काठमाडौँ । हिमनदी पातलिँदै जानु र जमिनमुनिको स्थायी रूपमा जमेको माटो (पर्माफ्रस्ट) पग्लिनु तथा सम्भावित भौगोलिक परिवर्तनका कारण नेपालमा विनाशकारी ढुङ्गा र बरफ खस्ने घटना भएको प्रारम्भिक वैज्ञानिक अध्ययनले देखाएको छ ।
अन्तर्राष्ट्रिय हिमनदी विज्ञ तथा ‘वल्र्ड वेदर एट्रिब्युसन’ समूहका वैज्ञानिकहरूले गरेको अध्ययनअनुसार गत भदौ १० मा रसुवाको भोटेकोशीमा आएको बाढी कुनै एउटा चरम मौसमी घटनाको परिणाम नभई ‘बहुआयामिक संकट’ थियो ।
विज्ञहरूबाट पुनरवलोकन हुन बाँकी उक्त प्रारम्भिक प्रतिवेदनका वैज्ञानिकहरूले विपद्मा जलवायु परिवर्तनको भूमिका रहेको बताएका छन् । २०७२ सालको भूकम्पले भौगोलिक संरचनालाई कमजोर बनाएको सम्भावना देखिए पनि त्यसको पुष्टि अनुसन्धानबाट अझै हुन नसकेको उनीहरूको भनाइ छ ।
प्रतिवेदनमा तीव्र गतिमा भइरहेको विश्वव्यापी तापक्रम वृद्धिले हिमनदी र पर्माफ्रस्ट पग्लिने प्रक्रिया तीव्र बनाएको उल्लेख छ । अघिल्लो मौसममा असामान्य रूपमा धेरै हिमपात भएको र त्यसपछि अस्वाभाविक रूपमा तातो मौसममा तीव्र गतिमा बरफ पग्लिएको वैज्ञानिकहरूले बताएका छन् ।
युट्रेच विश्वविद्यालयका पर्वतीय जलविज्ञ वाल्टर इम्मरजिलका अनुसार २०७२ को भूकम्पले पहाडको भिरालो भागलाई कम स्थिर बनाएको हुन सक्ने भए पनि जलवायु परिवर्तनका प्रभावहरू एकपछि अर्को जम्मा हुँदै जाँदा विपद् निम्तिएको हो ।
भदौ १० मा लाङटाङ लिरुङ हिमालको झुन्डिएको हिमनदी र चट्टानको एउटा ठूलो भाग खसेपछि पानी, बरफ र गेग्रानसहितको ठूलो बाढी आएको थियो। घटनामा एक हजार चार सयभन्दा बढी मानिसको मृत्यु भएको छ । ६ हजार जनाभन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ । यसैगरी खरबौं रुपैयाँको भौतिक क्षति भएको छ ।
‘मानव सिर्जित जलवायु परिवर्तनले यस विपद्को पूर्वतयारी अवस्थालाई निर्माण गर्न भूमिका खेलेकोमा कुनै शंका छैन,’ प्रतिवेदनकी एक लेखक तथा इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञानकी प्राध्यापक फ्रिडेरिके ओटोले फाइनान्सियल टाइम्ससँग भनेकी छन् ।
अध्ययनले उक्त क्षेत्रमा हिउँ जम्ने सीमालाई जनाउने तापक्रमको उचाइ प्रत्येक दशकमा करिब १०० मिटर माथि सरेको निष्कर्ष निकालेको छ ।
यसका कारण हिमनदी उल्लेख्य रूपमा पछि हट्नुका साथै चट्टानका चिरामा रहेको पर्माफ्रस्ट पग्लिएको थियो। सामान्यतया यस्ता बरफयुक्त संरचनाले उच्च हिमाली भित्ताहरूलाई जोडेर राख्ने गर्छन्। बरफ हराउँदै जाँदा पहाडको भिरालो भाग अस्थिर बन्नुका साथै पग्लिएको पानीको मात्रा पनि बढेको थियो ।
