चितवन । चितवन राष्ट्रिय निकुञ्जको बीसहजारी तालनजिकै मृत अवस्थामा भेटिएको रोनाल्डो हात्ती करेन्ट लागेर मृत्यु भएको खुलेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार नेपाली सेनाको ब्यारेकमा लगेको विद्युतको तारबाट करेन्ट प्रवाह हुँदा घटनास्थलमै हात्तीको मृत्यु भएको हो ।
‘आर्मीको वरण्डाभार पोस्टमा करिब १७ फिटमाथिबाट विद्युतको कालो तार लागिएको थियो । त्यो तारलाई हात्तीले खाँदा करेन्ट लागको देखिन्छ’, सूचना अधिकारी थापामगरले भने, ‘कालो तार हात्तीको मुखमा नै थियो ।’ उनका अनुसार हात्ती सडकमा नै मरेको अवस्थामा फेला परेको हो । हात्ती शुक्रबार राति मरेको उनको अनुमान छ । हात्ती मरेको स्थानबाट आर्मीको सुरक्षा पोष्ट सात सय मिटर टाढा रहेको छ ।
जङ्गली भाले हात्ती रोनाल्डो प्रजननका लागि उपयुक्त थियो । निकुञ्ज प्रशासनका अनुसार सौराहामा रहेको हात्तीसारमा मात्र उसका ३३ वटा बच्चा छन् । ५३ वर्षको रोनाल्डोका अझै ६ वटा हात्ती गर्भवती छन् । उसले २२ जनाको ज्यानसमेत लिएको थियो । यद्यपि पछिल्लो वर्ष रोनाल्डो शान्त थियो । सौराहाको हात्ती सार उसकै कब्जामा रहेको थियो । अन्य जङ्गली भाले हात्तीलाई उसले आउन रोक लगाएको थियो । केही सातादेखि भने उसको स्थान ओगट्दै गोविन्दे हात्ती सौराहामा रहेको छ ।
यद्यपि गोविन्दे हात्ती रोनाल्डो जत्तिको प्रजननका लागि उपयुक्त नभएको हात्ती प्रजनन् केन्द्रका मनपुरण महत्तोले बताए । उनका अनुसार रोनाल्डो २४ वर्षदेखि निकुञ्जमा देखिँदैछ । हात्ती प्रजनन केन्द्र स्थापना भएपछि ७१ वटा बच्चा जन्मिएका छन् । त्यसमध्ये रोनाल्डोका मात्रै ३३ वटा रहेको उनले बताए । ‘अरु हात्तीले यति धेरै प्रजनन् कठिन कठिन छ’, उनले भने ‘अहिले आएको गोविन्देले सक्दैन ।’












प्रतिक्रिया