काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद क्रान्तिशिखा धितालले नागरिकलाई सरकारले अन्योलमा राखेको बताएकी छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले भोटेकोशी बाढीको एक महिना बितिसक्दा पनि सरकारले नागरिकलाई अन्योलमा राखेको बताइन् ।
उनले भनिन्, “भोटेकोशी बाढीमा बेपत्ता भएका हजारौँ मानिसको परिवारले आशाको दियालो मार्ने बेला भइसकेको छ । कतिले कुशको आकृति बनाएर अन्तिम संस्कार गरेका छन् । तर, आश्रिम परिवारको पुनर्उत्थानमा भने अनेक बाधा परेको देखिन्छ ।”
आफन्तजनको मृत्युले औपचारिकता र निश्चित कागजी प्रक्रियाको टुंगो नपाउँदा प्रभावित परिवार दोहोरो मारमा रहेको उनको भनाइ छ । नागरिकको कानुनी हैसियत, सम्पत्तिको हक हस्तान्तरणलगायत राज्यबाट प्राप्त हुने सेवा सुविधा उपभोगमा तत्काल न्यायिक तथा प्रशासनिक बाटो प्रशस्त गरिनुपर्ने उनको भनाइ छ ।
“राहत र सामाजिक सुरक्षा उपलब्ध गराउने कार्यविधि तोक्न विलम्ब गरेर नागरिकलाई अन्योलमा राखिरहने छूट सरकारसँग हुनुहुँदैन,” उनले भनिन् ।












प्रतिक्रिया