अध्ययनअनुसार गत वर्ष अक्टोबर र नोभेम्बरमा उक्त क्षेत्रमा असामान्य हिमपात भएको थियो, जसले पछि पग्लिएर ठूलो मात्रामा पानी थपेको थियो। त्यस्तै विपद् हुनुअघि जुलाई र अगस्टमा लाङटाङ उपत्यकाको तापक्रम रेकर्डमै सबैभन्दा बढी थियो । ओटोका अनुसार पहिरो तथा हिमचट्टान खस्नुअघिका तीन दिनमा दैनिक अधिकतम तापक्रम औसतभन्दा पाँच डिग्री सेल्सियसभन्दा बढी थियो ।
‘उच्च हिमाली क्षेत्रमा पर्माफ्रस्टको क्षय, हिमनदीको पछाडि हट्ने क्रम र गर्मीयामको रेकर्ड तापक्रमलाई एकसाथ हेर्दा यी हिमाली भित्ताहरूको संरचना कमजोर हुन्छ,’ इम्मरजिलले भने, ‘त्यसपछि हुन सक्ने विनाशकारी प्रभाव अहिले सबैले देखिरहेका छन् ।’
वैज्ञानिकहरूका अनुसार उक्त क्षेत्रमा औद्योगिक युगअघिको तुलनामा दीर्घकालीन तापक्रम वृद्धि करिब दुई डिग्री सेल्सियस पुगेको छ। यो विश्वव्यापी औसत करिब १।४ डिग्री सेल्सियसभन्दा निकै बढी हो । वैज्ञानिकहरूले लामो समयदेखि हिमालय क्षेत्र जलवायु परिवर्तनको प्रभावप्रति अत्यन्त संवेदनशील रहेको चेतावनी दिँदै आएका छन् । रेडक्रस–रेडक्रिसेन्ट जलवायु केन्द्रका माधव उप्रेतीले यस विपद्बाट पुनर्स्थापनाको लागत ठूलो हुने बताए ।
‘यो समस्या सिर्जना गर्न लगभग कुनै योगदान नगरेको राष्ट्रका लागि जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूलाई उनीहरूले सिर्जना नगरेको समस्यासँग जुध्न सहयोग गर्दा न्याय सुनिश्चित गर्नुपर्ने आवश्यकता यस घटनाले देखाउँछ,’ उनले भने ।
नेपालले जलवायु परिवर्तनका प्रभावबाट प्रभावित मुलुकलाई सहयोग गर्न स्थापना गरिएको संयुक्त राष्ट्रसंघको ‘लस एन्ड ड्यामेज फन्ड’बाट सहयोग मागेको छ। तर उक्त कोषमा पर्याप्त रकमको अभाव छ ।
यसैबीच, संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले सार्वजनिक गरेको छुट्टै प्रतिवेदनले सन् २०२५ मा लगातार चौथो वर्ष विश्वका सबै क्षेत्रमा हिमनदीको ठूलो मात्रामा क्षय भएको जनाएको छ । सन् २०२५ को अन्त्यसम्मका तीन वर्षमा मात्रै विश्वका हिमनदीले करिब एक हजार चार सय अर्ब टन बरफको भार गुमाएको प्रतिवेदनमा उल्लेख छ । यो करिब ५६ करोड ओलम्पिक आकारका पौडीपोखरी भर्न आवश्यक पर्ने पानीबराबर हो। यो विश्वको वार्षिक ताजा पानी उपयोगको करिब एकतिहाई बराबर रहेको डब्लुएमओले जनाएको छ ।
डब्लुएमओले एसिया र अफ्रिकालाई पानीजन्य विपद्बाट सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा पहिचान गरेको छ। डब्लुएमओका हिममण्डल (क्रायोस्फियर) अर्थात् जमेको पानीसम्बन्धी विज्ञले नेपालमा भएको जस्तै घटना एन्डिजदेखि आल्प्ससम्मका हिमाली क्षेत्रमा पनि दोहोरिन सक्ने जोखिम औँल्याएका छन् ।












प्रतिक्रिया