काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म एक हजार ३८४ जनाको शव फेला परेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी चितवनमा ३६४ जनाको शव भेटिएको छ । त्यस्तै नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार २३० शव व्यवस्थापन गरिएको छ । पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ ।
शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ८४६ गरी कुल तीन हजार १३२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । यसैगरी पहिचान हुन नसकेका एक हजार ३३९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताए ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि हालसम्म चार हजार ८९ जना बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल दुई हजार ७१२ जनालाई राखिएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया