राजनीति-समाज

यस्ता छन् मन्त्रिपरिषद्का ६ मुख्य निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का ६ मुख्य निर्णय


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली स्वीकृत गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण: सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

Advertisement

बैठकले सेयर कारोबारमा लाभ कर घटाउने निर्णय गरेको छ । ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।

त्यस्तै बैठकले नेपाल न्याय सेवा, न्याय समूह, राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू ठगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ भने प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव (विशिष्ट श्रेणी) पदमा बढुवा गरेको छ ।

त्यसैगरि साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति प्रक्रियाका लागि त्यहाँका कानुनी व्यवसायीलाई वारेसनामा दिने आदेश जारी गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।

मन्त्रिपरिषद्ले सक्रिय राहत कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गरेको छ । प्रवक्ता पोखरेलले होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई अस्थायी आवासमा सार्ने काम भइरहेको, घरजग्गा पूर्ण रूपमा गुमाएकाहरूलाई अन्यत्र स्थानान्तरण गर्न भूमि मन्त्रालयले जग्गा खोजी कार्य अघि बढाएको जानकारी दिए ।

संकटको बेला विदेशी कूटनीतिक समन्वयका लागि विभिन्न देशमा रिक्त रहेका राजदूतहरूको नियुक्ति प्रक्रिया परराष्ट्र मन्त्रालयमार्फत चाँडै टुंग्याइने उनले बताए ।