बिजनेस/ इकोनोमी

वैदेशिक लगानी प्रतिबद्धता ६६.३९ प्रतिशतले घट्यो

वैदेशिक लगानी प्रतिबद्धता ६६.३९ प्रतिशतले घट्यो


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.३९ प्रतिशतले घटेको छ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा तीन सय २८ परियोजनाका लागि ११ अर्ब १२ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यी परियोजनाबाट तीन हजार चार सय ४७ नयाँ रोजगारी सिर्जना हुने प्रतिबद्धता गरिएको छ ।

Advertisement

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा दुई सय ३६ परियोजनाका लागि ३३ अर्ब नौ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

कुल प्रतिबद्धता भएको ११ अर्ब १२ करोड रुपैयाँमध्ये तीन सय २२ परियोजनाले स्वचालित स्वीकृति प्रक्रियामार्फत नौ अर्ब ७५ करोड रुपैयाँ र ६ परियोजनाले नियमित स्वीकृति प्रक्रियामार्फत एक अर्ब ३८ करोड रुपैयाँ विदेशी पुँजी ल्याउने प्रतिबद्धता गरेका छन्।

यस अवधिमा उद्योग विभागले ८२ करोड ३२ लाख रुपैयाँ बराबरका १२ वटा सेयर खरिद वा सेयर सदस्यता सम्झौता स्वीकृत गरेको छ। त्यस्तै, आठवटा प्रविधि हस्तान्तरण सम्झौता पनि स्वीकृत भएका छन् ।

भदौमा मात्रै एक सय ३६ परियोजनाका लागि ६ अर्ब ३५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। प्रतिबद्धताअनुसार लगानी भित्रिएमा ती परियोजनाबाट नौ सय ८३ नयाँ रोजगारी सिर्जना हुनेछन् ।

विदेशी पुँजी भित्र्याउन स्वीकृत भएका तीन सय २८ परियोजनामध्ये तीन सय २३ वटा साना उद्योग छन्। त्यस्तै, दुईवटा मध्यम र तीनवटा ठूला उद्योग छन्।

पुँजीगत प्रतिबद्धताका आधारमा पर्यटन क्षेत्रले सबैभन्दा बढी वैदेशिक लगानी आकर्षित गरेको छ। पर्यटनका ७० परियोजनामा तीन अर्ब ७४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । त्यसपछि सेवा क्षेत्रमा २६ परियोजनाका लागि तीन अर्ब ३१ करोड रुपैयाँ प्रतिबद्धता आएको छ ।

ऊर्जा क्षेत्रमा एउटा परियोजनाका लागि दुई अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ भने उत्पादनमूलक क्षेत्रमा १८ परियोजनाका लागि एक अर्ब २४ करोड रुपैयाँ प्रतिबद्धता भएको छ ।

सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रले परियोजनाको संख्याका आधारमा सबैभन्दा बढी स्वीकृति पाएको छ। यस क्षेत्रमा दुई सय १२ परियोजना स्वीकृत भए पनि लगानी प्रतिबद्धता भने ८१ करोड ६९ लाख २० हजार रुपैयाँ मात्रै छ ।

कृषि तथा वन क्षेत्रमा एउटा परियोजनाका लागि दुई करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ। खानी तथा पूर्वाधार क्षेत्रमा भने यस अवधिमा कुनै लगानी प्रतिबद्धता आएको छैन ।

उद्योग विभागका अनुसार समीक्षा अवधिमा विदेशी लगानीकर्ताले ६२ करोड २० लाख १० हजार रुपैयाँ रोयल्टी र दुई करोड ३१ लाख २० हजार रुपैयाँभन्दा बढी सेवा शुल्कबापत रकम फिर्ता लगेका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले एक हजार एक सय १६ परियोजनामार्फत कुल ५८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको थियो ।