काठमाडौँ । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ ।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागको मोबाइल एपमा उपलव्ध डिजिटल राहदानी र भिसालगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो ।
विदेशी पर्यटकले होटलमा चेक–इन गर्दा, सुरक्षा चेकजाँचमा, मनी एक्सचेन्जमा वा आन्तरिक हवाई टिकट काट्दा साथमा भौतिक पासपोर्ट÷भिसा नभए पनि एप देखाएमा त्यसैलाई आधिकारिक मान्यता दिने निर्णय प्रस्ताव गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
नेपाल आएका विदेशी नागरिकहरूले विभागको मोबाइल एपमा लगइन गरेर राहदानी विवरण प्रविष्ट गरेपछि उनीहरूको विवरण अध्यागमनको केन्द्रीय सर्भरमा जोडिने उनले बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्प डेस्कहरू राखेर यो एप डाउनलोड तथा प्रयोगबारे विदेशी नागरिकहरूलाई सहजीकरण गर्ने तयारी भइरहेको जानकारी दिए ।
महानिर्देशक तिवारीले विपद्को समयमा करिब एक हजार विदेशी नागरिक हराएको प्रारम्भिक रिपोर्ट आएपछि विभिन्न कूटनीतिक नियोगहरूले खोजी गर्न आग्रह गरेको बताए । तर, अध्यागमनको प्रणालीमा ‘इन÷आउट’ भएका र विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा दर्ता भइ होटलमा बसेका बाहेक सबैको यकिन अवस्था तत्काल पत्ता लगाउन कठिनाइ भएको उनले बताए ।
विभागको मोबाइल एपमा जोडिएपछि विपद् वा सङ्कटका बेला को कहाँ छ भनेर तत्काल ‘ट्रेस’ गर्न र उद्धार गर्न सहज हुने महानिर्देशक तिवारीले उल्लेख गरे ।












प्रतिक्रिया