काठमाडौँ । नेकपा (एमाले)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरूमा नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तै भएको टिप्पणी गरेकी छन् ।
ललितपुरको भनिमण्डलस्थित रामबाग महल परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । उनले गत वर्षको जेन–जेड आन्दोलनका षड्यन्तकारीहरुले नेतृत्व परिवर्तनको एजेण्डा पार्टीमा प्रवेश गराएको पनि उनको तर्क छ । तर, बाहिरका हल्लाको भरमा पार्टीको जिम्मेवार तहमै रहेका नेताहरुले पार्टी पुनर्गठनको कुरा गर्न उचित नहुने उनको भनाइ छ । उनले पार्टी नेतृत्व र पुनर्गठनको कुरा बाहिरतिर पानी परिरहेको छ अनि घरभित्रै छाता ओढेजस्तो भएको भन्दै यसको कुनै औचित्य नभएको बताइन् ।
उनले भनिन्, ‘पार्टी नेतृत्व र पुनर्गठनको कुरा बाहिरतिर पानी परिरा छ अनि घरभित्रै छाता ओड्याजस्तो फेसन भएको छ । किनभने गएको भदौको २३ र २४ गतेको जे विध्वंस भयो त्यो मूलतः नेकपा एमालेविरुद्ध थियो । नेकपा एमालेको नेतृत्वविरुद्ध थियो । अनि ती मान्छेहरूले आफू एमालेविरोधी नभनेर प्राप्तिको एजेण्डा दिए । नयाँ केही प्राप्तिको एजेन्डा दिने कुरालाई चाहिँ हाम्रो पार्टीभित्रको मान्छेहरूले पनि त्यही ढङ्गले एउटा विश्लेषण गरेजस्तो बुझेँ मैले ।’
उनले थपिन्, ‘अनि सरकार फेरेजस्तै पार्टीको नेतृत्व फेर्नेजस्तो कुरा हो कि भन्ने पनि बुझिन्थ्यो । यता त पार्टीले महाधिवेश नै गरेर आइसक्यो । अब चुनावको परिणामको कुरा त सबै मान्छे चुनावमा कसरी लाग्यौँ हामी, चुनावमा आफ्ना एजेन्डा कसरी लगेर गयौँ, हाम्रा कमजोरीको बारेमा र हाम्रो स्ट्रेन्थको बारेमा जनतालाई पार्टीको धारणा कसरी भन्यौँ ? भन्ने कुरामा भर पर्छ होला नि !’
उनले चुनावमा पार्टीले भोगेको परिणामको दोष नेतृत्वलाई दिन नहुने तर्कसमेत गरिन् ।












प्रतिक्रिया