो पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा नयाँ ट्र्याक खोलिएको सडकको नदीतर्फको ग्याबिन केही तल झरेको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) प्रमुख सजना अधिकारीका अनुसार सडकको माथिल्लो भागमा खोलिएको नयाँ ट्र्याक हाल सञ्चालनमा रहेको सडकमा भने कुनै समस्या देखिएको छैन । लगातार वर्षा भइरहेकाले थप क्षति हुनसक्ने अवस्थालाई मध्यनजर यातायात सञ्चालनमा रोक लगाएको उनले बताए।
उनले भने, “नयाँ ट्र्याक खोलेको माथिल्लो स्थानबाट अलिअलि पहिरो झरेको छ । हामीले प्लास्टिक ओडाएको स्थानमा बढी समस्या छैन । तर तल एउटा ग्याबिन झरेको छ ।” प्रमुख अधिकारीका अनुसार सडकको साइटतर्फको ग्याबिनबीचको भाग केही खसेको भए पनि हालसम्म सडकमा ठूलो क्षति भएको छैन ।
कृष्णभिर क्षेत्रमा साना–साना पहिरो खस्ने क्रम रहेकाले अहिले सडकमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए। वर्षाका कारण सडकको अवस्थाबारे प्राविधिक टोलीले निरन्तर अनुगमन गरिरहेको प्रमुख अधिकारीले जानकारी दिए ।












प्रतिक्रिया