बिजनेस/ इकोनोमी

सडक सञ्जाल पुनर्स्थापनका लागि तीव्ररुपमा काम भइरहेको छ : मन्त्री लम्साल

सडक सञ्जाल पुनर्स्थापनका लागि तीव्ररुपमा काम भइरहेको छ : मन्त्री लम्साल


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुनर्स्थापनाका लागि तीव्ररुपमा काम भइरहेको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्सालले विपद्पछिको सडक सञ्जाल पुनर्स्थापनाका लागि आपतकालीन टेन्डर, बजेट व्यवस्थापन तथा दीर्घकालीन पुनर्निर्माण रणनीतिबारे जानकारी गराएका हुन् ।

Advertisement

उनले कृष्णभीर जस्ता ठाउँमा सामान्य देखिए पनि तलको भाग कटान भएर निकै जटिल पहिरो गएको बताए। प्रधानमन्त्री कार्यालयले असोज ७ गतेसम्म पुनर्निर्माण लागतको विवरण माग गरेकोमा समयअगावै काम सम्पन्न गरी विपद् प्राधिकरणमा विवरण पठाइसकिएको उनले जानकारी दिए।

मन्त्री लम्सालले सडक, दुईवटा वैकल्पिक मार्ग, देशभरका पहिरो र भविष्यका लागि आवश्यक उपकरण व्यवस्थापनसहित ९० अर्ब रुपैयाँको माग गरिएको बताए ।

भवन, खानेपानी, सहरी विकासलगायत सबै क्षेत्रको लागत जोड्दा कुल बजेट करिब १०० अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान रहेको उनको भनाइ छ । उनले काम नरोक्नका लागि हाललाई अन्य आयोजनाबाट बजेट कटौती गरेर भए पनि व्यवस्थापन गरिएको बताए ।

मन्त्री लम्सालले हाल सडक सञ्चालन गर्न अस्थायीरूपमा मात्र पहिरो पन्छाइएको भन्दै बाढीले क्षतिग्रस्त बनाएका पुरानै जोखिमयुक्त ठाउँमा फेरि स्थायी सडक नबनाइएको स्पष्ट पारे । फास्ट ट्रयाकमा डिपिआर तयार गरी डिजाइन रिभ्यु गरेर ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार सुरक्षित ठाउँबाट नयाँ सडक निर्माण गरिने उनले बताए ।

समिति बैठकले रसुवा, नुवाकोट, धादिङलगायत बाढी तथा पहिरो प्रभावित जिल्लाहरूका सडक, ग्रामीण सडक, पुल, खानेपानी तथा ढल व्यवस्थापनका पूर्वाधारमा भएको क्षतिको यथार्थ विवरण र विस्तृत कार्ययोजना तयार गरी पेश गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।