काठमाडौँ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल-चीन उत्तरी कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ । बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार मुस्ताङमा बिहीबारदेखि निरन्तर वर्षा भइरहँदा उपल्लो मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाका क्षेत्रमा हिमपात भएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे ।
कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको हो । हिमपातका कारण उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् ।
त्यसैगरी कोरलानाका क्षेत्रमा हिमपात भइरहँदा लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा भएको छ भने बस्तीदेखि माथिका उच्च लेकमा आंशिक हिमपात भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए। वर्षा र हिमपातसँगै उपल्लो क्षेत्रमा चिसो बढ्न थालेको एक्याप प्रमुख पौडेलको भनाइ छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाका पूर्वसूचना अनुसार बिहीबारदेखि लगातार चार दिनसम्म भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने प्रक्षेपण गरिएको थियो । मुस्ताङको कोरलानाका क्षेत्रमा हिमपात हुँदा मुस्ताङका अन्य क्षेत्रमा निरन्तर वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मौसम प्रतिकूलताका कारण बाढी पहिरो, नदी कटानलगायत कारण सडक अवरुद्ध हुनसक्ने भएकाले मुस्ताङको काभ्रेभिरदेखि उपल्लो मुस्ताङका सडकमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी सूचित गरेको छ । सम्भावित विपद् तथा क्षति न्यूनीकरणका लागि बिहीबार रातिदेखि चार दिनसम्म साँझ ६:०० देखि बिहान ६:०० बजेसम्म रातिमा यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले जानकारी दिए ।
त्यसैगरी, मुस्ताङको घरपझोङ गाउँपालिकाले वर्षाका कारण कालीगण्डकी नदी उच्च भई जोखिम सृजना हुनसक्ने भएकाले कालीगण्डकी तटीय क्षेत्रमा स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । घरपझोङ गाउँपालिकाले शुक्रबारदेखि माइकिङ गरी तटीय क्षेत्र आसपासका नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।
यस्तै, वर्षाका कारण मुस्ताङका पुराना ढुंगा र माटोले निर्मित परम्परागत संस्कृतिका घरहरूमा वर्षाले जोखिम बढाएको छ । घरपझोङ-५ ठिनीका स्थानीय सरिता थकालीका अनुसार पुराना ढुंगा र माटोले बनेका घर निरन्तर वर्षा हुन थालेको सास्ती तुल्याएको बताइन्। वर्षाले पुराना घर चुहिने र भत्किने डर भएकाले वर्षाबाट जोगाउन स्थानीयले घरको छत र गारोमा त्रिपाल र प्लास्टिकले ढाकेको जानकारी दिइन् ।












प्रतिक्रिया