नेपाल

बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको थप तीन करोड १० लाख डलर सहयोग घोषणा

बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको थप तीन करोड १० लाख डलर सहयोग घोषणा


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । अमेरिकाले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्लाभ तथा पुनर्निर्माणका लागि थप तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । यससँगै बाढीसम्बन्धी प्रतिकार्य र पुनर्लाभमा अमेरिकाको कुल सहयोग तीन करोड ६० लाख डलरभन्दा बढी पुगेको छ ।

न्युयोर्कमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले थप सहयोगको घोषणा गरेकी हुन् । भेटका क्रममा उनले बाढीमा प्रभावित सबैप्रति तथा हाल बेपत्ता रहेका करिब ७० अमेरिकी नागरिकका परिवारप्रति अमेरिकाको सहानुभूति व्यक्त गरेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

Advertisement

अमेरिकी परराष्ट्र मन्त्रालयका अनुसार थप सहयोगमध्ये एक करोड डलर आवश्यकताअनुसार निर्माण गरिने स्थायी पुलका लागि उपलब्ध गराइने छ । उक्त रकमबाट अमेरिकी कम्पनीबाट पुल खरिद गरिने र बाढीप्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनर्स्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, बाढी प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ, आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोयामका आवश्यकतामा खर्च गर्ने गरी ८० लाख डलर थप सहायता उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ ।

भविष्यमा विपद् पुनर्लाभ तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन अमेरिकामै निर्मित ड्रोन उपलब्ध गराउन एक करोड ३० लाख डलर छुट्याउने योजना पनि अमेरिकी परराष्ट्र मन्त्रालयले बनाएको छ ।

अमेरिकाले बाढीबाट सर्वाधिक प्रभावित र सहयोगको आवश्यकता भएका क्षेत्र पहिचान गरी त्यहाँ सहायता पुर्‍याउन नेपालसँग निरन्तर सहकार्य गर्ने जनाएको छ ।